‘यही हो, हामीले बनाउन खोजेको देशकै ठूलो क्रिकेट रंगशाला’


क्रिकेट सिजनमा धनगढी टेकेपछि सुभाष शाहीलाई नभेटेर भो त!

‘कहाँ हुनुहुन्छ?,’ हामीले फोनमा सोध्यौं।

‘मैदानमा,’ उनले जवाफ दिए, ‘तपाईंहरू भएको ठाउँ नजिकै छ।’

मध्यबजारको पिच सुख्खा थियो। चैतको चर्को घामले ठाउँ–ठाउँ चिरा परेका थिए। दिन नबिराई पानी हालिँदैछ। चार दिनभित्र घर लिपेजस्तो चिल्लो पार्नुछ।

हामी सुभाषसँगै मैदान घुम्यौं। पर केही व्यक्ति घाँस काट्दै थिए। प्याराफिटको काम भर्खरै सुरु भएको छ।

हामीसँग बोल्दाबोल्दै सुभाष भुइँमा झुके। पिचको माटो औंलाले थिचे।

‘बनाउन थालेको दुई महिना भयो,’ हामीतिर हेरेर हाँस्दै भने, ‘लिग हुँदासम्म सकिन्छ।’

चैत १७ बाट यहाँ धनगढी प्रिमियर लिग (डिपिएल) हुँदैछ। उनी प्रतियोगिता आयोजकमध्ये एक हुन्। देशकै सर्वाधिक धनराशि पुरस्कारको यो लिगले यसपालि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को मान्यता पाएको छ।

‘मैदान त सानो रहेछ नि,’ टेलिभिजनमा ठूल्ठूलो स्टेडियम देखेका हामीले सोध्यौं, ‘कति दर्शक आउँछन्?’

‘सानै हो,’ उनले खुल्दुली मेटाउँदै भने, ‘दर्शक नअट्ने गरी आउँछन्। तपाईंहरूले हेर्नुभयो होला, पोहोर फाइनलमा सात हजार दर्शक आएका थिए, सयौंलाई त्यसै फर्काउनुपर्यो।’

हामीले डिपिएलको अघिल्लो संस्करण हेरेका थिएनौं। धनगढी क्रिकेट मैदानबारे सुनेकासम्म थियौं, खासगरी खेल पत्रकार साथीहरूबाट। त्यसैलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन सकिने चर्चा थियो। सुभाष आफैं ज्यान दिएर लागेका छन् भन्ने थाहा थियो। बीच बजारको फुच्चे चउर देखेर खिसिक्क पर्यौं।

यो खासमा सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदान रहेछ। यहाँ प्रहरी तालिम हुन्छन्। महोत्सवहरू पनि आयोजना गरिन्छ।

सानो चउरमा अन्तर्राष्ट्रिय प्रतियोगिता कसरी खेलाउन सकिएला!

डिपिएलजस्तो स्थानीय लिगमा त दर्शक अट्दैनन्। कुनै दिन नेपाल–भारत भिडे, उधूम भिड कसरी थेगोस्!

‘अन्तर्राष्ट्रिय टुर्नामेन्ट गराउने भनेको यहाँ कहाँ हो र,’ सुभाषले भने, ‘त्यो त फाप्ला मैदान हो।’

हामी उनकै साथ लागेर धनगढी बसपार्कबाट दुई किलोमिटर पर बोराडाँडीको फाप्ला मैदान पुग्यौं। राजमार्गबाट लगभग सय मिटर पश्चिम ग्राभेल सडकले जोडेको फराकिलो चउर थियो। फलामे बारले घेरिएको ३० बिघा चउर छिरेपछि सुभाषले भने, ‘यही हो, हामीले बनाउन खोजेको देशकै ठूलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला।’

नेपालले पहिलोचोटि एकदिवसीय (ओडिआई) खेल्ने मान्यतापछि क्रिकेट मैदानको खाँचो महशुस गरिएको छ। नेपाली राष्ट्रिय टोली ‘ओडिआई’ उपाधि लिएर जिम्बावेबाट फर्कंदा विमानस्थलमा नारै लागेको थियो– ‘टुँडिखेलमा खेलेर विश्वकप पुगिन्न।’

मैदान त ठूलो कुरा भयो। खेलाडी प्रेरित गर्ने कुनै सुविधा राज्यले दिएको छैन। यो उदासीनबीच सुभाषले आँटेका छन्। राज्यको साथ भने जरुरी भएको उनी बताउँछन्।

उनले सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा क्रिकेट मैदान बनाउन खोजेका हुन्। विस्तृत प्रस्ताव सरकारलाई बुझाइसकेका छन्। सरकारको ४० र निजी क्षेत्रको ६० प्रतिशत लगानी हुने प्रस्तावमा छ। जग्गाको मूल्य बराबर सरकारी सेयरमा परिणत गरिनेछ। उनलाई लगानीकर्ताको सुर्ता छैन।

‘सरकारले कानुन बनाएर बाटो खोलिदेओस्, लगानीकर्ता जत्ति आउँछन्,’ उनले भने, ‘हामी घर–घरबाट पैसा उठाएर भए पनि रंगशाला बनाउँछौं।’

सुभाषको आत्मविश्वास त्यसै पलाएको होइन।

उनी २०६६ देखि विभिन्न क्रिकेट प्रतियोगिता गर्दै आएका छन्।

यसको सुरुआत एसपिए कपबाट भयो। उनकै नेतृत्वको टोलीले दुई–दुई वर्षमा हुने गरी यो प्रतियोगिता आयोजना गर्थ्यो। कलेजस्तरीय प्रतियोगितामा १२ टिम सहभागी थिए। राष्ट्रिय खेलाडी पनि खेल्थे। कुल लागत चार लाख रुपैयाँ थियो।

पहिलो दुई वर्ष एसपिए धनगढी रंगशालामा भयो। साँघुरो भएपछि २०६९ बाट प्रहरी मैदानमा सारियो।

‘स्थानीय स्तरबाट प्रतिभाशाली नयाँ खेलाडी आइरहेका थिए। अन्तर्राष्ट्रिय दाँजोमा पुर्याउन स्तरीय मैदानको खाँचो थियो,’ सुभाषले भने, ‘साँघुरो रंगशाला र प्रहरी मैदानमा खेलेर हाम्रा खेलाडीको ल्याकत बढ्दैन।’

यहीँबाट सुरु भयो, ‘ड्रिम फाप्ला’ अभियान।

मोहना खोला किनार गौचरन थियो। केटाकेटी फुटबल खेल्थे। सतह उबडखाबड थियो। सम्याएर पिच बनाउन सकिने सम्भावना सुभाष र उनका साथीहरूले देखे।

धनगढी नगरपालिकासँग कुरा गरे। नगरपालिका राजी भयो। बाटो बनाइमागे। बाटो बन्यो। विद्युत प्राधिकरणसँग बिजुली मागे। बिजुली जोडियो। सर्वदलीय परिषदसँग छलफल भयो।

जसै जमिन सम्याउन डोजर चलाए, स्थानीय घेरा हाल्न पुगे। हँसिया लिएर घेर्न आएको सुभाष सम्झन्छन्।

‘रिस जायज थियो। हामी गौचरन मास्न गइरहेका थियौं, तर देशको क्रिकेट भविष्यका लागि हामीसँग विकल्प थिएन,’ उनले भने, ‘गौचरनलाई अर्को ठाउँ बनाउने बाचा गर्दै हामीले सम्झायौं।’

‘फाप्लामा क्रिकेट मैदान बनेपछि व्यापार–व्यवसाय बढ्ने सपना देखायौं। उहाँहरूले अनुमति दिनुभयो,’ उनले भने।

चउर सम्याउन सेना र प्रहरी सरिक भए। आलोपालो गरी सम्याइदिए।

मैदान बन्यो। अब सम्भावनायुक्त अन्तर्राष्ट्रिय रंगशालाका रूपमा चिनाउनुपर्ने थियो।

२०७० मा सुभाषकै नेतृत्वमा धनगढी क्रिकेट लिग (डिसिएल) सुरु भयो। डिसिएलको पहिलो संस्करण फाप्ला मैदानमै भएको थियो।

एसपिए कप र डिसिएल आलोपालो आयोजना हुन थाल्यो। २०७३ मा दुवैलाई गाभेर धनगढी क्रिकेट लिग (डिपिएल) सुरु गरे। यो देशकै ठूलो क्रिकेट प्रतियोगिता हो। गत वर्ष पहिलो संस्करणको बजेट डेढ करोडभन्दा बढी थियो। उत्कृष्ट खेलाडी पुरस्कारमै ३० लाख खर्चेका थिए। विजेताले १५ र उपविजेताले ७ लाख पाउँछन्।

यसपालि दोस्रो संस्करणमा ‘मोस्ट भ्यालुएबल प्लेयर’ लाई सुनको जुत्ता दिने घोषणा गरिएको छ। विभिन्न क्लबले उच्च मूल्य तिरेर खेलाडी अनुबन्धित गर्न थालेका छन्। महेन्द्रनगर युनाइटेडले मंगलबार मात्र दुई भारतीय खेलाडी अनुबन्ध गर्यो।

राष्ट्रिय खेलाडीहरूको बोलकबोल (अक्सन) डिपिएलबाटै सुरु भएको हो। डिपिएलका छ टिमले खेलाडीलाई एक लाख रुपैयाँसम्म तिरेका छन्।

‘धनगढी क्रिकेट लिग हाम्रो निम्ति प्रतियागिता मात्र होइन, फाप्लालाई अन्तर्राष्ट्रिय मैदान बनाउने अभियानकै हिस्सा हो,’ उनले भने, ‘यसले क्रिकेट क्रेज देशभरि फैलाउनेछ, फाप्ला मैदानको खाँचो सबैले बुझ्नेछन्।’

उनीहरूले ‘ड्रिम फाप्ला’ अभियान निम्ति पैसा पनि उठाएका छन्।

एसपिए चौथो संस्करण हुँदा प्रत्येक टिकटबाट पाँच रुपैयाँ छुट्टयाएका थिए। यसबाट १ लाख ५ हजार उठ्यो। डिसिएल पहिलो संस्करणका विजेता र उपविजेताले पुरस्कारको आधा रकम अभियानलाई हस्तान्तरण गरे। गत वर्ष डिपिएल टिकट बिक्रीबाट उठेको १५ प्रतिशत रकम पनि यसमा लगाइएको छ।

यति मात्र होइन, देश–विदेशका नेपाली क्रिकेटप्रेमीबाट पैसा उठाउन थालिएको छ। कतिपय संघ–संस्थाले कर्मचारीको एक दिनको तलब दिएका छन्। अहिलेसम्म ६ लाख उठेको छ। रंगशाला डिजाइन लगायतका काम भएको सुभाषले बताए।

क्रिकेट मैदान बनाउन यो ठूलो रकम होइन। सरकारलाई दबाब दिन भने ठूलो काम गर्यो।

सरकारले फाप्ला मैदान बनाउन अघिल्लो वर्ष बजेटमा ६० लाख छुट्टयाएको छ। यसबाट पनि अन्तर्राष्ट्रिय रंगशालाको सपना साकार नहुने उनी बताउँछन्।

‘यो २ अर्बभन्दा ठूलो परियोजना हो। जति पैसा उठेको छ, त्यसले त पिच पनि बन्दैन,’ सुभाषले भने, ‘पैसा ठूलो कुरा हो भन्ने मलाई लाग्दैन। ठूलो कुरा सरकारको मनसाय हो। सरकारले पिपिपी मोडलमा जाने अनुमति दिए हामी अन्तर्राष्ट्रिय रंगशाला बनाएर देखाइदिन्छौं।’

कम्पनी खडा गरेर सार्वजनिक सेयर जारी गर्ने र अन्य लगानीकर्तासँग कुराकानी थाल्ने उनको योजना छ।

उनले डिपिएलकै उदाहरण दिँदै भने, ‘पन्ध्र दिन चल्ने टुर्नामेन्टमा तीन करोड उठ्छ भने यो परियोजनामा दुई अर्ब लगाउनु ठूलो कुरा होइन।’

‘हामी स्थानीय स्तरबाटै रकम जुटाउने प्रयास गर्नेछौं। त्यसले नभए राष्ट्रिय उद्योगपतिकहाँ गएर क्रिकेटको भविष्य निम्ति लगानी आह्वान गर्नेछौं,’ उनले आफ्नो योजना सुनाए।

सुभाषले मैदानको व्यावसायिक सम्भावना पनि देखेका छन्। नेपालले विश्व क्रिकेटमा उदीयमान टिमको साख बनाएको छ। भौगोलिक रूपले यहाँ अन्तर्राष्ट्रिय टुर्नामेन्टहरू खेलाउन सकिन्छ। संसारमै ख्याति कमाएका भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश सार्क सदस्यराष्ट्र हुन्।

‘यिनलाई निम्ता गरेर क्षेत्रीय टुर्नामेन्ट खेलाउन सकिन्छ,’ उनले भने, ‘भारत र पाकिस्तान निम्ति हामी ‘न्यूट्रल ग्राउन्ड’ बन्न सक्छौं।’

सुभाष आफैं पुराना क्रिकेट खेलाडी हुन्। अब उनको सपना खेल्नेभन्दा खेलाउनेतिर छ। धनगढीमै क्रिकेट एकेडेमी सुरु गरेका छन्, जहाँ केटाकेटीले तालिम पाउँछन्।

फाप्ला मैदान जाँदा हामी एकेडेमी छिरेका थियौं। धूले बाटोमा परबाट दुई जना किशोर एकेडेमीतिर आउँदै थिए। एक जनालाई देखाउँदै सुभाषले भने, ‘ल यो केटालाई चिनिराख्नुस्। भोलिको स्टार हो। अन्डर–१६ मा राम्रो प्रदर्शन गरिरहेको छ। धनगढीबाट उदाउने अर्को दिपेन्द्रसिंह ऐरी।’

‘हामी उसको प्रतिभा तिखार्न विशेष ध्यान पुर्याइरहेका छौं,’ उनले भने।

उनले ती किशोरको नाउँ सुनाए।

‘यस्ता प्रतिभा त घर–घरमा छन्। सबैलाई समेटेर अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन पूर्वाधारको खाँचो छ,’ भने, ‘फाप्ला मैदानले त्यो कमी पूरा गर्नेछ।’

विमानस्थलमा खेलप्रेमीहरूले त्यसै नारा लगाएका होइनन्। टुँडिखेलमा खेलेर नेपाली टिम विश्वकप पुग्दैन। उनीहरूको अभ्यास र नयाँ प्रतिभा जन्माउन स्तरीय मैदानको खाँचो छ।

सुभाष शाहीलाई भेटेको खेर गएन।

एउटा सम्भावनायुक्त क्रिकेट मैदान हामीले धनगढीमा देख्यौं।

हेर्नुहोस् ड्रिम फाप्लाको थ्रीडि भिडियो

यी पनि हेर्नुहोस्

 क्रिकेट श्रृंखला-५ क्रिकेटसँग जोडौं कर्पोरेट

  क्रिकेट शृंखला-४ अफगानिस्तान मैदान माग्छ, हामी बल माग्छौं

  क्रिकेट श्रृंखला-३ – ‘टुँडिखेलमा खेलेर विश्वकप पुगिन्न’

 शृंखला-१ राष्ट्रिय क्रिकेट खेलाडीलाई मासिक एक लाख  तलब

 शृंखला-२ राजनीतिबिनाको क्यान

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.