सन् २०२५ मा नेपाली महिला क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप खेल्ने इतिहास कोरिदैछ।
सिनियर महिला क्रिकेट टोलीले विश्वकपमा स्थान पक्का गर्न नसकेको अवस्थामा यू-१९ टोलीले भने आगामी वर्षको जनावरी १८ देखि २ फेब्रुअरीसम्म मलेसियामा हुने विश्वकपमा स्थान पक्का गरिसकेको छ।
युएईमा सञ्चालन भएको एसिया छनोटमा नेपालले घरेलु टोलीलाई पछि पार्दै बुधबार यू-१९ विश्वकपमा स्थान पक्का गरेको हो। छनोटमा नेपाल र युएईसहित कुवेत र थाइल्यान्डले भाग लिएका थिए।
डबल राउन्ड रोबिन लिगको आधारमा भएको छनोटमा नेपालले सुरूवाती पाँच मध्ये चार खेलमा जित निकालेको थियो। पहिलो राउन्डमा घरेलु टोली युएईसँग पराजित हुँदा नेपालमाथि छनोटको दबाब बढेको थियो।
पाँचौं खेलमा नेपालले कुवेतमाथि सानदार जित निकालेर रनरेटमा युएईमाथि दबाब बढाएको थियो। कुवेतविरूद्ध १६५ रनको जित निकाल्दा नेपालका लागि कप्तान पूजा महतोले १३० रन जोड्नुका साथै पाँच विकेट लिएकी थिइन्। जससँगै पूजा नेपालका लागि एकै खेलमा शतक प्रहार गर्ने र पाँच विकेट लिने पहिलो खेलाडी बनिन्।
यो पनि : बुवाले चिया बेचेर क्रिकेटर बनाए, छोरीले नेपालका लागि बनाइन् दुर्लभ कीर्तिमान
कुवेतविरुद्ध सानदार जित निकालेसँगै नेपालका लागि युएईविरूद्धको अन्तिम खेल निर्णायक सावित बनेको थियो। जुन खेलमा नेपालले ८ विकेटले जित निकाल्न सफल भयो। १५ ओभर चल्दै गर्दा ८४ रनको लक्ष्य पूरा गरेसँगै नेपालले युएईसँग अंक बराबर गर्दा रनरेटमा अघि रहेको थियो।
जससँगै नेपाली महिला यू-१९ टोलीले पहिलो पटक विश्वकपमा स्थान पक्का गर्न सफल भयो।
छनोटमा नेपालकी कप्तान पूजा महतोले सर्वोत्कृष्ट खेलाडी बनिन्। उनले प्रतियोगितामा एक शतकसहित २७२ रन जोडिन्। यस्तै ६ खेलमा १० विकेट समेत लिन सफल भइन्।
अब नेपालले आगामी जनावरी-फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा समूह 'डी' मा प्रतिस्पर्धा गर्नेछ। समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। विश्वकपमा चार समूहका १६ टोली समूह चरणमा भिड्नेछन्। समूहका शीर्ष दुई टोली अन्तिम आठमा पुग्नेछन्।
सन् २०२३ देखि सुरु भएको यू-१९ विश्वकपको यो दोस्रो संस्करण हो। अघिल्लो संस्करणको छनोटमा नेपाल तेस्रो हुँदा छनोट हुन असफल भएको थियो।
सन् २०२५ को विश्वकपमा छनोट भएको नेपालले सन् २०२७ को यू-१९ महिला विश्वकपमा स्थान पक्का गरिसकेको छ। किनभने नेपाल र बंगलादेशले सन् २०२७ को यू-१९ विश्वकपको आयोजकको रुपमा प्रतियोगितामा पनि स्थान पक्का गरिसकेका हुन्। आगामी संस्करणमा स्वत: स्थान पक्का हुनुअघि छनोट भएर नेपाली यू-१९ टोलीले आफूहरु विश्वकपका लागि हकदार भएको समेत प्रमाणित गरेका छन्।
सन् २०२७ मा विश्वकपको आयोजना गरेसँगै नेपालले क्रिकेटको ग्लोबल इभेन्ट पहिलो पटक आयोजना गर्ने इतिहास पनि बनाउनेछ।
विश्वकपमा छनोट भएसँगै नेपाली यू-१९ टोलीले एसिया कप समेत खेल्ने भएको छ। विश्वकपमअघि हुने एसिया कप मलेसियामै हुनेछ। मलेसियामा यू-१९ एसिया कप १५ देखि २२ डिसेम्बरसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको समूह ‘बी’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने खेल तालिका समेत पक्का भइसकेको छ।
यू-१९ महिला एसिया कप एसिसीले पहिलो पटक सञ्चालन गर्न लागेको हो। प्रतियोगितामा समूह ‘बी’ मा नेपाल, भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दा समूह ‘ए’ मा श्रीलंका, मलेसिया र बंगलादेशले भिड्नेछन्।
विश्वकपअघि एसिया कपमा प्रतिस्पर्धा गर्दा नेपाली टोलीलाई राम्रो अनुभव हुनेछ। अझ मलेसियामै एसिया कप हुँदा नेपाललाई मैदानको समेत ज्ञान हुँदा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न सहयोग मिल्नेछ।