विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच अस्ट्रेलियाबाट देश निकाला हुने भएका छन्। अष्ट्रेलियाको भिसाका लागि गरेका सबै प्रयास विफल भएपछि उनले अष्ट्रेलिया छोड्नुपर्ने भएको हो।
अस्ट्रेलियाको संघीय अदालतले ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचले भिसा रद्द गर्ने सरकारको निर्णयलाई सदर गरेसँगै उनले देश छोड्नुपर्ने भएको हो।
अदालतका तीन न्यायाधीशले आइतबार उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यो सँगै जोकोभिचले गत वर्ष जितेको अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन्।
यसअघि जोकोभिचको उपस्थितिले अस्ट्रेलियाली समुदायमा स्वास्थ्यसम्बन्धी जोखिम रहने भन्दै शुक्रबार अस्ट्रेलियाका आप्रवासन मन्त्रीले उनको दोस्रो पटक भिसा रद्द गरेका थिए।
अस्ट्रेलिया प्रवेश गर्न विदेशी नागरिकका लागि कोभिड खोप अनिवार्य गरिएको भए पनि जोकोभिचले खोप लगाएका थिएनन्।
जनवरी ६ मा पहिलो पटक भिसा रद्द हुँदा जोकोभिचले गत सोमवार अदालतमा मुद्दा जितेका थिए।
शनिवार जोकोभिचलाई पुनः हिरासतमा लिइएको थियो।
अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता सोमबारबाट सुरू हुँदैछ र जोकोविचले पहिलो चरणमा सोमबार राती सर्बियाकै खेलाडीविरूद्ध खेल्ने तालिका थियो।