सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सका मेन्टरको भूमिकामा रहेका अस्ट्रेलियाका ब्राड हजले टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीको प्रशंसा गरेका छन्।
हजले आइतबार चितवन राइनोज विरूद्धको खेलपछि कुरा गर्दै ऐरीको प्रशंसा गरेका हुन्।
यद्यपि खेलमा सुदूरपश्चिम ३३ रनले पराजित भयो। यसअघि लगातार तीन खेलमा जित निकालेको सुदूरपश्चिमको यो पहिलो हार हो।
यसअघिका तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रको शैली मनपर्ने बताउँदै उनले अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलसँग तुलना समेत गरे।
‘दीपेन्द्र उत्साहले भरिएका खेलाडी पक्का हुन्। उनको फिल्डिङ उत्कृष्ट छ, बलिङ राम्रो पनि छ, ब्याटिङ गर्दा उनी बललाई जसरी पनि प्रहार गर्न सक्छन्। उनी फास्ट छन्, कहिकाहीँ म्याक्सवेलजस्ता लाग्छन्। उसका हातहरू धेरै छिटो चल्छन्, मैले नजिकबाट देखेको आधारमा अलि-अलि ग्लेन म्याक्सवेल मिल्छ भनेको हुँ,’ हजले भने।
एक सातादेखि दीपेन्द्रलाई अभ्यास गराइरहेका उनले थपे, ‘मलाई विश्वास छ उनलाई आइपिएल लगायतका लिगमा अवसर मिल्नेछ। सही समयको कुरा हो। उनले अस्ट्रेलियाको बिग ब्यास, इंग्ल्यान्डको द हण्ड्रेड, आइपिएल या विश्वका कुनै ठूला लिगहरूमा अवसर पाउन सक्छन्।’
अस्ट्रेलियाका लागि सन् २००७ को विश्वकप जितेको टोलीमा रहेका हजले कोलकता नाइट राइडर्सबाट भारतको आइपिएल समेत खेलेका थिए।
यसअघि लुम्बिनीका प्रशिक्षक नन्दन फडनिसले पनि दीपेन्द्रको प्रशंसा गरेका थिए। फडनिसले दीपेन्द्रले अहिलेसम्म भारतको आइपिएल खेलिसकेको हुनुपर्ने बताएका थिए।
दीपेन्द्र हाल आइसिसी टी-२० वरीयताको दोस्रो स्थानमा छन्। कुनै पनि नेपाली खेलाडी आइसिसी वरीयताको दोस्रो स्थानमा पुगेको यो पहिलो पटक हो।
दीपेन्द्रबाहेक नेपालमा राम्रा स्पिनर भएको पनि हजले बताए।
‘विशेषगरी नेपालजस्तो टिमले स्पिनमार्फत अवसर सिर्जना गर्छ। नेपालसँग विभिन्न धेरै थरीका स्पिनर छन्। यहाँ क्षमतावान खेलाडीहरू छन्, जो उच्च स्तरसम्म पुग्न सक्छन्, तर मौका पाउने कुरामा निर्भर गर्दछ,’ उनले भने।