नेपाल कबड्डी लिग (एनकेएल) मा खेलाडीको आकर्षण अत्याधिक बढेको छ। सिजन २ को ड्राफ्टका लागि ५ सय १२ जना नेपाली खेलाडी दर्ता भएको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले सोमबार जनाएको छ।
एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले सोमबार बताए, ‘पहिलो सिजनको ड्राफ्टमा २ सय ७८ जना नेपाली खेलाडी एनकेएलमा दर्ता भएका थिए।
दोस्रो सिजनको लागि खोलिएको आवेदनबाट ५ सय १२ स्वदेशी खेलाडी दर्ता भएका छन्। त्यसैले हामीले एनकेएलको क्रेज र खेलाडीको आकर्षण अत्याधिक बृद्धि भएको पाएका छौं।’
एनकेएल सिजन २ को लागि दर्ता भएका खेलाडीमा बागमती प्रदेशबाट सर्बाधिक १ सय ५५ खेलाडी छन्। त्यस्तै, सुदूरपश्चिमका १ सय ३, लुम्बिनीका ९८, मधेश प्रदेशका ७०, कोशीका ३५, कर्णालीका २७ र गण्डकीका २४ जना छन्। गत वर्ष भएको पहिलो संस्करणमा ६ सहरका ६ टिमले एनकेएलमा प्रतिस्पर्धा गर्न ड्राफ्टमार्फत् ८४ खेलाडी लिएका थिए, जसमा नेपाली खेलाडीको संख्या ६६ थियो ।
‘बिदेशी खेलाडीको आकर्षण पनि अत्याधिक बढेको छ। धेरै देशका खेलाडीले एनकेएल खेल्न चाहेका छन्। हामी दोस्रो सिजनको ड्राफ्टलाई ४०–५० जना बिदेशी खेलाडी लिनेछौं। उनीहरू पक्कैपनि माथिल्लो स्तरका हुनेछन्,’ बेगानीले बताए । पहिलो सिजन थाइल्यान्ड, बंगलादेश, श्रीलंका र केन्या गरी चार देशका १८ खेलाडीले एनकेएलमा आएका थिए ।
नेपाली कबड्डी इतिहासमै फ्रेन्चाइज टोलीको ऐतिहासिक प्रतियोगिताको रुपमा एनकेएलको सिजन १ १७–३१ जनवरी, २०२५ मा भव्यताकासाथ सम्पन्न भएको थियो । प्रेन्चाइजको आधारमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स गरी ६ सहरका ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौंलाई ४३–४१ ले पराजित गर्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो । पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम मगर र हिमालयन रेइडर्सका गणेश पार्की अहिले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेल्न व्यस्त छन् ।
सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै सार्वजनिक गर्ने बताइएको छ ।