ओपनिङ ब्याट्सम्यान रित गौतम नेपालका लागि यू-१९ खेलमा अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने पाँचौ खेलाडी बनेका छन्।
मलेसियामा भइरहेको एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा ओपनर रितले सिंगापुरविरुद्ध शतक प्रहार गरेका हुन्। उनले नटआउट ११५ रन जोडे।
यसअघि नेपालको यू-१९ टिमबाट शक्ति गौचन, कनिष्क चौगाई, फैजरुल रहमान खान र राजु रिजालले शतक प्रहार गरका थिए।
यु-१९ क्रिकेटमा अन्तर्राष्ट्रिय शतक प्रहार गरेका रितले १३७ बल खेलेर १० चौका र १ छक्का प्रहार गरे। उनी ५० ओभर नै मैदानमा टिकेका थिए।
रित नेपालको उमेर समूहका छुट्टा छुट्टै २ टिमबाट शतक हान्ने पहिलो खेलाडी बनेका छन्।
यसअघि उनले २०१७ मा नेपालको यू-१६ टिमबाट पनि अन्तर्राष्ट्रिय शतक प्रहार गरेका थिए। उनले सन् २०१७ मा एसिसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा म्यानमारविरुद्ध नटआउट १०६ रन प्रहार गरेका थिए।
१७ वर्षीय रित काठमाडौंका हुर्केका हुन्। १२ वर्षको उमेरदेखि क्रिकेट सिक्न थालेका उनी नेशनल क्रिकेट एकेडिमीका उत्पादन हुन्। विनोद दासको प्रशिक्षणमा क्रिकेट सिकेका रितले यसअघि नेपालको यू-१६ टिमको कप्तानको भूमिका निर्वाह गरिसकेका छन्। उनी एक वर्षअघि यू-१९ टिममा परेका थिए।
यसअघि आइसिसी यू-१९ विश्वकप छनोटमा पनि उनले नेपालको ओपनिङको भूमिका निर्वाह गरेका थिए। पावर हिटिङ गर्न नरुचाउने उनी सिंगल-डलब रन लिने र अवसर पाउँदा बाउन्ड्री हान्न माहिर छन्।
गत पुसमा रितले भारतका पूर्वक्रिकेटर वीरेन्द्र सेवागको एकेडेमीमा प्रशिक्षण लिएका थिए। सुशील कोइराला मेमोरियल फाउन्डेसनको पहलमा रितसहित तृतराज दास र भूपेन्द्रकुमार उप्रेतीले पनि दिल्लीमा एक महिनाको प्रशिक्षण लिने अवसर पाएका थिए।
शुक्रबार रितको उत्कृष्ट प्रदर्शनसँगै यू-१९ क्रिकेटमा नेपालले चार वर्षपछि शतक प्रहार गरेको हो। यसअघि पछिल्लो पटक नेपालका लागि तत्कालिन यू-१९ टिमका कप्तान राजु रिजालले २०७२ असोजमा शतक प्रहार गरेक थिए। राजुले मलेसियामा भएको आईसीसी यू–१९ विश्वकप छनोटमा युगान्डाविरुद्ध १०१ रन जोडेका थिए। राजुले १ सय १५ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए। जससँगै उनी यु-१९ क्रिकेटमा नेपालका लागि शतक प्रहार गर्ने पहिलो कप्तान बनेका थिए। आइसिसीको उमेर समूहको प्रतियोगितामा शतक प्रहार उनी एक्ला नेपाली खेलाडी हुन्।
त्यसअघि २०६७ माघमा फैजरुल रहमान खानले नेपालका लागि यू-१९ क्रिकेट तेस्रो शतक प्रहार गरेका थिए। उनले थाइल्यान्डमा भएको एसीसी यू-१९ एलिट कपमा ओमानविरुद्ध शतक प्रहार गरेका थिए। आफ्नो डेब्यू प्रतियोगितामा शतक प्रहार गर्ने क्रममा रहमानले ९९ बलमा १ सय १ रन बनाएका थिए।
यू-१९ क्रिकेटमा नेपालका लागि पहिलो शतक बनाउने रेकर्ड भने शक्ति गौचनको नाममा छ। उनले सन् २००१ मा काठमाडौं भएको खेलमा माल्दिभ्सविरुद्ध १०० रन जोडेका थिए।
२००३ मा कनिष्क चौलागाईंले यू-१९ क्रिकेटमा दोस्रो शतक प्रहार गरेका थिए। उनले सन् २००२ मा पाकिस्तानको कराँचीमा भएको खेलमा माल्दिभ्सविरुद्ध नै १२५ रन जोडेका थिए।
यू-१९ क्रिकेटमा १८ वर्षको बीचमा नेपालले पाँच शतक प्रहार गर्दा कनिष्कको नाममा एकै इनिङमा बढी रनको कीर्तिमान छ।
सिनियर क्रिकेटमा भने नेपालले अहिलेसम्म ११ शतक प्रहार गरेका छ। कप्तान पारस खड्काको नाममा एकदिवसीय खेलमा पहिलो शतक प्रहार गर्ने रेकर्ड छ।
पारसले एकदिवसीय एक शतकसहित नेपालका लागि ४ अन्तर्राष्ट्रय शतक प्रहार गरेका छन्। यस्तै अनिल मण्डलले २ शतक प्रहार गर्दा शक्ति गौचनको नाममा १ शतक छ। शक्ति यू-१९ र सिनियर टिमका लागि अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने नेपालका एक्ला क्रिकेटर हुन्। नेपालका लगि राजु खड्का, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले पनि शतक प्रहार गरेका छन्।