विगत १५ वर्षदेखि नेपाली महिला राष्ट्रिय टिमबाट निरन्तर खेलिरहेकी छिन्, सीता राना मगर। नेपाली क्रिकेटका लागि आफ्नो जीवनको ऊर्जावान् १५ वर्ष दिएकी सीता महिला क्रिकेटरको अवस्थादेखि भने दिक्क छिन्।
उनका अनुसार महिला क्रिकेटरले खेलेरै बाँच्न सक्ने स्थिति छैन। यसमै लाग्दा आफ्नो करिअर धरापमा राख्न पर्ने स्थिति छ। त्यसैले कति त क्रिकेट नै छाडेर विदेश पलायन भइसके।
‘जसले आफ्नो यहाँ करिअर छैन भनेर सोच्नुहुन्छ। उहाँहरूले छाडिसक्नुभयो। दुई-तीन जना खेलाडी बाहिर गइसक्नुभयो। त्यसैले अब यस्तै स्थिति रहिरह्यो भने खेलाडी टिकाउन गाह्रो हुन्छजस्तो लाग्छ,’ सीताले भनिन्।
काठमाडौं बाहिरका महिला क्रिकेटरलाई खेल्न निकै गाह्रो हुने उनको अनुभव छ। काठमाडौंमा आएर अभ्यास गर्न महिला क्रिकेटसँग पैसा नहुने गरेको उनले बताइन्।
‘जिल्लाबाहिर अभ्यासको खासै सुविधा छैन। पैसाका कारण काठमाडौं आएर अभ्यास गर्न पाउनुभएको छैन। अभ्यास गर्न पाउँदैन भने गियरको र डाइट कुरा त पछिको हो,’ उनले भनिन्।
आर्थिक अवस्थाका कारण कतिपय महिला क्रिकेट खेलाडीले खेल नै छाड्ने गरेको उनी बताउँछिन्।
उनले एक महिला क्रिकेटरको एउटा उदाहरण दिँदै भनिन्, ‘एक जना दाङकी बहिनी क्रिकेटर थिइन्। उनका बुवा ममी हुनुहुन्न। भाइ पढाउनु पर्ने भएकाले हामीलाई जागिर खोजिदिन आग्रह गर्थिन्। जागिर पाइनन्। अस्ति भर्खर कोरियाको इपिएसमा नाम निकालिन्। क्रिकेट खेल्न मन हुँदाहुँदै पनि क्रिकेट छाडेर कोरिया रोजिन्। यो कुरा उनले भनेपछि मलाई एकदमै नरमाइलो लाग्यो।’
आर्थिक समस्या भएका खेलाडीलाई सशस्त्र प्रहरी बलको एपिएफमा आउन उनी आग्रह गर्छिन्। तर कतिपय खेलाडी एपिएफमा आउँदैनन्। किनभने सिनियर खेलाडी भएपछि मौका पाइन्न भन्ने डर उनीहरूलाई हुन्छ।
क्रिकेटमा भविष्य निश्चित नभएपछि उनी कतिलाई पढ्न सुझाव दिन्छन् भने कतिलाई जागिर खाऊ भन्छिन्।
‘बाहिर जान सक्छौं भने जाऊ। क्रिकेटमा लाग्छौ भने हामीले जसरी त्याग गर्नुपर्छ भन्छु। राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सक्ने हुनुपर्छ। रुबिना र मैले हङकङको फ्रेञ्चाइज लिग फेयर ब्रेक खेल्यौं। हामीले अलिकति भए पनि आम्दानी गर्न सफल भयौं। त्यो लेभलमा पुग्छु भनेर सोच्नुपर्छ भनेर नयाँ क्रिकेटरलाई भन्छु,’ उनले आफ्नो अनुभव सुनाइन्।
उनले क्रिकेटमा टिक्न १५ वर्ष त्याग गरेकी छिन्। आफ्नो खेलकुदको मोहलाई जोगाउन मेहनत गरेकी छन्।
सुरूमा उनी फुटबल खेल्थिन्। स्कुल लेभलमा उनले प्लान नेपालले आयोजना गरेको क्रिकेट प्रतियोगितामा भाग लिइन्। त्यतिबेला राष्ट्रिय टिमका पूर्वकप्तान एलबी क्षेत्रीले नेपालगन्जमा अन्तरविद्यालय प्रतियोगिता गराएका थिए। त्यसलाई नेपालको महिला क्रिकेटको विकासमा कोशेढुंगा मानिन्छ। त्यही विद्यालयस्तरको प्रतियोगिता खेलेर उनी क्षेत्रीय टिममा छनोट भइन्।
२०६४ सालमा पहिलो पटक महिला राष्ट्रिय प्रतियोगिता भएको थियो। सन् २००७ मा नेपाली टिमले अन्तर्राष्ट्रिय खेलमा मलेसियामा डेब्यू गर्दै थियो। त्यसको छनोटका लागि प्रतियोगिता भएको थियो। सो प्रतियोगितामा उनी 'वेस्ट बलर' घोषित भइन् र नेपालको पहिलो महिला राष्ट्रिय टिमका लागि छनोट हुन सफल भइन्।
सन् २००७ मा नेपाली महिला राष्ट्रिय टिमले एसिसी कपमा डेब्यू गर्दै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन सफल भयो। नेपाल डेब्यू प्रतियोगितामै उपविजेता बन्यो।
उपविजेता बनेपछि नेपाली टिममा खुसीयाली छायो। खेलाडीमा खेल्नुपर्छ भन्ने भावना पलायो। त्यसपछि नेपाल एसिसी यू-१९ को विजेता बन्यो।
सन् २००९ मा भने उनी टिममा पर्न सकिनन्। त्यतिबेला कोहलपुरबाट एसएलसी दिएर काठमाडौं आउँदा अभ्यास पुगेको थिएन। अभ्यास नगरी छनोट खेल्दा उनी टिमबाट बाहिर रहिन्।
त्यसपछि उनलाई ठूलो धक्का लाग्यो। अनि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सञ्चालन गरेको काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा भर्ना भइन्। सुरूमा उनी ओपनिङ बलर थिइन्। मिडियम पेसमा बलिङ गर्थिन्। तर ब्याटिङ गर्न डराउँथिन्। एक वर्ष काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा अभ्यास गरेपछि उनको आत्मविश्वास पलायो। एक वर्षपछि ओपनिङ ब्याटरको रूपमा टिमबाट खेल्न सफल भइन्।
‘त्यसपछि निरन्तर क्रिकेटर खेलेर यहाँसम्म आइपुगेको छु। दु:ख कष्ट, आरोह-अवरोह हुँदै यहाँसम्म आइपुगेको हुँ,’ उनले भनिन्।
सुरूमा उनका बुवाले खेलमा लाग्दा समर्थन गरेका थिएनन्। दुइटा अन्तर्राष्ट्रिय क्रिकेट खेलेर आउँदा पनि बुवाले मन पराएका थिएनन्। उनकी आमाले भने सहयोग गर्थिन्। त्यसैले छोरीका कारण आमाले गाली खान्थिन्।
जब सीताले राम्रो प्रदर्शन गर्न थालिन्, बुवाको मन पग्लिँदै गयो।
‘पत्रपत्रिकामा नाम आएपछि अरूले सीताको बुवा भन्ने थाले,’ बुवाले अहिले आफूलाई साथ दिएको उल्लेख गर्दै उनले भनिन्, ‘त्यसपछि त अहिले ममीलाई वास्ता हुन्न बुवालाई मेरो खेलको धेरै वास्ता हुन्छ। सबै प्रतियोगिताको अपडेट लिनुहुन्छ। कहिलेकाहीँ खेलमा मेरो नाम आएन भने तैंले खेलेको छैन र तेरो नाम आएन भन्नुहुन्छ।’
सन् २०१० मा एसिसी यू-१९ जितेर आएपछि उनले १५ हजार रुपैयाँ पुरस्कार पाएकी थिइन्। त्यो पैसा उनले बुवाको हातमा राखिदिएकी थिइन्। त्यसपछि बुवा रोएको क्षण अहिले पनि सीता बिर्सन सक्दिनन्।
‘छोरीले खेलेर पैसा ल्याएको देखेर उहाँको खुसीको आँसु आएको होला सायद। त्यो क्षण अझै पनि सम्झन्छु,’ उनले भनिन्।
चार वर्षअघि उनको विवाह भयो। श्रीमानको पूरै परिवार खेलकुद क्षेत्रमा लागेको कारणले उनलाई अहिले पनि आफ्नो खेल करिअरलाई निरन्तरता दिन सजिलो भएको छ।
‘मेरो श्रीमानको परिवार नै खेलकुद क्षेत्रकै हुनुहुन्छ। एपिएफमा उहाँ बक्सर हुनुहुन्थ्यो। त्यो भएकाले मलाई परिवारबाट धेरै सहयोग छ। बिहे गरेको चार वर्ष हुँदा पनि मलाई खेलेर पुगेपछि बच्चा जन्माउने भन्नुहुन्छ,’ उनले भनिन्।
सीता र नेपाली राष्ट्रिय क्रिकेट टिमकी कप्तान रूबिना क्षेत्रीले गत दुई सिजन हङकङको महिला फ्रेञ्चाइज क्रिकेट लिग फेयर ब्रेक इन्टरनेसनल खेले। जसबाट सीताले धेरै चर्चा कमाउन सफल भइन्।
‘फेयर ब्रेकमा भुटानको साथी छनोट भएपछि त्यसबारे थाहा पाएँ। त्यसपछि दिपेश पण्डित भाइलाई भनेर फर्म भरेको थिएँ। विश्व छनोट थियो लगत्तै। त्यसमा मैले राम्रो खेलें। त्यसैले फेयर ब्रेकबाट मेल आयो। सम्झौता गरेर आफ्नो सपना पूरा गरें,’ पहिलो पटक फ्रेयर ब्रेकमा छनोट भएको क्षण उनी सम्झिन्छिन्।
त्यहाँ अन्तर्राष्ट्रिय क्रिकेटरसँग उनले ड्रेसिङ रूम सेयर गरिन्। फेयर ब्रेकमा आबद्ध सबै सिनियर अन्तर्राष्ट्रिय खेलाडीले राम्रो साथ दिएकाले धेरै कुरा सिक्न पाएको उनी बताउँछिन्।
फेयर ब्रेकमा गरेको एउटा सेलिब्रेसनले उनी भाइरल भएकी थिइन्। त्यतिबेला उनले दक्षिण भारतीय चलचित्र पुष्पाको ‘झुकेगा नहीँ’ को शैलीमा सेलिब्रेसन गरेकी थिइन्।
‘विकेट लिएपछि सेलिब्रेसनमा गर्ने मेरो बानी हो। फेयर ब्रेकमा त टिममा पर्दै खुसी थिएँ। सुरूमा क्यामेराले ठूला खेलाडीलाई फोकस गरिरहेका थिए। बलिङमा हाम्रो पालो आयो। जीवनको पहिलो फ्रेन्चाइज लिगमा पहिलो विकेट लिएपछि धेरै खुसी भएँ। अनि पुष्पाको झुकेका नहीँ शैलीमा सेलिब्रेसन गरें,’ उनले भनिन्, ‘त्यो धेरै चर्चा भएछ। सोसल मिडियामा भाइरल भएपछि त्यो सेलिब्रेसनले खुसी लाग्यो। पुष्पा चलचित्रले समेत सेयर गरेको थियो। तर धेरै सेयर भएपछि लाज लाग्यो। भोलिपल्ट पनि क्यामेराले निकै फोकस गरेपछि मैले के गरेछु त्यस्तो भनेर लाज लाग्यो। अब त्यो चर्चा रोके पनि हुन्थ्यो भन्ने पनि लाग्यो।’
अहिले उनी नेपाली राष्ट्रिय टिमकी उनी सिनियर खेलाडी हुन्। पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दाको टिमका खेलाडीमध्ये उनीमात्र अहिले पनि खेलिरहेकी छन्। त्यसैले उनी सबै खेलाडीसँग खुलेर कुरा गर्छिन्। जुनियर खेलाडीलाई सहज होस् भनेर हाँसी-मजाक गरिरहन्छिन् र माहोल तताउँछिन्।
उनलाई कहिलेकाहीँ संन्यास लिने बेला आएकोजस्तो लाग्छ। तर उनको खेल्ने सपना अझै पूरा नभएकाले रोकिन्छिन्। कहिलेकाहीँ क्रिकेटर सोमपाल कामीसँग उनको कुरा हुन्छ। त्यतिबेला संन्यास लिने कुरा गर्दा सोमपालले उनलाई सम्झाउँछन् र अझै खेल्नुपर्छ भन्छन्।
नेपाली महिला क्रिकेटरलाई जीवन धान्नै गाह्रो परिरहेको बेला निजी क्षेत्रलाई सहयोग गर्न उनले अपिल गरिन्। साथै वर्षमा दुई वटामात्र राष्ट्रिय प्रतियोगिता हुँदा नयाँ खेलाडी जन्मन नसक्ने उनको धारणा छ।
त्यसैले उनी भन्छिन्, ‘वर्षमा जम्मा दुई वटा प्रतियोगिता हुन्छ। कहिले पुसमा त कहिले असारमा हुन्छ। जसले गर्दा पर्याप्त खेल्न पाइँदैन। नयाँ-नयाँ प्रतिभा जन्मदैनन्। दुई-तीन वटा खेल खेलेर कसरी महिला क्रिकेटर जन्मन्छन्? प्राइभेट सेक्टरले पनि महिला लिग गरे अझै राम्रो हुन्थ्यो। भलिबल र फुटबलजस्तै महिला क्रिकेटरलाई पनि सहयोग गर्न आह्वान गर्छु।’