सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले मंगलबार पहिलो जित दर्ता गराउँदै लगातार चार हारको श्रृंखला तोड्यो।
लगातार चार हारपछि लुम्बिनीमाथि जितको दबाब मात्र थिएन अन्तिम दुई खेलअघि बाहिरिने अवस्था समेत थियो।
मंगलबार हारको श्रृंखला तोड्ने क्रममा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गर्न सफल भयो।
पाँचौं खेलमा आफ्नो पहिलो जित निकालेपछि कप्तान रोहितले चैनको स्वास फेरेका छन्। राष्ट्रिय टोलीका कप्तान समेत रहेका रोहितले लुम्बिनीलाई पहिलो जित दिलाउने क्रममा अलराउन्ड प्रदर्शन गरे।
उनले ५७ बलमा ८० रन जोड्दा बलिङमा ४ विकेट लिँदा १७ रन मात्र खर्चिए। जारी एनपिएलमा सर्वाधिक रन बनाउने ब्याटर सूचीको पहिलो स्थानमा रोहित छन्। उनले पाँच खेलमा २६१ रनले प्रहार गरेका छन्। जसमा दुई अर्धशतक समावेश छन्।
रोहित सर्वाधिक विकेट लिने बलरको सूचीमा पाँचौं स्थानमा छन्। उनले पाँच खेलमा सात विकेट लिइसकेका छन्।
पहिलो जित निकालेपछि रोहितले भने, ‘आज जसरी पनि जित चाहिएको थियो। त्यसैले विकेट लिँदा भगवानलाई धन्यवाद भनिरहेको थिएँ।’
अलराउन्ड प्रदर्शन गरेका रोहितको आजको प्रदर्शनलाई त्रिवि मैदानमा गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन भन्न मिल्छ?
रोहितको जबाफ छ, ‘सायद राम्रोमध्ये एक हुन सक्छ। आज राम्रै प्रदर्शन भयो। यसअघि राम्रो भएको थिएन। आज भने लाइन क्रस भयो। टिम जित्दा र रन हान्दा एकदमै खुसी लाग्छ।’
सुरूआती दुई खेलमा लुम्बिनीले राम्रो योगफल तयार गर्दा पनि जित निकाल्न सकेको थिएन। पहिलो खेलमा विराटनगर किंग्सविरूद्ध १९१ रन र दोस्रो खेलमा पोखरा एभन्जर्सविरूद्ध १७० रन जोड्दा पनि लुम्बिनीले खराब बलिङ गर्दा हारेको थियो। राम्रो रन जोड्दा पनि बलिङका कारण हारेपछि रोहितले हाँसो गर्दै भनेका थिए, ‘अब बलिङमा बुमराह (भारतका तीव्र गतिका बलर) ल्याउनुपर्छ।’
मंगलबार जित निकालेपछि रोहितलाई बुमराह बिना नै जितियो नि! भन्दा उनको जबाफ थियो, ‘आजको खेलमा बुमराह मै हुँ (हाँस्दै)’ भनेर जबाफ फर्काए।
मंगलबारको खेलमा लुम्बिनीले खराब सुरूआत गरेको थियो। तर रोहितले साद बिन जफरसँग पाँचौं विकेटका लागि ११४ रनको साझेदारी गरे। जफरले पनि अर्धशतक प्रहार गर्दा लुम्बिनी बलियो देखियो।
‘सुरूमा बल टर्न भएको थियो। विकेट जोगाएर खेल्ने योजना बनाएको थिएँ। १४० रन भयो भने चुनौतीपूर्ण हुन्छ भन्ने लागेको थियो। सादले पनि राम्रो ब्याटिङ गर्दा हामीले १६७ रन बनाउन सक्यौं,’ रोहितले चितवनविरूद्धको ब्याटिङबारे भने, ‘ब्याटिङमा अहिले मेरो राम्रो समय चलिरहेको छ। त्यसैले विभिन्न सट प्रहार गर्न कोसिस गरिरहेको छ। आफू लयमा भएको बेलमा त्यस्ता सट प्रहार गर्न कोशिस गर्नु पर्छ जस्तो लाग्छ।’
चार खेलपछि जित्दा टोलीका लागि राम्रो भएको बताउँदै रोहितले अघि भने, ‘अझै पनि प्रतियोगिता सकिएको छैन भन्ने सन्देश दिएका छौं। बाँकी दुई खेल जित्यौं भने र अरू टोलीको नतिजा हाम्रो पक्षमा आए प्लेअफ पुग्न सकिन्छ। पहिला आफ्नो काम गरौ बाँकी भगवानको हातमा छाडौं।’
विराटनगरविरूद्धको पहिलो खेलको अन्तिम ओभरमा १५ रन डिफेन्ड गर्न नसक्दा लुम्बिनी पराजित भएको थियो। सो खेलको अन्तिम ओभरमा विवेक यादवले बलिङ गरेका थिए। खेलमा रोहितले बलिङ गरेका थिएनन्। अहिले बलिङमा राम्रो गरिरहेका रोहितले आफूले पहिलो खेलमा बलिङ नगरेर गल्ती गरेको समेत स्वीकार गरे।
दश दिनको बीचमा सात खेल खेल्ने लुम्बिनीका लागि विदेशी खेलाडीले भने अपेक्षाकृत खेल्न सकेका छैनन्। अस्ट्रेलियाका बेन कटिङ बलिङका लागि फिट छैनन् भने अमेरिकामा बस्ने भारतीय ब्याटर उन्मुक्त चन्द लयमा छैनन्। रोहितले विदेशी खेलाडीबाट अपेक्षाकृत प्रदर्शन नभएको बताउँदै आगामी खेलमा उनीहरूबाट राम्रो प्रदर्शन भए टोली बलियो हुने समेत बताए।
ब्याटिङ र बलिङमा राम्रो गरिरहेका रोहितलाई ‘कार जित्ने दौडमा हुनुहुन्छ?’ भनेर पनि सोधिएको थियो। जबाफमा उनले भने, ‘केही सोचेको छैन, ब्याटिङमा राम्रो भइरहेको छ। राम्रो समय चलिरहेको बेला त्यसलाई कन्भर्ट गरौं भन्ने हो।’
एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई कार पुरस्कारको व्यवस्था छ।
चितवनका प्रशिक्षक उमेश पटवालले पनि लुम्बिनीका कप्तान रोहितको प्रंशसा गरे। भारतमा पटवालको एकेडेमीमा क्रिकेट सिक्ने रोहितको प्रदर्शन राम्रो हुनु एनपिएलको राम्रो पक्ष भएको पटवालको भनाइ छ।
'रोहित मेरो विद्यार्थी हो,’ पटवालले भने, ‘सर्वाधिक रन प्रहार गर्ने सूचीमा रोहित एक नम्बरमा छ। यहाँ विदेशी खेलाडी पनि खेलिरहेका छन्। नेपाल प्रिमियर लिगमा नेपालकै ब्याटर टप स्कोरर हुनु राम्रो कुरा हो।'