सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले मंगलबार अपेक्षाकृत प्रदर्शन गर्न सकेन। कर्णाली याक्सविरूद्धको खेलमा पोखरा ७ विकेटले पराजित भयो।
पहिले ब्याटिङ गरेको पोखराले राम्रो सुरूआत गरेको थियो। अघिल्लो खेलमा शतक प्रहार गरेका अमेरिकी ब्याटर आन्द्रेस गौस र अर्धशतक प्रहार गरेका बायाँ हाते टप अडर ब्याटर दिनेश खरेलले चार ओभरमै ४६ रनको साझेदारी गरेका थिए।
ओपनर खरेलले १९ बलमा २६ रन जोडे। त्यसका लागि उनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे। दोस्रो विकेटको रूपमा उनी आउट भएपछि पोखराको ब्याटिङ कोल्याप्स भयो। त्यही कारण पोखरा १०३ रनमै अलआउट हुँदा कर्णाली हाबी भएको थियो।
अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका खरेल पनि मंगलबारको खेलमा मिडल अर्डरले राम्रो ब्याटिङ गर्न नसक्दा पराजित भएको बताउँछन्।
'२-३ ओभरमा गौस र मैले राम्रो ब्याटिङ गरिरहेका थियौं। पावरप्लेमा हामीले ५० रन पनि कटाएका थियौं। १७० जति बनाउन लक्ष्य बनाएका थियौं। तर हाम्रो मिडल अर्डर चलेन,' अघिल्लो खेलमा लुम्बिनी लायन्सले दिएको १७१ रनको लक्ष्य पछ्याउँदा नटआउट ६१ रन रन जोडेका खरेलले भने, 'अघिल्लो खेलमा १० विकेटको जित निकालेपछि हाम्रो आत्मविश्वास बढेको थियो। हामी स-सना कुरामा केन्द्रित थियौं।'
खरेल नेपाली घरेलु क्रिकेटमा सुनिएको नाम भने होइन। गुल्मी पुर्ख्यौली घर भएका दिनेश न्युजिल्यान्डमा बस्छन्। २२ वर्षीय खरेल दुई वर्षको उमेरमा परिवारसँगै न्युजिल्यान्ड गएका थिए। उनी त्यहाँको अकल्यान्ड 'ए' बाट घरेलु क्रिकेट खेल्नेछन्।
पोखराले उनलाई अक्सनबाट लिएको हो। अक्सनको पहिलो सूचीमा उनको नाम थिएन। पछि न्युजिल्यान्डमै बस्ने शुभचिन्तकले उनको नाम थप्न आग्रह गरेका थिए। त्यसपछि पोखराले उनलाई सी क्याटागोरीबाट २ लाख रूपैयाँमा टोलीमा भित्र्याएको थियो।
उनी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न दुई वर्षअघि नेपाल आएका थिए। नवौं राष्ट्रिय प्रतियोगिता उनले गैरआवासीय नेपाली संघको टोलीबाट खेलेका थिए। त्यतिबेला उनले कीर्तिपुर मैदानमै तीन खेल खेलेका थिए। तर उनले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। नवौं राष्ट्रिय खेलकुदमा सुदुरपश्चिमविरूद्धको पहिलो खेलमा उनी शून्यमा आउट भएका थिए। त्यसपछि एपिएफविरूद्ध उनले ३२ रन जोड्दा पुलिससँग चार रन मात्र जोडेका थिए। पुलिसविरूद्ध उनले १ विकेट भने लिन सफल भएका थिए।
दुई वर्षपछि नेपालमा क्रिकेट खेल्न फर्किएका उनले एनपिएलमा समर्थकको ओइरो लागेको बताए।
पोखराले विश्वास गरेर उनलाई एनपिएलमा ओपनिङको जिम्मा थियो। तर उनले सुरूआती दुई खेलमा राम्रो खेल्न सकेनन्। चितवन राइनोजविरूद्ध १ रनमा आउट भएका उनले जनकपुर बोल्ट्सविरूद्ध १० रन मात्र जोड्न सके।
लुम्बिनीविरूद्ध भने उनले उत्कृष्ट खेल देखाए। ४६ बलमा चार चौका र चार छक्का प्रहार गरेसँगै नेपाली क्रिकेट वृत्तमा उनले आफ्नो छाप छाड्न सफल भएका थिए।
उनले सुरूआती खेलमा नेपालको कन्डिसन बुझ्न गाह्रो भएको पनि बताए। साथै केही दिनअघि राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाइसँग भेट गरेर कुरा गरेको पनि उनले खुलाए।
साथै नेपालको राष्ट्रिय टोलीमा खेल्ने अवसर पाएको अवस्थामा 'नाइँ' नभन्ने पनि उनको भनाइ छ।
'देशलाई प्रतिनिधित्व गर्न पाए कहिले नाइँ भन्दिनँ,' उनले भने।
नेपालमा दाब्रे हाते ब्याटर कम भएको अवस्थामा उनी पनि विकल्प हुन सक्ने विश्वास गरिएको छ। तर खरेल भने नेपालका देब्रे हाते ब्याटर पनि क्षमतावान भएको बताउँछन्।
तीव्र गतिको बलिङमा राम्रो ब्याटिङ गर्ने खरेलले न्युजिल्यान्ड र नेपालको पिच फरक हुने अनुभव गरेका छन्।
'त्यहाँको विकेट फ्ल्याट हुन्छ। बाउन्स पनि हुन्छ। त्यही भएर अस्ति जिमी निशमको बलिङमा सजिलो भयो। यताको विकेट बढी टर्न हुन्छ,' उनले भने।