यु–१९ एसिया कप क्रिकेटका लागि नेपाली टिम घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले हेमन्त धामीको कप्तानीमा यु–१९ एसिया कप खेल्ने १८ सदस्यीय टोली शनिबारमात्रै घोषणा गरेको हो।
नेपाली युवा टोलीका तीव्र गतिका बलर हेमन्तले क्रिकेट खेल्न थालेको ६ वर्ष भयो। त्यस अवधिमा मोफसलका क्रिकेट टिमबाट पटकपटक कप्तानी गरे। राष्ट्रियस्तरका खेलहरूमा अब्बल प्रदर्शनी गरे।
गत जनवरीमा यु-१९ विश्वकप खेल्ने नेपाली टोलीमा हेमन्त पनि परेका थिए। यद्यपि चोटका कारण टिममा परेपनि खेल्न सकेनन्।
'विश्वकप खेल्ने टिममा नाम देख्दा खुसीले गदगद भएँ। बन्द प्रशिक्षणमा गएँ। तयारी राम्रै थियो,' धामीले भने,' खेलको एक दिन अगाडि घाइते भएँ र खेल गुमाएँ।'
खेल गुमाउनुपर्दा आँखाबाट आँसु नै खसेको धामी बताउँछन्। यी दुई घटना तितो स्मरणका रूपमा थिए उनको दिमागमा।
तर यसपालि अन्तर्राष्ट्रिय स्तरको खेलमा टिमको मुख्य जिम्मवारी नै पाउँदा उत्साहित छन्।
'मेरा लागि ठूलो अवसर हो, थप अगाडि बढ्ने मौका हो, राम्रो गर्छु भन्ने विश्वास पनि छ,’ धामीले भने।
चार दिनअघिसम्म धामी नरेश श्रेष्ठ मेमोरियल यू-१९ एकदिवसीय क्रिकेट खेल्दै थिए। उनकै कप्तानीमा रहेको सुदूरपश्चिम प्रदेशले प्रतियोगिता जित्यो पनि। अहिले कप्तानी पाउनुमा त्यसको पनि धेरथोर योगदान रहेको हेमन्तको अनुमान छ।
राष्ट्रिय टिमको कप्तानी पाएसँगै त्यही अनुसारको तयारी पनि रहेको उनी बताउँछन्।
'आफ्नो देशको पक्षमा रिजल्ट ल्याउन सक्नेगरी टिमको नेतृत्व गर्नसक्छु भन्ने आत्मविश्वास छ। यु-१९ टिमको कप्तानी भोलि सिनियर टिममा पर्ने आधार बन्न सक्छ। त्यसकारण पनि बढी समर्पित छु,' उनले भने।
उनलाई उत्साहित बनाउने अर्को कुरा पनि छ।
यसपालि नेपाली अन्डर-१९ को प्रशिक्षकमा शक्ति गौचन छन्। जसलाई हेमन्त आफ्नो प्रेरणाका स्रोत मान्छन्।
'टिभीमा जसको खेल हेरेर म क्रिक्रेटप्रति आकर्षित भएँ, उहाँकै प्रशिक्षकमा क्याप्टेनसिप गर्न पाउँदा अझै बढी उत्साहित छु,' धामीले भने।
अहिले दिनको दुईपटक बिहान १० देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुका आठ बजेसम्म अभ्यास गर्छन्।
हेमन्तले नेपाल प्रिमियर लिग पनि खेल्दैछन्। उनी जनकपुर बोल्ट्समा अनुबन्धित भएका छन्।
उमेरसमूहमा पर्ने खेलाडीहरूका लागि एनपिएल पनि अत्यन्त महत्वपूर्ण प्लेटफर्म रहेको उनको बुझाइ छ। उत्कृष्ट प्रदर्शन गर्न सके यहाँबाट पनि सिनियर टिममा पर्न सहज हुन्छ। अर्कातिर खेलाडीको आर्थिक पाटो पनि बलियो बनाउने उनले बताए।
हेमन्त कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ ऐठपुरका हुन्।
महेन्द्रनगरमा जन्मे, हुर्केका हेमन्त स्कुले जीवनदेखि नै ब्याट र बलमा आकर्षित थिए। उनी ६ वर्षअघि मात्रै कञ्चनपुर क्रिकेट एकेडेमीमा भर्ना भएका थिए। छोटो समयमै राम्रो खेल्ने खेलाडीको रूपमा आफ्नो स्थान बनाए।
तीन चार वर्ष यता क्रिक्रेट खेलेरै आफ्नो खर्चको जोहो गरिरहेका छन् उनी।
'घरबाट पैसा माग्न छाडेको तीन/चार वर्ष भयो। क्यानको इमर्जिङ खेलाडी सूचिमा छु। कहिलेकाहीँ घरेलु प्रतियोगिता खेल्दा त्यताबाट पनि जोहो हुन्छ। यसरी काठमाडौंमा बस्न, अभ्यास गर्ने खर्च चलाएको छु,' उनले भने।
आफू क्रिकेटमा लाग्दा परिवारको पूर्ण समर्थन रहेको पनि हेमन्त बताउँछन्। 'छोराले राष्ट्रिय टिमबाट खेलेको हेर्ने रहर उहाँहरूको पनि छ,' हेमन्तले भने।
हेमन्तले जिल्ला र प्रदेश स्तरीय दर्जनौं प्रतियोगिता खेलेका छन्।
प्रधानमन्त्री क्रिकेट प्रतियोगतामा मात्रै चार खेल खेलेका उनले नारायणी कप २०८० मा पनि खेलेका थिए ।
राष्ट्रियस्तरको प्याब्सन कप २०७६ मा हेमन्तलेल तीन खेलमा ७ विकेटका लिएका थिए। सुदूरपश्चिम यू–१९ बाट वाइवाई २०७८ र २०७९ का दुई वटा प्रतियोगिता खेलेका थिए। उनले २०७८ मा भएको उक्त प्रतियोगिताका तीन खेलमा ९ विकेट लिएका थिए। २०७९ मा पनि सुदूरपश्चिमले उपाधि जितेको थियो।
गत असारमा सुदूरपश्चि यू–१९ छनौट प्रतियोगिता पनि कञ्चनपुर टिमको नेतृत्व गर्दै उनले खेलेका थिए। धामीले चौथो एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा युवा वर्ष खेलाडीको अवार्ड पाएका थिए।
उनले २०२३ मा युएईमा सम्पन्न यु –१९ विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान दिएको भन्दै उक्त अर्वाड प्रदान गरिएको थियो।
यु–१९ क्रिकेट विश्वकप छनोट २०२३ मा हेमन्त धामीको प्रदर्शन उत्कृष्ट थियो।
उनले सो प्रतियोगिताको पहिलो खेलमा सिंगापुरविरूद्ध ८ ओभर बलिङ गर्दै २७ रन खर्चेर २ विकेट लिए। दोस्रो खेलमा कुवेतविरूद्ध ६ ओभर बलिङ गर्दै २५ रन खर्चेर २ विकेट लिए।
तेस्रो खेलमा हङकङविरूद्ध ९ ओभर बलिङ गर्दै ३ मेडेन ओभर फाल्दै, १९ रन खर्चेर ३ विकेट लिए। चौथो खेलमा मलेसियाविरुद्ध ४ ओभर बलिङ गर्दै १ रन खर्चेर विकेटविहीन रहे।
यस्तै नेपाल २०२३ अक्टोबर १२ देखि २४ सम्म मलेसियामा भएको एसीसी यु– १९ प्रिमियर कप २०२३ को उपाधि विजेता बनेको थियो। सो प्रिमियर कपको पहिलो खेलमा धामीले इरानविरूद्ध ७ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १९ रन खर्चेर २ विकेट लिएका थिए।
चौथो खेलमा जापानविरूद्ध ३ ओभर बलिङ गर्दै ८ रन खर्चेर ३ विकेट लिएका थिए। पाँचौ खेलमा युएइविरूद्ध ६ ओभर बलिङ गर्दै ३८ रन खर्चेर १ विकेट लिएका थिए।
आफूजस्तै क्रिकेटमा रूचि राख्नेहरू जुनियरहरूलाई विकेट कसरी लिने भन्नेबारेमा जानेको कुरा सिकाउँछन् पनि। 'अभ्यासमा बढी ध्यान दिन भन्छु, आफूले जानेको सिकाउँछु,' उनले भने।
एसियन क्रिकेट काउन्सिलको आयोजनामा युएईमा नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म प्रतियोगिता सञ्चालन हुनेछ।
कुल आठ टिम रहने प्रतियोगितामा नेपाल समूह बी मा छ । नेपालको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छ।
समूह ए मा भारत, पाकिस्तान, जापान र युएई छन्।
नेपालले पहिलो खेल श्रीलंकासँग मंसिर १४ गते खेल्नेछ। दोस्रो खेल मंसिर १६ गते बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ। समूहको शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ। सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ।
‘विश्वकपमा हामीले अफगानिस्तानलाई हामीले हराएका थियौँ, त्यसकारण विपक्षीका लागि हामी पनि चुनौतीपूर्ण टिम हुनेछौं। यो पटक अझ बलियो बनेर खेल देखाउने छौं,’ धामीले भने।