राष्ट्रिय क्रिकेट खेलाडीलाई मासिक एक लाख तलब


क्रिकेट श्रृंखला- १

नेपालले सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको हो। त्यतिबेला पवन अग्रवाल नेपाली राष्ट्रिय टोलीबाट खेल्थे। पछि उनी नेपाली टिमका  कप्तान बने।

क्रिकेट खेलेर जिन्दगी चलाउन भने त्यो बेला निकै गाह्रो थियो। नचाहँदानचाहँदै अग्रवालले २००१ मा बल र ब्याटको दुनियाँ छोडे। त्यतिबेला उनी २७ वर्षका मात्र थिए। कुनै पनि खेलाडीको खेल जीवनमा २५-३० वर्ष सबैभन्दा उर्वर समय मानिन्छ।

अग्रवाले त्यही उर्वर समयमा क्रिकेट छोडे। व्यवस्थापन संकायमा उच्च अध्ययन सकेर बैंकिङ क्षेत्रमा करियर बनाए।

‘तत्कालीन समयमा क्रिकेट खेलेर गुजारा चलाउन निकै समस्या थियो। प्रतियोगिताको बेला पाएको थोरै रकमबाहेक अरू कुनै आम्दानी थिएन,’ अग्रवालले सेतोपाटीसँग भने, ‘त्यो बेला कुनै पनि अभिभावक आफ्ना सन्तानलाई क्रिकेटर बनोस् भन्ने चाहदैँनथे।’

त्यो बेला नयाँ खेलाडी उत्पादन गर्न एकदमै समस्या थियो। ‘त्यो यस्तो समय थियो, प्राय: सबै बाबुआमा आफ्ना छोराछोरीलाई डाक्टर, इन्जिनियर भएको देख्न चाहन्थे,’ अग्रवाल सम्झन्छन्, ‘कुनै पनि बाबुआमाले छोराछोरीलाई बल र ब्याट थमाउन चाहदैँनथे।’

समय धेरै बदलिएको छैन। अहिले पनि बहुसंख्यक बाबुआमा आफ्ना छोराछोरीले क्रिकेट खेले भनेर पीर गर्छन्। खेलेर केही हुन्न, पढ भन्छन्। कचकच गर्छन्।

बाआमा र परिवारको दबाब सहेर वा परिवारको साथ पाएर जसले क्रिकेट खेलेका छन्, उनीहरूको आर्थिक अवस्था अहिले पनि राम्रो छैन। किनभने नेपाली क्रिकेटमा अहिलेसम्म पैसा छैन। अहिले पनि राष्ट्रिय खेलाडीको आर्थिक भविष्य अनिश्चित छ।

तैपनि हाम्रा खेलाडीले गजब खेलेका छन्। संसारका १६ मुलुकले मात्र पाउने एकदिवसीय खेल खेल्ने सूचीमा नेपाल पर्नु सानो कुरा होइन। साना दुःख र खेलाडीको थोरै मेहनतले नेपाली क्रिकेट आज यहाँ आइपुगेको होइन।

नेपालले एक दिवसीय क्रिकेट खेल्ने राष्ट्रको हैसियत पाएपछि राष्ट्रिय टोलीका कप्तान पारस खड्काले लेखेका छन्, ‘… वर्षौंवर्षको थकानरहित प्रयास, समर्पण, प्रतिवद्धता र कडा परिश्रमको परिणामस्वरूप हामी एक दिवसीय क्रिकेट खेल्ने राष्ट्रको सूचीमा परेका छौं। सबैलाई बधाइ छ। भगवानले रक्षा गरून्।’

खेलाडीको मेहनतलाई सायद भगवानले हात थामेकाले नै नेपाली क्रिकेट यहाँसम्म आइपुगेको हो। अब खेलाडीलाई साथ दिने पालो नेपाली राज्यको हो। नेपाली क्रिकेटलाई एक दिवसीय राष्ट्रको सूचीबाट फेरि खस्कन नदिन र अझ उचाइमा पुर्‍याउन नेपाली राज्यको लगानी र साथ आवश्यक छ।

सेतोपाटीले आजदेखि क्रिकेटको श्रृंखला सुरू गरेको छ। यो श्रृंखलामा हामी नेपाली क्रिकेटलाई अझ माथि लैजान राज्यले गर्नु पर्ने पाँच कामको चर्चा गर्नेछौं।

श्रृंखलाको पहिलो भागमा नेपाली क्रिकेट खेलाडीले पाउने पारिश्रमिकबारे चर्चा गरौं।

क्रिकेट खेलेर नेपालको नाम अन्तर्राष्ट्रिय तहमा फैलाएका र आन्तरिक रूपमा नेपालीको आत्मविश्वास अघि बढाएका खेलाडीले पारिश्रमिक कति पाँउछन्?

नेपाल क्रिकेट एशोसिएसन (क्यान) पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को प्रतिबन्धमा छ। नेपाललाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी गराउने जिम्मेवारी अहिले आइसिसी स्वयंले लिएको छ।

क्यान प्रतिबन्धमा परेपछि राष्ट्रिय टोलीमा रहेका खेलाडीले यसअघि क्यानले तोकेको मासिक तलबसमेत गत वर्षदेखि पाएका छैनन्। क्रिकेट खेलाडी म्याच फी र विशेष भत्ताका भरमा चलिरहेका छन्।

यसअघि भने क्यानले राष्ट्रिय टोलीबाट खेल्ने खेलाडीलाई वर्गीकरण गरेर मासिक केही तलब दिने गर्थ्यो।

तत्कालीन क्यानले खेलाडीलाई चार समूहमा वर्गीकरण गरी मासिक तलब दिने निर्णय गरेको थियो। त्यसअनुसार ‘ग्रेड ए’ मा रहेका खेलाडीले ३५ हजार, ‘ग्रेड बी’ मा रहकाले २५ हजार, ‘ग्रेड सी’ मा रहेकाले १० हजार र ‘ग्रेड डी’ मा रहेकाले ५ हजार रुपैयाँ पाउँथे।

जनवरी २०१५ मा गरिएको वर्गिकरणमा २२ खेलाडी परेका थिए।

पछिल्लो समय राष्ट्रिय टिमबाट खेल्ने कुनै पनि खेलाडीले पारिश्रमिक पाएका छैनन्।

क्रिकेटमै भविष्य खोज्छु भनेर खेल्नेले ८–१० हजारको एउटा ब्याटसहित मध्यमखाले पूर्ण किट किन्दा लभगग २० हजार रुपैयाँ खर्च हुन्छ।

कतिपय खेलाडीसँग यति पैसा जोहो गर्ने क्षमता पनि छैन। अझ राष्ट्रिय टिमबाट खेल्ने खेलाडीले त घटीमा २० हजार रुपैयाँ पर्ने दुई-चार वटा ब्याट जोहो गर्नु पर्छ। राज्यले क्रिकेटमा यति आधारभूत आवश्यकता पूरा गर्न पुग्ने गरी पनि लगानी गरेको छैन।

हाम्रा खेलाडीलाई बल र ब्याटको चिन्ता मात्र छैन, परिवारलाई आर्थिक भरथेग गर्नु पर्ने चुनौती पनि छ। हाम्रा कतिपय खेलाडीको आर्थिक हैसियत अति सामान्य छ।

एकातिर आफ्नो नियमित तलब छैन, अर्कातिर परिवारको चिन्ता।

राष्ट्रिय टोलीका खेलाडीलाई यो चिन्ताबाट मुक्त गर्न उनीहरुलाई राज्यले कम्तीमा न्युनतम मासिक १ लाख रूपैयाँ पारिश्रमिक दिने काम तुरून्तै सुरू गर्नुपर्छ।

२० वा २५ जनालाई मासिक एक लाख पारिश्रमिक दिनु राज्यका लागि कुनै ठूलो कुरा होइन। यति पैसाले क्रिकेटको विकासमा भने ठूलो काम गर्नेछ।

यसले अहिलेका राष्ट्रिय खेलाडीको तत्कालको समस्या मात्र हल हुनेछैन, देशभर छरिएर रहेका कलिला खेलाडीको हौसला बढाउनेछ। उनीहरुले राष्ट्रिय खेलाडी बन्ने सपना देख्नेछन्। क्रिकेट नखेल्न बाआमाले दिने दबाब कम हुँदै जानेछ।

‘अहिले नेपाली क्रिकेटरले अन्तर्राष्ट्रिय स्तरमा सम्मानजनक स्थान बनाएका छन्। अब उनीहरूले सम्मानजनक पारिश्रमिक पनि पाए भने नेपाली बाबुआमा पनि छोराछोरीलाई क्रिकेट खेल्न रोक्ने छैनन्,’ अग्रवाल भन्छन्।

भारत, अष्ट्रेलिया र विश्वका विकसित देशको तुलनामा नेपालले क्रिकेट खेलाडीलाई खर्च गर्न नसक्ला तर हरेक खेलाडीलाई कम्तीमा एक लाख रूपैयाँ सरकारले दिने हो भने हरेक युवा र बालबालिकाले आफू पनि क्रिकेटर बन्छु भन्नेछन्।

क्रिकेट चलाउने कुनै निकाय नभएको अहिलेको अवस्थामा सरकारले हरेक खेलाडीलाई १ लाख मात्र मासिक पारिश्रमिक दिने हो भने त्यसले ठूलो योगदान पुग्नेछ।

क्यान व्यावसायिक रूपमा चल्ने हो भने एक दिवसीय मान्यता पाएको टिमका खेलाडीलाई यति रकम आफैं पनि दिन सक्छ।
‘क्यान गठन भएर त्यसले काम सम्हालेपछि आर्थिक श्रोत जुटाउन गाह्रो हुने छैन,’ राष्ट्रिय टोलीका पुर्वकप्तान एंव यू-१९ नेपाली टोलीका प्रशिक्षक विनोद दासले भने।

हाम्रा छिमेकी मुलुकले पनि खेलाडी र खेलमा लगानी गरेर नै क्रिकेटको विकास गरेका हुन्।

पाकिस्तानी क्रिकेट बोर्डले खेलाडीलाई चार समूहमा वर्गिकरण गरेर तलब दिन्छ। त्यसअनुसार ‘ग्रेड ए’ मा रहेका खेलाडीले मासिक ५ लाख, ‘ग्रेड बी’ काले ३ लाख ४५ हजार, ‘ग्रेड सी’ मा रहेकाले १ लाख ९८ हजार र ‘ग्रेड डी’ काले ९५ हजार ५ सय पाकिस्तानी रुपैयाँ (१ अमेरिकी डलर बराबर लगभग ११० पाकिस्तानी रुपैयाँ) पाउँछन्।

यसबाहेक पाकिस्तानी खेलाडीले म्याच फीबापत् टेस्ट खेलाडीका लागि ४ लाख प्रतिम्याच, वान डेका लागि ३ लाख प्रतिम्याच र ट्वान्टी ट्वान्टीका लागि १ लाख २५ हजार प्रतिम्याच पाउँदै आएका छन्।

अफगानी खेलाडीहरूलाई पनि त्यहाँको क्रिकेट बोर्डले मासिक पारिश्रमिक दिन्छ। केही समयअघि मात्रै टेस्ट राष्ट्रको मान्यता पाएको अफगानिस्तानका खेलाडीले मासिक झन्डै एक हजार डलर तलब पाउँछन्।

आतंकवादका कारण देशभित्र क्रिकेट खेल्ने राम्रो अवस्ठा नभएपछि अफगानिस्तानले खेलाडीलाई भारतको नयाँदिल्लीमा राखेर खेलाइरहेको छ।

भारत, अष्ट्रेलिया, इंग्ल्याण्डमा क्रिकेट खेलाडीले पाउने पारिश्रमिक र म्याच फी झनै धेरै हुन्छ।

पूर्वकप्तान दासका विचारमा अहिलेको मुख्य चुनौती चार वर्षपछि पनि नेपालले कसरी एक दिवसीय क्रिकेट खेल्ने राष्ट्रका रूपमा आफूलाई कायम राख्छ भन्ने हो। यी चार वर्षमा हामी क्रिकेटमा कति लगानी गर्छौं, कति नयाँ प्रतिभाशाली खेलाडी जन्माउन सक्छौं, त्यसैले नेपाली क्रिकेटको भविष्य निर्धारण गर्ने उनको तर्क छ।

चार वर्षपछि नेपालको ‘ओडिआई’ स्टाटस खोसियो भने त्यसले पूरै मुलुकको आत्मबलमा धक्का पुग्नेछ।

अर्कातिर नेपाली क्रिकेटले प्रगति गर्दै गयो भने त्यसले मुलुकको मनोबल मात्र बढाउने छैन, हाम्रो राष्ट्रिय एकता पनि थप कसिलो बनाउने छ। आखिर नेपाली राष्ट्रिय क्रिकेट टिम जत्तिको जातजाति, क्षेत्र, धर्म र वर्गको प्रतिनिधित्व भएको हामीसँग अर्को कुनै संस्था छैन। मुलुकको विविधता हाम्रो  राष्ट्रिय  क्रिकेट  टोलीमा प्रतिविम्बित छ।

यति महत्वपूर्ण भूमिकामा रहेका क्रिकेट खेलाडीका लागि राज्यले मासिक एक लाख लगानी किन नगर्ने?

यो पनि हेर्नुहोस्- के नेपालले अब भारत र अस्ट्रेलियाको राष्ट्रिय टोलीसँग खेल्न पाउँछ?

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.