नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतबार ट्यालेन्ट हण्ट गर्दैछ।
धनगढी क्रिकेट एकेडेमीको मैदानमा बिहान ९ बजेदेखि ट्यालेन्ट हण्ट सुरू हुँदैछ।
ट्यालेन्ट हण्टमार्फत खेलाडी छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा लगायत प्राविधिक टोली शनिबार नै धनगढी पुगिसकेका छन्।
ट्यालेन्ट हण्टमा सहभागी हुन चाहने खेलाडीहरूका लागि सुदूरपश्चिम रोयल्सले अनलाइन रजिष्ट्रेसन मार्फत नाम दर्ता गर्न १५ दिन अगाडि नै सूचना जारी गरेको थियो।
ट्यालेन्ट हण्टमा सहभागी हुन अहिलेसम्म सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट दुई सयभन्दा बढी खेलाडीहरूले नाम दर्ता गराएको रोयल्सले जनाएको छ।
नेपाल क्रिकेट संघ क्यानले एनपिएलका लागि हरेक फ्रेन्चाइज टोलीले ट्यालेन्ट हण्टबाट एउटा आइकोनिक खेलाडी छनोट गर्नुपर्ने प्रावधान राखेको थियो।
आइतबार ट्यालेन्ट हण्ट सकेर सुदूरपश्चिम रोयल्सले केहिदिन धनगढीको फाप्ला खेलमैदान र कञ्चनपुरको महेन्द्रनगरमा बन्द प्रशिक्षण थाल्नेछ। त्यसपछि टिम मंसिर १५ गतेबाट हुने पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा सहभागी हुन काठमाडौं जानेछ।
सुदूरपश्चिम रोयल्सले सोमबार धनगढीको चौराहदेखि रंगशालासम्म र्यालीको पनि आयोजना गर्ने भएको छ।
र्यालीमा सहभागी हुन मार्की खेलाडी दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारीलगायत टिममा आबद्ध नेपालमा उपलब्ध भएका सबै खेलाडीको सहभागिता रहने सुदूरपश्चिम रोयल्सका मुख्य कार्यकारी अधिकृत प्रकाश खड्काले जानकारी दिए।
उनले सुदूरपश्चिको पहिचानलाई थप उचाइमा पुर्याउन सुदूरपश्चिम रोयल्सको सिंगो टिम लागि परेको भन्दै धनगढीमा उपलब्ध हुने सबै सुदूरपश्चिमेलीलाई र्यालीमा सहभागी भएर टिमको हौसला बुलन्द गरिदिन हुन आग्रहसमेत गरेका छन्।