आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सविरूद्ध ब्याटिङ गरिरहेको छ।
अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको नेपालले ११ ओभर चल्दै गर्दा ५ विकेटको क्षतिमा ५३ रन मात्र जोड्न सकेको छ।
नेपालका आसिफ शेख दोस्रो ओभरको अन्तिम बलमा टिम प्रिङगनलको बलमा ७ रनमा क्याच भए। चौथो ओभरको पहिलो बलमा कुशल भुर्तेल ७ रन बनाएर खेलिरहदा भान वीकको एलबिडब्लूको धरापमा परे।
यस्तै तेस्रो नम्बरमा ब्याटिङमा आएका अनिल साह पनि चल्न सकेनन्। उनी आठौं ओभरमा ११ रन जोडेर प्रिङगनलकै बलमा क्याच हुन पुगे।
दशौं ओभरमा नेपालले चौथो विकेट गुमायो। कुशल मल्ललाई भान मकेरेनले म्याक्स ओ'डाउडको हातबाट क्याच गराए। लगत्तैको ओभरमा दीपेन्द्रसिंह ऐरी १ रनमा बास डी लीडको बलमा भान वीकबाट क्याच भए। त्यतिबेला नेपालले ५३ रन जोडेको थियो।
नेपाली टोली
कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहरा, सागर ढकाल।