चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा नेपालकी एरिका गुरुङले करातेबाट रजत पदक जितेकी छिन्।
शनिबार हाङझाउमा एरिकाले ६८ केजी तौल समूहमा फाइनलमा स्थान बनाएसँगै नेपालको रजत पदक पक्का भएको थियो।
तर स्वर्ण पदकको भिडन्तमा १९ वर्षीय एरिका काजकिस्तानकी सोफ्या बेरूलसेभासँग ३-० अंकले पराजित भइन्।
नेपाल पुलिस क्लबमा आबद्ध एरिका नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेसँगै एसियाली खेलकुदको प्रारम्भिक छनोटमा परेकी थिइन्।
काजकिस्तानका सोफ्या टोकियो ओलम्पिक २०२० की पदक विजेता हुन्। उनले जापानमा भएको ओलम्पिकमा कास्य पदक जितेकी थिइन्। २२ वर्षीय सोफ्याले सन् २०२१ को कराते विश्व च्याम्पियनसिपमा पनि कास्य जितेकी थिइन्।
नेपालकी एरिकाले भने गत साता इन्डोनेसियामा भएको विश्व सितोरियो कराते च्यम्पियनसिपमा स्वर्ण जितेकी थिइन्।
यसअघि एरिकाले क्वार्टरफाइनलमा जापानकी खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइन्। जापानकी युजुकीसँग १-१ अंकको बराबरी भएको थियो। त्यसपछि पहिलो अंक एरिकाले लिएका कारण उनी सेमिफाइनल पुगिन्।
सेमिफाइनलमा उनले हङकङकी हो काइ यानलाई ८-४ अंकले पराजित गरिन्।
जारी एसियाली खेलकुदमा नेपालको यो दोस्रो पदक हो। यसअघि नेपालले महिला कबड्डीबाट कास्य पदक जितेको थियो।
एरिका व्यक्तिगत स्पर्धामा रजत जित्ने नेपालकी दोस्रो खेलाडी हुन्। नेपालका लागि एसियाली खेलकुदमा पहिलो रजत सविता राजभण्डारीले १९९८ बैंकक एसियाली खेलकुदमा तेक्वान्दोबाट जितेकी थिइन्।
गत संस्करणमा नेपालले रजत जिते पनि त्यो टिम इभेन्ट्समा थियो। गत संस्करणको एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङको टिम इभेन्ट्समा रजत जितेको थियो।
यस्तै एरिका करातेबाट एसियाली खेलकुदमा रजत जित्ने पहिलो खेलाडी बनिन्। यसअघि नेपालले एसियाली खेलकुदमा करातेबाट कास्य मात्र जितेको थियो।