विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई-वाई पुरुष यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार मधेश र कर्णाली प्रदेशले विजयी भएका छन्।
विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले बागमती प्रदेशलाई २० रनले पराजित गरेको छ।
टस जितेर ब्याटिङ गरेको कर्णाली २०.५ ओभरमा सवै विकेट गु्माई ७५ रनमा सिमित भयो। कर्णालीका विजय बोहोराले १६ रन बनाउँदा कमल विष्टले १५ रनको योगदान दिए। वागमतीका दिनेश विष्टले ५ विकेट लिए । उनले ३.५ ओभरमा २ मेडन राख्दै ६ रन मात्र दिए । त्यस्तै दयानन्द मण्डलले ३ विकेट र दिपक सेरलाले २ विकेट लिए ।
७६ रनको विजयी लक्ष्य पाएको बागमतीले १८ दशमलव ३ बलमा सवै विकेट गुमाउँदै ५५ रनमा सिमित हुन पुग्यो। बागगमतीका रोशन विश्वकर्माले १३ रन बनाउँदा उत्तम मगरले १० रनको योगदान दिए।
आजै बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको रोमाञ्चक खेलमा मधेशले लुम्बिनीलाई १ विकेटले पराजित गरेको छ। यस खेल भन्दा अगाडि प्रतियोगितामा लुम्बिनी एक मात्र अपराजित टोली रहेको थियो।
टस जितेर ब्याटिङ गरेको लुम्विनीले निर्धारित ५० ओभरको खेलमा २० ओभरमा सवै विकेट गुमाई ७० रनको योगफल बनायो ।
लुम्बिनीका समिर अलीले सर्वाधिक १२ रनबाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । मधेशका प्लेययर अफ द म्याच अविशेख तिवारीले सर्वाधिक ५ विकेट लिए। उनले ६ ओभरमा १६ रन दिए।
७१ रनको लक्ष्य पाएको मधेशले २७ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको छ । मधेशका मयन यादवले २२ रन बनाउँदा इमरमन शेखले ११ रनको योगदान दिए । लुम्विनीका रमेह कुर्मीले ४ विकेट लिँदा सन्तोष यादवले ३ विकेट लिए।
लिगको सबै खेल सम्पन्न हुँदा सूदुरपश्चिमले ६ खेलमा ५ मा जित र १ खेलमा पराजित हुँदै १० अंकका साथ पहिलो स्थानमा उक्लिएको छ भने लुम्बिनीले पनि ६ खेलमा ५ मा जित र १ खेलमा पराजित हुँदै १० अंकका साथ नेट रन रेटमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ। अब यी दुई टोलीबीच बुबधार उपाधि भिडन्त हुनेछ।
त्यस्तै गण्डकी ६ खेलमा मा जित र ३ खेलमा पराजित हुँदै ६ अंकका साथ तेस्रो, मधेशले पनि ६ खेलमा ३ मा जित र ३ खेलमा पराजित हुँदै ६ अंकका साथ नेट रन रेटमा पछि पर्दै चौथो स्थानमा, वागमती ६ खेलमा २ मा जित र ४ खेलमा पराजित हुँदै ४ अंकाका साथ पाँचौ स्थानमा, कर्णाली ६ खेलमा २ मा जित र ४ खेलमा पराजित हुँदै ४ अंकका साथ छैठौ स्थानमा र कोशी ६ खेलमा १ मा जित र ५ खेलमा पराजित हुँदै २ अंकका साथ पुछारमा रहेको छ ।