सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सको एन्थम अहिले कीर्तिपुरस्थित त्रिवि मैदानमा फ्यानबीच लोकप्रिय छ।
‘की जितै छी, की सिखै छी, क्रिकेट छे त जिउवै छी’ बोलको मैथली र भोजपूरी मिश्रित गीतमा फ्यानहरू झुम्मिएर नाचिरहेका हुन्। ननाचुन् पनि किन, जनकपुरले उत्कृष्ट खेलिरहेको छ। चार खेलमा जित निकालेको छ।
गीतको बोलले ‘कि जितिन्छ, कि सिकिन्छ, क्रिकेट छ र त बाँचिएको छ’ भन्छ। गीतले हारको पनि परिकल्पना गरेको छ। तर जनकपुरले जारी एनपिएलमा हार्न परेको छैन। चार खेलमा चारै जित निकालेर त्रिवि मैदान उपस्थित हजारौं फ्यानलाई नचाइरहेको छ।
आइतबार लुम्बिनी लायन्सविरूद्ध एक रनको रोमाञ्चक जितसँगै जनकपुरले लगातार चौथो खेलमा जित निकाल्न सफल भएको हो।
आइतबारको खेलमा जनकपुरले प्रतियोगिताकै रोमाञ्चक जित निकाल्न सफल भयो। लुम्बिनीलाई अन्तिम बलमा एक रनले पराजित गर्दा उसले १३६ रनको योगफल ‘डिफेन्ड’ गरेको थियो।
जनकपुरका कप्तान अनिलकुमार साहसहित मार्की खेलाडी आसिफ शेखले राम्रो प्रभाव पारिरहेका छन्। अनिलले चार खेलमा एक अर्धशतकसहित ११३ रन जोडेका छन्। आसिफले राम्रो सुरूवात गरे पनि ‘कन्भर्ट’ गर्न सकेका छैनन्। उनको चार खेलको औषत २१.२५ छ।
यस्तै तीव्र गतिका बलर किशोर महतोले पनि टोलीका लागि उत्कृष्ट बलिङ गरिरहेका छन्। अस्ट्रेलियाबाट लिग खेल्न नेपाल फर्किएका महतोले चार खेलमा पाँच विकेट लिएका छन्। डेथ ओभरमा आफ्नो महत्व दर्शइरहेका छन्।
अर्का बलर ललित राजवंशीले प्रतियोगिताको सर्वाधिक विकेट लिने बलरको दौडमा छन्। उनले चार खेलमा ८ विकेट लिइसकेका छन्। उनी टोलीका सर्वाधिक भरपर्दा बलर बनिरहेका छन्। राष्ट्रिय टोलीबाट पछिल्लो समय निरन्तर खेलिरहेका ललितले पावरप्लेमा विकेट लिकाल्नुका साथै राम्रो इकोनोमी बल फ्याँकिरहेका छन्। चार खेलमा उनले ५.५० को इकोनोमीमा बलिङ गरेका छन्।
जनकपुरको राम्रो पक्ष भनेको उत्कृष्ट लयमा रहेका विदेशी खेलाडी हुन्। न्युजिल्यान्डका अलराउन्डर जिमी निशम, श्रीलकंन मूलका अमेरिकी विकेटकिपर लाहिरू मिलन्था, अमेरिकी बलर मोहमद मोहसिन र क्यानेडियन अलराउन्डर हर्ष थाकेरको प्रदर्शन लोभलाग्दो छ। निशमले चार खेलमा तीन विकेट लिनुका साथै ५७ रन जोडेका छन्। मिलन्थाले १६८ रन जोड्दा थाकरले ८ विकेट लिइसकेका छन्। थाकेरले आइतबार लुम्बिनीविरूद्ध ५ विकेट लिएका थिए। उनकै बलिङमा जनकपुरले एक रनको रोमाञ्चक जित निकाल्न सफल भएको छ। मोहसिनले ४.३१ को इकोनोमीमा बलिङ गर्दा चार विकेट लिएका छन्।
प्रशिक्षक पुबुदु दासानायाकेले नेपाली परिस्थित बुझेकाले पनि टोलीको प्रदर्शन राम्रो हुन सकेको हो। नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके नेपालका हरेक खेलाडीबारे जानकार छन्।
जनकपुरले सुरूवाती दुई खेलमा दुई-दुई विकेट मात्र गुमाएको थियो भने तेस्रो खेलमा तीन विकेट गएको थियो। आइतबार लुम्बिनीविरूद्धको खेलमा मात्र उसको ‘मिडल अडर कोल्याप्स’ भएको थियो। उसले १३६ रन बनाउँदा ९ विकेट गुमाएको थियो।
त्रिवि मैदानको विकेटमा बिहान खेल्न गाह्रो हुने जनकपुरका मार्की खेलाडी आसिफ बताउँछन्। उनले पावरप्लेमा राम्रो खेले पनि मिडल अडर राम्रो हुन नसकेको बताए। १३७ रनको लक्ष्य भए पनि आफूहरूको जस्तै लुम्बिनीको पनि ‘मिडल अडर कोल्याप्स’ हुनसक्ने विश्वास लिएर मैदान उत्रिएको आसिफले बताए। नभन्दै त्यस्तै हुँदा जनकपुरले लुम्बिनीमाथि एक रनको जित निकालेर चार खेलमा चार निकाल्न सफल भयो।
लुम्बिनीले अन्तिम तीन ओभरमा पाँच विकेट गुमाउँदा २४ रन बनाउन सकेको थियो। थप दुई रन बनाउन नसक्दा लुम्बिनी लगातार चार खेलमा पराजित भयो।
लगातार चार खेलमा जित निकाल्नुको कारण टोलीको सन्तुलन राम्रो भएको आसिफको भनाइ छ।
‘टोलीको माहोल राम्रो भयो भने सबैकुरा राम्रो हुन्छ। सबै जना पोजेटिभ हुन्छन् भनेर मैदान भित्र र बाहिर एकजुट भएर एउटै टिमका रूपमा खेलिरहेका छौं,’ आसिफ भने, ‘विदेशी खेलाडीको सन्तुलन पनि राम्रो छ। फिल्डिङमा पनि मैले योगदान गर्दा टिमलाई सहयोग हुन्छ भने किपर छाडेर फिल्डिङ गर्न पनि तयार भएको हुँ।’
आइतबार किपिङ गरेका आसिफले यसअघिका खेलमा फिल्डिङ गरेका थिए।
जनकपुर एकपटकमा एक खेलमा केन्द्रित भएर अघि बढेको पनि बताए।
‘हामी एकपटकमा एक खेल लिएर अघि बढेका छौं। कहिले पनि हामी सहज अवस्थामा हुँदैनौं। अर्को खेलमा यो खेलभन्दा बढी लाग्नुपर्छ,’ उनले भने, ‘सबै खेलाडीले उतिकै योगदान दिइरहेका छन्। फरक-फरक खेलाडीले फरक खेलमा योगदान दिइरहेका छन्। त्यसैले हामीलाई सजिलो भएको छ।’