आगामी चैत ४ गते गोरखाको पालुङटारमा दोस्रो संस्करणको ‘लिगलिगे साइकल दौड’ हुने भएको छ।
लिगलिगकोटको ऐतिहासिक, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यलाई झल्काउँदै पर्यटन विकास गर्ने उद्धेश्यले ‘लिगलिगे साइकल दौड’ आयोजना हुँदै आएको आयोजक भिलेज स्पोर्टसले जानकारी गराएको छ।
ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको लिगलिगकोटलाई खेलकुदको माध्यमबाट पर्यटनलाइ प्रवर्द्धन तथा प्रचार प्रसार गराउने उदेश्यले वर्षेनि दौड प्रतियोगित आयोजना गरिदै आएको लिगलिग भिलेज स्पोर्ट्सका अध्यक्ष सञ्जिव राना मगरले जानकारी दिए।
आयोजकले साइकल दौडको माध्यमबाट इतिहासमा मगर घले बंशका शासकले दौडेर राजा छान्ने पद्दती र नेपाल एकीकरणको जग बसाल्ने शाहवंशीय शासनको सुरूआत गरिएको लिगलिगकोटको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई साहसिक खेल पर्यटनको माध्यमबाट जोड्ने अपेक्षा गरेको छ।
ऐतिहासिक गन्तव्य लिगलिगकोटले ‘एडभेन्चर डेष्टिनेशन’ का रूपमा चिनारी बनाइसकेको छ।
लिगलिगे साइकल दौड कार्यक्रमलाई वार्षिक खेल क्यालेन्डरमा प्रत्येक वर्षको फागुन ७ गते प्रजातन्त्र दिवसका दिन राखिएको छ। तर यस वर्ष भने कोरोना महामारीको कारण २०७८ साल चैत ४ गते शुक्रबारका दिन 'दोस्रो लिगलिगे साइकल दौड' प्रतियोगिता सारिएको आयोजकले बताएको छ।
नेपाल एकीकरणअघि लिगलिगकोटमा घले मगरहरू दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो । त्यही बेलाको दौडेर राजा हुने परम्परालाई पछ्याउँदै अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन साइकल दौड गरिएको आयोजक लिगलिग भिलेज स्पोर्ट्सले जानकारी गराए।
लिगलिगकोट क्षेत्र धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पुरातात्विक दृष्टिले निकै महत्वपूर्ण छ। नेपालमा २ सय ४० वर्ष शासन गरेको शाह बंशको उद्गमस्थल हो लिगलिगकोट।
'साहसिक खेलका माध्यमबाट यस ठाउँको प्रचारप्रसार र प्रवर्धन हुनेछ, साइकल दौडले यस क्षेत्रमा रहेको ऐतिहासिक स्थल , होमस्टे र रहनसहनको प्रचार गरेर पर्यटन विकासमा समेत सघाउ पुग्नेछ ,’ संस्थाका भिलेज स्पोर्ट्सका अध्यक्ष सञ्जीव राना मगरले बताए।
५२.९ किलोमिटरको दुरीको साइकल दौडमा पहिलोदेखि दशौँ हुनेलाई नगद पुरस्कार राशिको व्यवास्था गरिएको छ । प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमसः रू २५, २०, १५ हजार राखिएको छ।
महिलातर्फ पनि सोही अनुसार १० जनालाई नगदसहित पुरस्कार प्रदान गरिनेछ ।
पालुङटार नगरपालिका भित्रका स्थानीय महिला पुरुषका लागि छुट्टाछुट्टै बिजेता घोषाण गरिनेछ । साइकल दौड प्रतियोगिता लिगलिगकोटबाट सुरु भई आँपपिपल, हर्मी भञ्ज्याङ, थापागाउँ, आँपपिपल हस्पिटल, सिर्दिखोला, भण्डारथोक हुँदै लमजुङको राईनास नगरपालिकाका गरमबेशी, चेपे दोभान हुँदै पालुङटार एयरपोर्ट आइपुग्नेछ । त्यहाँबाट ताल पोखरी, ठाँटी पोखरी, लुईटेल हुँदै सभाचौतारोबाट लिगलिगकोट पुगेर टुंगिनेछ ।
प्रतियोगिता दर्ता शुल्क २ हजार तोकिएको छ । सहभागी खेलाडीलाई खाना र बास लगायतको ब्यवस्था आयोजकले गर्नेछ ।
प्रतियोगितालाई पालुङटार नगरपालिका, गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालय, सिरानचोक गाउँपालिका, राइनास नगरपालिका र गोरखा नगरपालिकाको सहयोग हुनेछ।
गत साल फाल्गुन ७ गते आयोजना गरिएको लिगलिगे साईकल दौडमा १०० जनाले प्रतिस्पर्धा गरेका थिए।
साइकल दौड प्रतियोगितामा सहभागीगिताको रजिष्ट्रेशन फागुन १० गतेबाट रजिष्ट्रेशन खुल्ला गरिने छ। लिगलिगे साईकल दौडको फेसबुक पेजबाट अनलाईन फर्म भर्न सकिनेछ।