जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताअन्तर्गत दुईदिवसीय खेलहरू सुरु भएका छन्।
आइतबार वीरगञ्ज र जनकपुरमा भएका दुवै खेलमा स्पिनरहरू हाबी भएका छन्।
वीरगञ्जमा टस हारेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मीलाई नेपाल पुलिस क्लबले पहिलो इनिङ्ग्समा १२१ रनमै अलआउट गरेको छ।
आर्मीका लागि कुशल मल्लले सर्वाधिक २५ रन जोडे भने भीम सार्कीले २२ रन जोड्न सके। अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा पुलिसका ललितनारायण राजवंशीले ७ विकेट लिन सफल भए। उनले १४.४ ओभरमा ४ मेडन राख्दा ४७ रन दिए।
जवाफी ब्याटिङ गरेको पुलिसले दिनको खेल सकिदा ७ विकेटको क्षतिमा १०३ रन जोडेको छ। पुलिसका गुल्सन झा ३४ रन बनाएर खेलिरहेका छन्। बलिङमा आर्मीका स्पिनर शाहब अलामले ५ विकेट लिइसकेका छन्।
यता जनकपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशलाई बागमती प्रदेशले पहिलो इनिङग्समा १०२ रनमै अलआउट गरेको छ। मधेशका लागि मयन यादवले सबैभन्दा बढी २१ रन जोडे। बलिङमा बागमती प्रदेशका लागि कप्तान सन्दीप लामिछानले ५ विकेट लिएका छन् भने सूर्य तामाङले ३ विकेट हात पार्न सफल भएका छन्।
आइतबार नै पहिलो इनिङग्स सुरु गरेको बागमतीले दिनको खेल सकिदा २ विकेटको क्षतिमा ३४ रन बनाएको छ। बागमतीका इशान पाण्डे ९ रन र शुभ कंसकार २२ रन बनाएर खेलिरहेका छन्।