विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित निकालेको छ।
पहिलो खेलमा लुम्बिनी प्रदेशसँग ४१ रनले पराजित भएको सुदूरपश्चिम प्रदेशले दोस्रो खेलमा कर्णाली प्रदेशलाई ५ विकेटले हरायो।
बिहीबार सम्पन्न तेस्रो खेलमा गण्डकी प्रदेशलाई ५ विकेटले नै पराजित गर्दै सुदूरपश्चिमले उत्कृष्ट पुनरागमन गरेको हो।
लुम्बिनी प्रदेशले दिएको १०३ रनको झिनो लक्ष्य सुदूरपश्चिमले २६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको गण्डकी ३६.५ ओभरमा १०२ रनमै अलआउट भयो।
गण्डकीका लागि कप्तान अर्जुन कुमालले ३५ तथा चिब्रिन श्रेष्ठले २५ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।
गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिम प्रदेशका सचिन भट्टले उत्कृष्ट बलिङ गरे। ८.५ ओभर बलिङ गरेका सचिनले ३ मेडेन राख्दै मात्र १३ रन खर्चेर ५ विकेट लिए।
उनले जमेर ब्याटिङ गरिरहेका गण्डकीका कप्तान अर्जुन कुमालसहित थप ४ ब्याटरलाई आउट गरे।
त्यस्तै, युवराज खत्रीले पनि गण्डकीविरूद्ध उत्कृष्ट बलिङ गरे।
खत्रीले ७ ओभर बलिङ गर्दे १ मेडेन राखेर २३ रन खर्चदै २ विकेट लिए।
कप्तान हेमन्त धामीले पनि २ विकेट लिए।
विकेटविहीन रहे पनि नरेन साउद र अशोक धामीले किफायती बलिङ गरे।
१०३ रनको झिनो लक्ष्य पछ्याइरहेको सुदूरपश्चिमले पनि खराब सुरूआत गरेको थियो।
४ ओभरको खेल सकिँदा सुदूरपश्चिमले २ विकेट गुमाउँदै मात्र ६ रन जोड्न सक्यो।
ओपनर अभिषेक थापाले ७ बलको सामना गर्दा खाता नखोली पवेलियन फर्किए भने प्रकाश पाण्डेले २४ बल सामना गर्दा ४ रन मात्र बनाउन सके। २ बल सामना गरेका नरेन भट्टले खाता खोल्न सकेनन्।
सुदूरपश्चिमको पारी आशिष लुहारले केही उकासे। ३५ बल सामना गरेका आशिषले ४ छक्का र २ चौकाको मद्दतले ३९ रनको महत्वपूर्ण पारी खेले। ८ बल सामना गरेका दिपक रोकायाले मात्र १ रन बनाउन सके। आफूलाई अलराउण्डर सावित गरिरहेका युवराज खत्रीले उत्कृष्ट ब्याटिङ गरे ५३ बल सामना गरेका खत्री २७ रनमा अविजित रहे भने नरेन साउदले २० रनको अविजित पारी खेले। गण्डकीका लागि अपरिचित पौडेलले ३ तथा किरन भट्टराई र सिब्रिन श्रेष्ठले १/१ विकेट लिए।
दोस्रो जितसँगै सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
पहिलो खेलमा लुम्बिनी प्रदेशसँग ४१ रनले पराजित भएको सुदूरपश्चिम प्रदेशले दोस्रो खेलमा कर्णाली प्रदेशलाई ५ विकेटले हराएको थियो।
३ खेलमा शत प्रतिशत नतिजा निकालेको लुम्बिनी प्रदेश ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ। अब सुदूरपश्चिम प्रदेशले तीन खेल खेल्न बाँकी छ।
कात्तिक १६ गते मधेश प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ भने कात्तिक १८ गते बागमती तथा लिग चरणको अन्तिम खेल कात्तिक १९ गते कोशी प्रदेशसँग खेल्नेछ।
कात्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ वटै प्रदेशको सहभागिता छ। सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन्।