आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत आज राति सवा नौं बजे नेपालले घरेलु टोली अमेरिकासँग वार्मअप खेल खेल्दैछ। आइसिसी टी-२० विश्वकपको उद्घाटनअघि नेपालका लागि यो अन्तिम तयारी खेल हुनेछ।
विगत एक महिनादेखि अमेरिका र वेस्ट इन्डिजमा तयारी गरेको नेपालले टेक्सासको ह्युस्टन र वेस्ट इन्डिज इन्डिजको सेन्ट भिसेन्टमा स्थानीय टोलीसँग अभ्यास खेल खेलेको थियो। जसमा नेपालले ६ मध्ये ४ खेलमा जित निकालेको थियो।
तर टी-२० विश्वकप उद्घाटनअघि आइसिसीको तालिकामा खेलेको पहिलो वार्मअप खेल नेपालका लागि खराब रह्यो। स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीबिना क्यानडाविरूद्ध खेलेको नेपाल कमजोर ब्याटिङ गर्दा ६३ रनले पराजित भएको थियो।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले आज राति हुने खेललाई नेपालको अन्तिम तयारीको रुपमा लिएका छन्।
स्थानीय समयअनुसार बिहीबार बिहान १० देखि १ बजेसम्मको गर्मी मौसममा तीन घन्टा नेटमा अभ्यास गरेपछि ग्रान्ड प्रिएरी मैदानमा आइपुगेका रोहितले अमेरिका विरूद्धको खेलमा पिच नियाल्नेदेखि आफ्ना गल्ती सुधार गर्ने मौका मिल्ने बताए।
टेक्सासको लुइसभिलको एक क्रिकेट एकेडेमीमा अभ्यास गरेपछि रोहित कप्तान मिटिङका लागि ग्रान्ड प्रिएरी आइपुगेका थिए। त्यहाँ उनले अमेरिकी टोलीका कप्तान मोनांक पटेल र बलर अली खानसँग केहीबेर कुराकानी समेत गरेका थिए।
अमेरिकाले वाम अपका खेलअघि टेस्ट टोली बंगलादेश विरूद्धको तीन खेलको टी-२० सिरिज २-१ ले जितेको थियो। घरेलु मैदानमा ठूला टोलीलाई स्तब्ध पार्ने लक्ष्य लिएको अमेरिकासँग अभ्यास खेल खेल्दा नेपालले फाइदा लिने लक्ष्य बनाएको छ।
यस्तै यही मैदानको पिचमा विश्वकपको औपचारिका खेलअघि दुई अभ्यास खेल खेल्दा नेपाललाई अर्को फाइदा हुनेछ। कप्तान रोहितले पनि मैदानको अवस्थामा फिट हुनका लागि ग्रान्ड प्रिएरीका दुई वाम अप खेल महत्वपूर्ण हुने बताए।
त्यसो त रोहितले आइसिसीसँगको कुराकानीमा नेपाल टी-२० विश्वकपमा सहभागी मात्र हुन नभइ खेल जित्न आएको बताएका थिए।
नेपाली टोलीले अमेरिका विरूद्धको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी फिट हुने समेत बताएको छ। यसअघि दीपेन्द्रले ह्युस्टनको अभ्यास खेल र क्यानडाविरूद्धको वाम अप खेल चोटका कारण गुमाएका थिए।
नेपालले अमेरिकासँग खेलेको पाँच दिनपछि यही मैदानमा यो विश्वकपको आफ्नो पहिलो खेल खेल्नेछ। समूह ‘डी’ मा रहेको नेपालले विश्वकपको पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ खेल्नेछ।
त्यसपछि नेपालले जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। नेपालको बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।
१० वर्षपछि विश्वकप खेल्न लागेको नेपालले समूहमा रहेका पाँच टोली मध्ये शीर्ष दुईमा परेर सुपर-८ मा पुग्ने महत्वाकांक्षी लक्ष्य समेत बनाएको छ। त्यसका लागि नेपालका लागि नेदरल्यान्ड्स विरूद्धको पहिलो खेल महत्वपूर्ण हुनेछ।
पहिलो खेल जितेको अवस्थामा नेपालले बाँकी तीन मध्ये एक खेल जिते पनि दोस्रो हुने सम्भावना हुनेछ। समूहमा नेपालले नेदरल्यान्ड्सबाहेक प्रतिस्पर्धा गर्ने तीन टोली टेस्ट टोली हुन्।
वाम अप खेलमा अमेरिकासँगको खेलले पनि नेपालको विश्वकपको यात्रालाई निर्देश गर्न सक्ने आकलन गर्न सकिन्छ। किनभने घरेलु टोली अमेरिकाले नेपालको समूहमा रहेको बंगादेशलाई तीनमध्ये दुई खेलमा पराजित गर्दै आफ्नो स्तर देखाइसकेको छ।
ग्रान्ड प्रिएरी सुनसान
त्यसो त क्रिकेट अमेरिकामा लोकप्रिय खेल होइन। आइसिसीले अमेरिकामा रहेका दक्षिण एसियाली दर्शकलाई आकर्षित गर्न प्रतियोगिताको आयोजना अधिकार दिएको हो।
तर विश्वकपको उद्घाटन हुने ग्रान्ड प्रिएरीमा बिहीबारसम्म कुनै माहोल र आकर्षक सजावट छैन। यही रंगशालामा शुक्रबार राति अमेरिका र क्यानडाले विश्वकपको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछन्।
सुनसान रंगशाल क्षेत्रमा बिहीबारसम्म पनि मैदानको काम भइरहेको थियो। रंगशालाको बाहिरी भागमा रहेको टी-२० विश्वकप अंकित लामो फ्लेक्सलाई सोमबार रातिको हावाहुरीसहितको भारी वर्षाले लडाए पनि त्यसलाई बिहीबारसम्म पनि उठाइएको थिएन।
यसअघि नेपाली टोलीले सोमबार यही रंगशालामा क्यानडासँग वाम अप खेल खेल्दा केही नेपाली दर्शक खेल हेर्न गए पनि आइसिसीले प्रवेश अनुमति दिएको थिएन।
अमेरिकासँग बिहीबार हुने खेलमा पनि आइसिसीले अनुमति नदिने बताइसकेको छ।