नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेञ्चाइज टी-२० क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को तयारी अन्तिम चरणमा पुगेको छ।
आठ टोलीको सहभागिता हुने एनपिएलका सबै खेल मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछन्।
एनपिएलका लागि भनेर क्यानले विगत ६ महिनादेखि त्रिवि मैदानको मर्मतसहित विभिन्न अस्थायी संरचना थप्ने काम गरेको छ।
क्यानले मैदानमा केही संरचना पहिलो पटक निर्माण गरेको छ। आफ्नै खर्चमा मैदान मर्मत गरेको क्यानले प्रतियोगितामा दर्शकका लागि केही सुविधा थप गरेको हो।
नयाँ स्वरूपको पीच
क्यानले ६ महिना लगाएर त्रिवि मैदानमा रहेको पीचको मर्मत गरेको छ।
पुरानो पीचको पूरै माटो फालेर अहिले नयाँ स्वरूपमा पीच निर्माण गरिएको हो। आठ वटा पीचको निर्माण गर्न बंगलादेशबाट क्युरेटर मगाइएको थियो।
साथै पीच निर्माणका लागि नेपालका ग्राउन्ड स्टाफले पनि काम गरेका थिए।
‘६ महिना लगाएर बनाइएको पीच राम्रो देखिएको छ। यसअघि हङकङ सुपर सिक्सेस खेल्न जानुअघि नेपाली खेलाडीले यहाँ अभ्यास गरेका थिए। उनीहरूबाट राम्रो प्रतिक्रिया आएको थियो,’ क्यानका प्रवक्ता छुम्बी लामाले भने।
आठ वटा नयाँ पीच निर्माण गरिँदा २० दिनमा ३२ वटा म्याच खेलाउन सहज हुने उनले बताए।
‘हामीले २० दिनमा ३२ खेल खेलाउनु पर्ने हुन्छ। त्यसैले आठै पीचलााई प्रयोग गर्छौं,’ उनले बताए।
आउट फिल्डको मर्मत
क्यानले पीचसँगै त्रिवि मैदानको आउट फिल्ड पनि मर्मत गरेको छ।
एनपिएलका लागि भनेर क्यानले घाँस रोप्नुका साथै विभिन्न स्थानमा मैदानको माटो मिलाएको थियो।
‘मर्मतसँगै अहिले त्रिविको आउट फिल्ड अलि क्विक भएको छ। त्यसैले धेरै रन बन्ने हाम्रो आशा छ,’ लामाले भने। मैदानलाई हरियो देखाइराख्न हरेक दिन खेल सकिएपछि मैदानलाई पूर्ण रूपमा छोपिने पनि लामाले बताए।
बाउन्ड्री लाइन बढाइयो
यस्तै एनपिएलका लागि भनेर त्रिवि मैदानको बाउन्ड्री लाइन पनि बढाइएको छ। मैदानमा ३ मिटरदेखि ५ मिटरसम्म बाउन्ड्री बढेको प्रवक्ता लामाले बताए। आउट फिल्डको मर्मत गरेसँगै बाउन्ड्री लाइन बढाउन सकिएको हो।
दर्शकका लागि जोन निर्माण
यसअघि त्रिवि मैदानमा एक ठाँउबाट छिरेपछि दर्शक जता पनि गएर बस्न सक्थे। तर यसपटक भने मैदानमा विभिन्न जोन निर्माण गरिएको छ। विभिन्न चार जोनलाई तारले छेकिएको छ।
अब दर्शकले जोनअनुसारको टिकट काट्नु पर्ने र आफूले टिकट काटेको जोनको गेटबाट मात्र भित्र छिर्न पाउनेछन्।
सुरक्षाको दृष्टिकोणले जोन निर्माण गरिएको हो।
एक जोनमा कम्तिमा ३ हजार दर्शक अट्ने क्यानको अनुमान छ। प्रत्येक दिन ८ हजार दर्शक आउने क्यानको अपेक्षा छ। यो हिसाबले २० दिनमा करिब डेढ लाख बढी दर्शकले मैदानमै आएर खेल हेर्ने क्यानको अनुमान छ।
कुर्सी हालेर प्यारापिट निर्माण
एनपिएलकै लागि भनेर अहिले त्रिवि मैदानमा अस्थायी प्यारापिट निर्माण गरिँदैछ। कुर्सी राख्ने काम भइरहेको छ।
त्रिवि मैदानमा दर्शकका लागि पहिलो पटक कुर्सीको व्यवस्था हुन लागेको हो। भिआइपी टिकट काटेर करिब एक हजार दर्शकले कुर्सीमा बसेर एनपिएलका खेल हेर्न पाउने प्रवक्ता लामाले बताए।
नयाँ साइड स्कृनको निर्माण
त्रिवि मैदानमा अहिले नयाँ साइड स्कृन (ब्याट्सम्यानको सिधा अगाडिको भाग) बनेको छ।
प्रवक्ता लामाका अनुसार अहिले निर्माण गरिएको साइड स्कृन ‘मुवेवल’ हो। जुन आवश्यकताअनुसार सार्न सकिन्छ। यस्तै यसपटक साइड स्कृनको भागमा दर्शकलाई बस्न पनि दिइने छैन।
डिजिटल स्कोर बोर्ड जडान
एनपिएलअघि त्रिवि मैदानमा डिजिटल स्कोर बोर्ड जडान गरिएको छ।
मैदानमा यसअघि लेखिएको स्कोर बोर्डमार्फत् रन र विकेट देखाउने गरिएकोमा अब भने डिभिटल स्कोर बोर्डबाट रन र विकेट हेर्न सकिनेछ। यो स्कोर बोर्ड भने राष्ट्रिय खेलकुद परिषदको सहयोगमा जडान गरिएको हो।
नयाँ प्राक्टिस नेट
एनपिएलका लागि भनेर क्यानले मैदान बाहिर नयाँ प्राक्टिस नेट निर्माण गरेको छ। क्यानले आठ टोली सहभागी हुने र अन्तर्राष्ट्रिय खेलाडीको समेत जमघट हुने भएपछि मैदान बाहिर रहेको चउरमा नयाँ प्राक्टिस नेट निर्माण गरेको हो।
दर्शकका लागि शौचालय निर्माण
यसअघि त्रिवि मैदानमा क्रिकेट हेर्न हजारौं दर्शक एकै पटक उपस्थित हुने गरे पनि शौचालयको सुविधा थिएन। यसपटक भने क्यानले दर्शकका लागि भनेर विभिन्न जोनमा शौचालय बनाएको छ।
यसअघि नेपालको खेलका लागि १० हजारभन्दा बढी दर्शक एकै पटक त्रिवि मैदानमा उपस्थित हुँदा पनि क्यानले शौचालय निर्माण नगरेको भन्दै आलोचना भएको थियो।
फ्रेञ्चाइज लगानीकर्ताका लागि लाउन्ज
क्यानले आठ वटा टोलीका लगानीकर्ताका लागि भनेर लाउन्जसमेत निर्माण गरेको छ। अस्थायी संरचनामा निर्माण भएको लाउन्जमा टोलीका लगानकर्तासहित प्रायोजकले बसेर क्रिकेटको मजा लिनेछन्।
अहिले निर्माण गरिएका संरचना अस्थायी मात्र
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकबाट त्रिवि मैदानलाई अन्तर्राष्ट्रिय मैदान बनाउने निर्णय गराएका थिए।
सोही निर्णयअनुसार त्रिवि मैदानको डिपिआर सहरी विकास मन्त्रालयले तयार गरिरहेको छ।
मैदान निर्माणको काम सुरू भएमा अहिले एनपिएलका लागि भनेर निर्माण गरेको अस्थायी संरचना हटाइने प्रवक्ता लामाले बताए। अहिले निर्माण भएका यी संरचना हटाएर मुलपानी मैदानमा प्रयोग गर्ने क्यानको योजना छ।
यसअघि मैदानमा फ्लड लाइट जडानका लागि टेन्डर आह्वान भए पनि प्रक्रिया रोकिएको थियो। अब भने नयाँ संरचनाको मैदान निर्माण गर्दा फ्लड लाइट त्यही बेला जडान गरिने जानकारी पाएको क्यान प्रवक्ता लामाले बताए।
सबै तस्बिर/ड्रोन: नवीनबाबु गुरूङ/सेतोपाटी।
यो पनि: नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक