आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले मंगलबार राति आफ्नो पहिलो खेल खेल्दैछ। अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सविरूद्ध राति सवा नौ बजे भिड्दा नेपाल १० वर्षपछि विश्वकपमा फर्कनेछ।
सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा नेपालले डेब्यू गर्दा नेपालका कप्तान रोहितकुमार पौडेलले टेलिभिजनमा हेरेका थिए।
त्यतिबेला स्वभाविक रुपमा रोहितले नेपालको राष्ट्रिय टोलीबाट विश्वकप खेल्ने सपना पालेका थिए।
भारतमा क्रिकेट सिक्दै नेपालको यू-१९ टोलीको कप्तान हुँदै कलिलै उमेरमा राष्ट्रिय टोलीको कप्तान बनेका रोहितको सपना १० वर्षमा पूरा हुँदैछ।
‘विश्वकप खेल्ने हामी सबैको सपना थियो। एउटा बच्चाको रुपमा मेरो पनि थियो। सन् २०१४ मा नेपालले विश्वकप खेलेको टिभीमा हेरेको बच्चाको सपना अब पूरा हुँदैछ। विश्वकपका लागि हामी उत्साहित मात्र छैनौं हाम्रो जिम्मेवारी पनि छ। अब हामीले नयाँ पुस्ताका लागि राम्रो क्रिकेट खेलेर प्रेरणा दिन पर्छ। हाम्रो र नेपालका लागि यो महत्वपूर्ण अवसर हो,’ रोहितले सोमबार ग्रान्ड प्रियरीमा पत्रकारसँगको अन्तरक्रियामा भने।
रोहितले नेदरल्यान्ड्सविरूद्धको खेलका लागि नेपाली टोली पूर्ण फिट रहेको पनि बताए। साथै नेपाल नेदरल्यान्ड्सविरूद्धको खेलका तयार भएको उनको भनाइ छ। साथै पहिलो खेल सधै महत्वपूर्ण हुने उनले बताए।
उनले भने, ‘हाम्रो लागि प्रतियोगिताको पहिलो खेल धेरै महत्वपूर्ण छ। किनभने पहिलो खेलबाट लय समाप्त सजिलो हुन्छ। पहिलो खेल जितेपछि हाम्रो डगआउटमा जित्न सकिने विश्वास बढ्छ।’
नेदरल्यान्ड्स ७ महिनाअघि भारतमा भएको एकदिवसीय विश्वकप खेल्ने एक्लो एसोसिएट टोली हो। दुई वर्षअघि उसले टी-२० विश्वकप पनि खेलेको थियो। तीन महिनाअघि नेदरल्यान्ड्स, नेपाल र नामिबियाले कीर्तिपुरस्थित त्रिवि मैदानमा टी-२० सिरिज र लिग-२ अन्तर्गतको एकदिवसीय सिरिज खेलेका थिए।
अनुभव र वरीयतामा नेदरल्यान्ड्स अघि भए पनि कप्तान रोहित टी-२० मा सबै टोलीले जित्न सक्ने क्षमता राख्ने बताए।
‘टी-२० विश्वकपका २० टोली नै सन्तुलित छन्। नेदरल्यान्ड्स हामीले खेलिरहेको टोली हो। मंगलबार जुन टोलीले दबाब झेल्न सक्छ त्यसले जित्छ,’ रोहितले भने, ‘जुन टोली भए पनि हामी एउटै स्तरमा सुरु गर्न चाहान्छौं। विपक्षी टोलीलाई बढी फाइदा छ भन्ने लाग्दैन। हामी तल्लो स्तरमा छौं भन्ने पनि होइन। त्यसैले जसले राम्रो क्रिकेट खेल्छ त्यहिँ टोलीले जित्छ।’
नेपालले ग्रान्ड प्रिएरीकै मैदानमा दुई वटा वार्म अप खेल्ने तालिका भए पनि क्यानडासँग मात्र खेल्न पायो। जुन खेलमा नेपाल खराब ब्याटिङका कारण पराजित भयो। अमेरिकासँगको खेल भने वर्षाले वासआउट भएको थियो।
यो मैदानमा क्यनडाविरुद्ध खेल्दा धेरै कुरा बुझ्न सजिलो भएको रोहितले बताए।
‘हामीले डालासको मैदानमा एउटा वार्म अप खेल खेलेका छौं। त्रिवि मैदान भन्दा यहाँ अलि बाउन्स छ। हामीले यहाँको अवस्था हेरेर अवसरलाई सदुपयोग गर्न पर्छ। यहाँको दिउँसको खेल भएको हुँदा मौसममा घुलमिल हुने टोलीका लागि सजिलो हुन्छ,’ उनले भने।
एक महिनादेखि अमेरिका र वेस्ट इन्डिजमा तयारी गर्दा नेपालका लागि सहज भएको उनको भनाइ छ।
उनले भने, ‘एक महिनादेखि हामी यहिँ छौं। सबै कुरा हाम्रा लागि मिलिसक्यो जस्तो लाग्छ। वेस्ट इन्डिज एक हप्ता बस्दा सबै कुरा थाहा पायौं। हाम्रो योजना सबै बनिसक्यो। अब त्यसलाई मैदान उतार्न मात्र बाँकी छ।’
पछिल्लो समय डालासमा लगातार वर्षा भइरहेकाले मंगलबारको खेलमा पनि त्यसले प्रभाव पार्न सक्नेछ। यद्यपी अहिलेसम्मको पूर्वानुमानअनुसार मंगलबार विहान वर्षा हुने सम्भावना कम छ।
‘मौसम हाम्रा नियन्त्रणमा छैन। जति ओभरको खेल भए पनि हामी उत्कृष्ट खेल्न कोशिस गर्छौं,’ उनले भने।
दिउँसको खेल भएकाले टसले फरक नपार्ने रोहितको दाबी छ। तर पनि टसभन्दा उत्कृष्ट क्रिकेट खेल्नमा आफ्नो ध्यान हुने रोहित बताए।
डालास क्षेत्रमा नेपाली समुदायको बस्ती रहेकाले ग्रान्ड प्रियरी मैदानमा नेपालका हजारौं समर्थक आउने अनुमान गरिएको छ। रोहितले पनि त्रिविपछि डालासको मैदानमा बढी समर्थक हुने आसा व्यक्त गरे।
उनले भने, ‘अमेरिका आएपछि यहाँका समर्थकको ठूलो माया पाएका छौं। त्रिवि मैदानपछि ग्रान्ड प्रिएरी मैदानमा हामीले बढी समर्थन पाउछौं जस्तो लागेको छ। हाम्रो लागि यो अवसरसँगै जिम्मेवारी पनि हो। हामीमाथि उत्कृष्ट क्रिकेट खेलेर उहाँहरुलाई खुसी र गर्विलो बनाउने जिम्मेवारी छ।’
नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी।
नेपालको खेल
४ जुन: नेदरल्यान्ड्सविरुद्ध नेपाल, डालास
११ जुन: श्रीलंकाविरुद्ध नेपाल, फ्लोरिडा
१४ जुन: दक्षिण अफ्रिका वरुद्ध नेपाल, सेन्ट भिन्सेन्ट
१६ जुन: बंगलादेश विरुद्ध नेपाल, सेन्ट भिन्सेन्ट