नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ५० ओभरका खेलमा नेपाली ब्याटर राम्रोसँग जम्न नसकेको उल्लेख गर्दै यस फर्म्याटमा अझै धेरै खेल खेल्नुपर्ने बताएका छन्।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र क्यानडामा भएको दुवै सिरिजमा खराब प्रदर्शन गरेको नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ।
स्वदेश फर्किएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा कप्तान रोहितले एकदिवसीयमा क्रिकेटमा नेपाली ब्याटर राम्रोसँग सम्हालिन नसकेको उल्लेख गर्दै एकदिवसीय र दुई दिवसीय क्रिकेट खेलेमा सुधार हुने बताए।
यी फर्म्याटका क्रिकेट खेल्दा ब्याट्सम्यान परिपक्व हुने कप्तान रोहितले विश्वास व्यक्त गरे।
उनले हारका बाबजुद टोलीलाई सकारात्मक रूपमा अगाडि बढाउन टोलीका सबै सदस्यले सुधारका लागि राम्रो गरिरहेको उल्लेख गरे। आशा गरेजस्तो राम्रो नतिजा नआए पनि टोलीमा राम्रो बन्डिङ रहेको उनको भनाइ छ।
उनले लिग–२ को तीन वटा सिरिजमा राम्रो नतिजा नआउँदा आगामी खेलमा चुनौती हुने बताए। कप्तान रोहितले टी–२० फर्म्याट धेरै खेलेको उल्लेख गर्दै एउटै ब्याट्सम्यान भएपछि ५० ओभरमा पनि राम्रो गर्नुपर्ने धारणा राखे। अहिले टोलीले राम्रो गर्न नसके पनि आगामी खेलमा ध्यान दिने उनले बताए।
रोहितले क्यानडा र अमेरिकामा लक्ष्यअनुसार प्रदर्शन गर्न नसकेको बताए। उनी क्यानडामा खेल्न केही असहज भएको बताउँछन्। तर अमेरिकामा टोली राम्रो आकारमा देखिए पनि ब्याटिङमा राम्रो गर्न चुकेको उनको बुझाइ छ।
नेपाली क्रिकेट टोलीका कन्सल्ट्यान्ट प्रशिक्षको भूमिकामा क्यानडा र अमेरिका गएका जगत टमटाले क्यानडाको कन्डिसनमा खेल्ने समस्या नै रहेको बताए। तर उले अमेरिकामा पनि टोलीले राम्रो प्रयास गरे पनि नतिजा राम्रो आउन नसकेको उल्लेख गरे।
अमेरिकामा पनि खेल्न राम्रो कन्डिसन नभए पनि ब्याट्सम्यान भएपछि सबै अवस्थामा खेल्न सक्नुपर्ने उनको धाराणा थियो । उनले टोलीले सबै क्षेत्रमा सुधार गर्नुपर्ने देखिएको बताए।
घरेलु मैदानमा ५० ओभरमा नखेले पनि एउटा खेलाडीले राम्रो मानसिकताका साथ आफूलाई तयार गर्नुपर्ने बताए। घरेलु प्रतियोगितामा ५० ओभरका खेल भयो भने खेलाडी थप बलियो हुने उनले आशा ब्यक्त गरे। उनले अबको २४ खेलमा राम्रो क्रिकेट खेल्दै नतिजा ल्याउने आशा व्यक्त गरे।
नेपालले अमेरिकाको सिरिजमा एक खेलमा जित निकाल्दै दुई खेल गुमाएको थियो। स्कटल्याण्डसँग जित निकालेको नेपालको सोही टोलीविरुद्ध दोस्रो खेल भने वर्षाका कारण हुन सकेन। अमेरिकासँग भने दुवै खेल गुमाउन पुग्यो। क्यानडा र ओमानसँग क्यानडामा खेलेको सिरिजका सुरुवाती तीनै खेलमा पराजित भएको नेपालको चौथो खेल वर्षाल बिथोलिएको थियो। लिग–२ को अंकतालिकामा नेपाल १२ खेलबाट ६ अंक बटुल्दै पुछारबाट दोस्रो स्थानमा छ। —न्युज एजेन्सी नेपाल