थाइल्याण्डमा ११० किलोमिटर लामो दौड जितेकी जुम्लाकी सुनमाया बुढालाई कर्णाली प्रदेश सरकार र कर्णाली खेलकुद परिषदले स्वागत गरेका छन्।
सोमबार सुर्खेत आएकी सुनमायालाई खेलकुद परिषदका पदाधिकारीले विमानस्थलमै पुगेर स्वागत गरेका हुन्।
प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले भने उनलाई आफ्नो कार्यालयमा भेटेर स्वागतसहित बधाई ज्ञापन गरेका छन्।
जुम्लाको पातारासी गाउँपालिकाकी सुनमायाले थाइल्याण्ड बाइ युटिएमबी अल्ट्रा रेसमा महिलातर्फ प्रथम भएकी थिइन्। उनी प्रतियोगिताको समग्रमा भने तृतीय भएकी थिइन्।
उनले ११० किलोमिटर अल्ट्रा ट्रेल रेस प्रतियोगीतामा दुई हजार प्रतियोगीलाई पछि पार्दै समग्रमा तृतीय भएकी हुन्।
स्वागतका क्रममा मुख्यमन्त्री शाहीले सुनमायाले खेल क्षेत्रमा गरेको प्रगतिलाई कर्णाली प्रदेश सरकारले कदर गर्ने बताए।
उनीजस्तै प्रतिभा भएका मानिसहरू कर्णालीमा अरू पनि भएकाले पहिचान गर्नेतर्फ प्रदेश सरकारले ध्यान दिएको उनले बताए।
मुख्यमन्त्री शाहीले कर्णालीबाट प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई प्रदेश सरकारले प्रोत्साहनबापत आर्थिक पुरस्कारको व्यवस्था गरिएको बताए। प्रदेश सरकारले सुनमायालाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरिसकेको छ।
कर्णाली प्रदेश खेलकुद परिषदले सुनमायालाई प्रोत्साहनस्वरूप दुई लाख रुपैयाँ पुरस्कार घोषणा गरेको छ।
यस्तै, बंगलादेशको राजधानी ढाकामा भएको भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी जाजरकोटकी कामना विष्टलाई पनि ५० हजार रुपैयाँ पुरस्कार दिने परिषदले घोषणा गरेको छ।
उनीहरूलाई कर्णाली प्रदेश सरकारको स्थापना दिवस वा त्यस्तै कुनै अवसर पारेर पुरस्कार वितरण गरिने कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वमित्र सन्जेलले बताए।
यो पनि:
थाइल्यान्डमा ११० किलोमिटर लामो दौड जितेकी जुम्लाकी सुनमाया (भिडिओ)