टेनिस च्याम्पियन नोभाक जोकोभिचलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाइएको छ।
अष्ट्रेलिया प्रवेशका लागि चाहिने आवश्यक मापदण्ड पूरा नगरेको भन्दै अष्ट्रेलियाको अध्यागमनले जोकोभिचको भिसा समेत रद्ध गर्दै प्रवेशमा रोक लगाएको हो।
नौ पटकका अस्ट्रेलियन ओपन विजेता बुधबार राति मेलबर्न पुगेका थिए। मेलर्वन एयरर्पोट पुगेसँगै भिसा त्रुटिका कारण उनी रोकिएका हुन्।
उनी मेलर्वन पुगेसँगै भिसा रद्द भएको र उनलाई डिपोर्ट गर्ने तयारी भएको बताइएको छ।
अस्ट्रेलियाली सीमा बलले जोकोभिचले अस्ट्रेलियामा ‘प्रवेशका लागि आवश्यक योग्यता पुरा नभएको’ भन्दै भिसा रद्द गरेको पुष्टि गरेको छ।
अष्ट्रेलियन बोर्डर फोर्स एबिएफका अनुसार जोकोभिचले प्रवेश मापदण्ड पूरा नगरे र कोरोनाको खोपसमेत नलगाएकाले उनको भिसा रद्द गरिएको हो।
‘गैर नागरिक जसको वैद्य भिसा छैन वा भिसा रद्द भएको छ, उनीहरूलाई हिरासतमा लिइने र फिर्ता पठाइनेछ,’ एक विज्ञप्तिमार्फत एबिएफले भनेको छ।
एबिएफले मुलुक भित्रने जो कोहीले नियम र कानुनको पूर्ण रूपमा पालना गर्नुपर्ने भन्दै विज्ञप्तिसमेत जारी गरेको छ। ‘हामी हाम्रो सीमामा आउने सबैले हाम्रा नियम र कानुनलाई पालना गराउन निरन्तर लागिरहने छौ,’ विज्ञप्तिमा भनिएको छ।
यसैबीच प्रधानमन्त्री स्कट मोरिसनले सर्बियाली खेलाडीले सङ्घीय सरकारलाई भिसाका मामलामा सन्तुष्ट पार्नुपर्ने बताएका छन्।
‘नियम भनेको नियम नै हो, जब यो हाम्रो सिमानाका कुरामा आउँछ,’ समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री स्कट मोरिसनले ट्वीट मार्फत भनेका छन्, ‘नियमभन्दा माथि कोही पनि छैनन्, हाम्रो कडा सीमा नीति कोभिड-१९ बाट विश्वमै कम मृत्युदर राख्नलाई महत्वपूर्ण छ, हामी सतर्क रहन जारी राख्छौ।’
जोकोभिच अष्ट्रेलियन ओपन खेल्न बुधबार राति मेलवर्न विमानस्थल पुगेका थिए। भिसा रद्द भएसँगै जोकोभिचका कानुन व्यवसायी सरकारको निर्णयविरूद्ध न्यायालय जाने भएका छन्।
डिसेम्बर १५ बाट पूर्ण रूपमा खोप लगाएका योग्य भिसाधारीहरू यात्रा छुटको आवेदन गरी अस्ट्रेलिया आउन सक्छन् र बिना क्वारेनटिन राज्य एवम् प्रदेशहरूमा भ्रमण गर्न सक्छन्।
यदि कुनै व्यक्तिले खोप लगाएको छैन भने खोप लगाउन छुट पाएको चिकित्सकीय प्रमाणपत्र आवश्यक रहन्छ।
कुनै समय खोपका विरूद्धमा बोलेका जोकोभिचले कोभिड-१९ खोप लगाएको/नलगाएको बारेमा आधिकारिक जानकारी छैन।
भिसा रद्द हुनु केही समयअघि जोकोभिचका पिता सर्जनले सर्बियन बि ९२ इन्टरनेट पोर्टलसँग कुरा गर्दै आफ्नो छोरालाई एक्लै कोठामा राखिएको र बाहिर दुई प्रहरी तैनाथ गरिएको बताएका थिए।
सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले एक विज्ञप्ति जारी गर्दै अष्ट्रेलियासमक्ष टेनिस च्याम्पियनलाई सहयोगको प्रस्ताव गरेका छन्।
‘मैले हाम्रो नाभोकलाई भने कि, सम्पूर्ण बर्सिया उसको साथमा छ, हाम्रो निकायले विश्वको सर्वश्रेष्ठ टेनिस खेलाडीको उत्पीडन तुरून्त अन्त्यका लागि काम गरिरहेको छ,’ उनले भनेका छन्।
अष्ट्रेलियाले हालसम्म विभिन्न कारण देखाउँदै वार्षिक १४ हजारको भिसा रद्द गरेको तथ्यांक छ।