ओपनर शिखर धवनको अर्धशतकीय पारीको मद्दतमा भारतले श्रीलंकामा जारी त्रिकोणात्मक ट्वान्टी-२० सिरिजमा बंगलादेशलाई ६ विकेटले हराएको छ।
भारतले बिहिबार जितका लागि पाएको १४० रनको लक्ष्य ४ विकेट गुमाएर ८ बल बाँकी छँदै पुरा गर्यो। उसका लागि शिखर धवनले सर्वाधिक ५५ रन बनाए। ४३ बल खेलेका धवनले ५ चौका र दुई छक्का प्रहार गरेका थिए।
भारतीय कप्तान रोहित शर्मा १७ रनमा आउट भए भने त्यसपछि आएका ऋषभ पन्त ७ रनमा आउट भएपछि भारतको पारी धवनले सम्हालेका थिए।
सुरुमै दुई विकेट गुमाएको भारतका लागि धवन र सुरेश रैनाले तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे। रैना २८ रन बनाएर आउट भए। ५५ रन बनाएर आउट भएका धवन पछि मनिष पाण्ड्या र दिनेश कार्तिकले भारतलाई लक्ष्यसम्म पुर्याए। पाण्ड्या २७ र कार्तिक कार्तिक २ रनमा अविजित रहे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। उसका लागि लितन दासले ३४ तथा सब्बीर रहमानले ३० रन बनाउनुबाहेक अन्यले राम्रो खेल्न सकेनन्।
भारतका लागि जयदेव उनदकटले सर्वाधिक ३ विकेट लिए। यस्तै विजय शंकरले २ विकेट लिए।
यसअघि प्रतियोगिताको पहिलो खेलमा भारले घरेलु टोली श्रीलंकासँग पाँच विकेटले पराजित भएको थियो।
यो सँगै तीन देश सम्मिलित सिरिजमा भारत २ अंकसहित रन रेटका आधारमा शीर्ष स्थानमा उक्लिएको छ।