‘टुँडिखेलमा खेलेर विश्वकप पुगिन्न’

मुलपानीस्थित निर्माणाधीन क्रिकेट मैदान। तस्बिरः नारायण महर्जन/ सेतोपाटी


क्रिकेट श्रृंखला-३ 

नेपाली राष्ट्रिय क्रिकेट टोलीसोमबार साँझ जिम्बाबेबाट स्वेदश फर्कियो। एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाएर फर्किएको टोलीलाई स्वागत गर्न विमानस्थलमा क्रिकेटप्रेमीको भीड लागेको थियो। स्वागतका लागि खेलकुद मन्त्री जगत विश्वकर्मा पनि विमानस्थल पुगेका थिए।

क्रिकेटप्रेमीले त्यहाँ खेलाडीलाई स्वागत मात्र गरेनन्, नेपाली क्रिकेटका अघि बढाउन गर्नु पर्ने आवश्यक कामका लागि सरकारलाई घचघच्याए।

कतिपय विषयमा उनीहरूले नारा नै लगाए। तीमध्ये एउटा नारा थियो- टुँडिखेलमा खेलेर वर्ल्डकप खेल्न सकिन्न…।

यो नाराको मर्म थियो— स्तरीय क्रिकेट ग्राउण्ड बनाऊ।

सेतोपाटीले सुरू गरेको क्रिकेट श्रृंखला आज क्रिकेट मैदानकै विकासमा केन्द्रीत छ।

हामीसँग अहिले अन्तर्राष्ट्रियस्तरका खेल हुने एउटा मात्र मैदान छ, त्रिवि क्रिकेट मैदान। त्यो मैदान पनि हामीले बनाएको होइन। जी टिभीले करिब २० वर्षअघि बनाइदिएको हो।

यही मैदानमा हाम्रा खेलाडी घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएका छन्। क्रिकेटको विकासमा राज्यको उदासिनताको उदाहरण क्रिकेट मैदानको अभाव हो।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालको क्रिकेट भने अब त्रिवि मैदानले मात्र धान्न सक्दैन। चार वर्षपछि सकिने एकदिवसीय मान्यतालाई कायम राख्न र क्रिकेटलाई अझ नयाँ उचाइ पुर्‍याउन पर्याप्त क्रिकेट मैदान बनाउनु जरूरी छ।

‘हालै नेपाली क्रिकेटले पाएको वान डे स्टाटसलाई बचाउन र निरन्तरता दिनका लागि मैदान एकदमै महत्वपूर्ण हुन्छ,’ क्यानका प्रमुख कार्य सञ्चालक छुम्बी लामा भन्छन्,‘मैदान खेल्न योग्य भएर मात्र हुँदैन, अन्तर्राष्ट्रिय मान्यताप्राप्त हुनुपर्छ।’

त्रिवि मैदान मात्र हामीसँग भएको एकमात्र अन्तर्राष्ट्रिय मैदान हो। अन्तराष्ट्रिय स्तरका अन्य मैदान नहुँदा नेपालले ठूलाखाले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर पाएको छैन।

यो पनि हेर्नुहोस्-

  शृंखला-२ राजनीतिबिनाको क्यान

नेपालमा क्रिकेटको जुन क्रेज छ, यो टेस्ट राष्ट्रकै हाराहारीमा छ। यस्तो क्रेज टेस्ट खेल्ने सबै देशसमेत छैन।

हाम्रो ‘फ्यान बेस’ का कारण ठूला प्रतियोगिताहरू नेपालले आयोजना गर्न सक्छ।

कम्तीमा तीन वटा अन्तर्राष्ट्रिय मैदान भएका भए अघिल्लो महिना नामिबियामा भएको डिभिजन २ प्रतियोगिता हामीले नै गर्ने अवसर पाउन सक्थ्यौं।

हरेक दिन तीन वटा म्याच खेलाउनु पर्ने प्रतियोगिता भएकाले नेपालले खेल आफूले आयोजना गर्छु भन्ने दाबी गर्ने अवस्था नै भएन।

अब अन्तराष्ट्रिय प्रतियोगिता नगरी हामीलाई सुखै छैन।

ओडिआईको सूचीमा परेका हामीले अब डिभिजन-२ वा त्योभन्दा तलका राष्ट्रसँग खेल्ने कुरा हुन्न। उनीहरूसँग खेलेर हाम्रो क्रिकेटको विकास हुने पनि होइन।

हामीले खेल्ने ओडिआईको सूचीमा हामीभन्दा माथि रहेका १५ राष्ट्रसँग हो। उनीहरूको मुलुकमा गएर र हाम्रो देशमा बोलाएर खेल्ने हो।

हाम्रो देशमा बोलाउन क्रिकेट मैदान खै त?

अफगानिस्तान, आयरल्यान्ड र युएईजस्ता उदयीमान टोलीले त्रिवि क्रिकेट मैदानमै पनि आएर खेल्न मान्लान्। स्थापित ओडिआई मुलुकहरू भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकाले त्रिवि मैदानमा खेल्न मान्दैनन्। उनीहरूसँग खेल्न त्रिवि मैदानको पनि स्तरोन्नति गर्नुपर्छ। त्रिवि मैदान स्तरोन्नतिको काम गर्दैगर्दा हामीसँग अर्को कुनै खेल मैदान बाँकी रहँदैन।

‘त्यही भएर हामीले जतिसक्दो चाँडो मूलपानीमा निर्माणाधीन दुई मैदानलाई चालू अवस्थामा ल्याउनुपर्छ,’ राष्ट्रिय टोलीका पूर्वकप्तान पवन अग्रवालले भने, ‘मूलपानीका मैदान खेल्न तयार हुनासाथ त्रिवि मैदानको स्तरोन्नति पनि सुरू गरिहाल्नु पर्छ।’

नेपालमा पूर्वाधार निर्माणका काममा व्यापक ढिलासुस्ती हुने गरेको छ। त्यसमा पनि खेलसम्बन्धी पूर्वाधारमा त हाम्रो ‘ट्रयाक रेकर्ड’ झनै निराशाजनक छ।

मूलपानी क्रिकेट मैदान बनाउन सुरू गरेको १४ वर्ष भयो।सो मैदान बनाउन सुरू हुँदा हामी डिभिजन ५ मा थियौं। हाम्रा खेलाडीले मुलुकलाई वान डे स्टाटस दिलाइसके तर मूलपानी मैदान अझै तयार भएको छैन। क्रिकेट विकासमा हाम्रो राज्य हाम्रा खेलाडीभन्दा कति पछाडि छ भन्ने यसैले देखाउँछ।

मूलपानीमा निर्माणाधीन दुई वटा रंगशालामध्ये एउटा खेल्न योग्य बन्ने अवस्थामा छ। तल्लोमा प्याराफिटको काम भइरहेको छ।

‘फास्ट ट्रयाकमा काम गर्ने हो भने अबको ६ महिनामा हामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयार हुन्छौ,’ अग्रवालले भने।

 शृंखला-१ राष्ट्रिय क्रिकेट खेलाडीलाई मासिक एक लाख तलब

मूलपानीका यी दुबै मैदानको काम पूरा गरेर त्रिवि क्रिकेट मैदानको स्तरोन्नति काम अघि बढाउनु पर्छ।

क्रिकेट मैदानसँग जोडिएको दोस्रो विषय हो, अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने नेपाली प्रतीभाको उत्पादन।

नेपाली खेलाडीले जुन स्तरको खेल खेलेर क्रिकेट यहाँसम्म ल्याइपुर्‍याए त्यही स्तरको खेलले अर्को उचाइमा लैजान मुस्किल छ। त्यसका लागि एकातिर अहिलेका खेलाडीले आफूलाई निखार्नु पर्छ भने अर्कातिर नयाँ प्रतीभा पनि जन्मिनु पर्छ।

अबका चार वर्षमा हामी क्रिकेटमा कति लगानी गर्छौं, कति नयाँ प्रतिभाशाली खेलाडी जन्माउन सक्छौं, त्यसैले नेपाली क्रिकेटको भविष्य निर्धारण गर्नेछ।

यसका लागि देशभर छरिएर रहेका कलिला खेलाडीलाई उचित प्रशिक्षण र खेल्न योग्य मैदानको आवश्यकता पर्छ।

अहिले हामीसँग काठमाडौंबाहिर राम्रो पिच भएको एउटा पनि मैदान छैन। क्रिकेटमा पिच एकदमै महत्वपूर्ण कुरा हो। त्यसैमा बाउन्स हुने बलमा खेलाडीले आफ्नो प्रतीभा देखाउँछन्।

त्यसैले हरेक प्रदेशमा घटीमा एउटा राम्रो पिच भएको मैदान बनाउनै पर्छ।

सबै खेललाई मिल्ने गरी बहुउपयोगी मैदानहरू बनाउन राज्यले लगानी गर्न सक्छ। विश्वभरि नै यस्ता बहुउपयोगी रंगशाला बनाउने प्रचलन छ। अष्ट्रेलियाको मेलबर्न र सिड्नी क्रिकेट मैदानलाई अष्ट्रेलियन रूल्स फुटबल र फुटबलका लागि पनि प्रयोग गरिन्छ।

कलकत्ताको साल्टलेक रंगशाला फुटबल र एथ्लेटिक्सका लागि प्रयोग हुन्छ। ढाकाको बंगबन्धु रंगशालामा पनि केही वर्षअघिसम्म क्रिकेट र फुटबल दुबै खेलाइन्थ्यो।

ओलिम्पिक आयोजना गरेका धेरै सहरहरूमा पनि ओलम्पिक सकिएपछि रंगशालालाई फुटबल रंगशालाका रूपमा प्रयोग गरिएका छन्।

नेपालमा क्रिकेट मैदानका लागि जग्गा नभएको होइन। हरेक प्रदेशमा यस्ता मैदान छन् तर तीनमा राम्रोस्तरको पिच छैन, रंगशालाको रूप दिन पनि सकिएको छैन।

‘अहिलेको समय भनेको निर्माणमा लगानी गर्ने हो। ६ महिनादेखि एक वर्षभित्र देखिने गरी प्रभाव पर्छ,’ राष्ट्रिय टिमका पूर्वकप्तान तथा यू-१९ टोलीका प्रशिक्षक दासले भने।

यहाँनेर हामीले अफगानिस्तानको उदाहरण पछ्याउन सक्छौं। एकदिवसीय मान्यता पाएसँगै अफगानिस्तानले व्यापक लगानी गरेर हरेक प्रदेशमा क्रिकेट रंगशाला बनायो।

सुरक्षाका कारण अन्तर्राष्ट्रिय खेल हुन सक्ने स्थिति नभए पनि ती रंगाशालामा स्थानीय र प्रान्तीय प्रतियोगिता सुरू गर्‍यो। त्यसका कारण उनीहरूले नयाँ खेलाडी पनि जन्माए। र अफगानी राष्ट्रिय टोली झन् सबल भयो। अहिले अफगानिस्तानले टेस्ट मान्यता पाइसक्यो।

आइसिसीबाट आउने पैसा र क्रिकेट संघले देशभित्रैबाट उठाउने पैसाले खेलाडीको पारिश्रमिक, प्रतियोगिताको आयोजना र व्यवस्थापन गर्न पर्याप्त हुन्छ तर त्यो पैसाले हामीलाई चाहिने मैदान बनाउन पुग्दैन।

यसका लागि राज्यले नै खर्च गर्नुपर्छ। देश संघीयतामा गइसकेपछि हरेक प्रदेशमा खेलकुद पूर्वाधारमा लगानी गर्न जरूरी पनि छ। सरकारले सबै प्रदेशमा कम्तीमा एउटा राम्रो क्रिकेट रंगाशाला बनायो भने देशको हरेक भेगबाट राम्रा खेलाडीहरु निस्कन्छन् र नेपाली क्रिकेटले अझ उचाइ हासिल गर्नेछ।

हेर्नुहोस् क्रिकेट मैदानको अवस्था भिडियोमा

भिडियो र सबै तस्बिरहरूः नारायण महर्जन

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.