सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले मंगलबार पोखरा एभेन्जर्सविरूद्ध ७ विकेटको सहज जित निकाल्यो।
कर्णालीको जितमा अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टोले उत्कृष्ट बलिङ गरे। उनले ६ विकेट र २ क्याच लिन सफल भए। उनको बलिङले पोखरा १०३ रनमै अलआउट भएको थियो। जारी एनपिएलको एकै खेलमा ६ विकेट लिने उनी पहिलो बलर हुन्।
बोसिस्टो अस्ट्रेलियाको यू-१९ टोलीको पूर्वकप्तान हुन्। उनको कप्तानीमा अस्ट्रेलियाले सन् २०१२ को विश्वकप खेलेको थियो।
आफ्नो कप्तानीमा उनले अस्ट्रेलियालाई फाइनल पुर्याएका थिए। भारतविरूद्धको फाइनलमा तत्कालीन कप्तान उन्मुक्त चन्दले १११ रन प्रहार गरेपछि अस्ट्रेलिया पराजित भएको थियो। चन्द पनि एनपिएल खेल्न हाल नेपालमै छन्। लुम्बिनी लायन्समा आबद्ध चन्दले भने अपेक्षाकृत खेल्न सकेका छैनन्। चन्द भारत छाडेर आजकाल अमेरिकामा क्रिकेट खेल्छन्।
सो विश्वकपमा नेपालले अस्ट्रेलियासँग समूह चरणमा खेलेको थियो। उक्त खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २९४ रन जोडेका थियो। जबाफी ब्याटिङ गरेको नेपाल भने ८२ रनमै अलआउट भएको थियो।
नेपालविरूद्धको सो खेलको कप्तानी गरेका बोसिस्टोले सम्झिन प्रयास गरेका छन्।
‘खेलेको १२ वर्ष भएकाले धेरै त याद छैन। हामीले नेपाललाई कम स्कोरमा समेटेका थियौं। त्यसबेलाको नेपाली यू-१९ टोलीको देब्रे हाते स्पीनर (राहुल विक) बारे केही याद छ। त्यही विश्वकपमा खेलेको उन्मुक्त चन्दले लुम्बिनीबाट खेलिरहेका छन्। यति धेरै वर्षपछि फेरि खेलिरहँदा राम्रो लागिरहेको छ,' उनले भने।
गत साता मात्र नेपाल आएका बोसिस्टोले कर्णालीको सुरूआती खेल गुमाएका थिए। मंगलबार पोखराविरूद्धको खेलमा ६ विकेट लिने अपेक्षा नगरेको समेत बताए।
‘त्यस्तो बलिङ फिगरको कसैले पनि अपेक्षा गरेको हुँदैन। स्पिन बलिङविरूद्ध ब्याटिङ गर्न कठिन हुन्छ। बलिङ युनिटको रूपमा हामीले त्यो कन्डिसनको फाइदा उठायौं,’ उनले भने।
उनले नेपालमा क्षमतावान युवा खेलाडी भएको तर एक्पोजरको कमी भएको अनुभव साटे।
नेपाल पहिलो टक आएको र आफूले अवसरको रूपमा लिएको पनि उनले सुनाउन भ्याए। ‘कल्चरल्ली यहाँ धेरै फरक छ, इन्जोए गरिरहेको छु,’ उनले भने।