नेपाल एपिएफ क्लबका दीक्षा तामाङ र पुलिसका स्यान्टु श्रेष्ठले खुमबहादुर खड्का स्मृति कप राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको उपाधि चुमेका छन्।
दीक्षाले महिला एकलतर्फ सेनाकी रविना महर्जनलाई ४-२ सेटले पराजित गर्दै स्वर्ण जितेकी हुन्। उनले नगद ४० हजारसहित, मेडल र ट्रफी प्राप्त गरिन्।
त्यस्तै, द्वितिय स्थान हासिल गर्ने रविनाले २० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरिन्। तेस्रो स्थानकी सेनाकी दिया देउला र पुलिसकी मन्जु सुवालले १०/१० हजार नगद प्राप्त गरे।
‘युथ अफ तुलसीपुर’ दाङको आयोजना भएको प्रतियोगिताको पुरूष एकलतर्फ राष्ट्रिय च्याम्पियन स्यान्टुले पुलिसकै विनेश खनियालाई ४–२ सेटले पराजित गर्दै पुरूष एकलको उपाधि जितेका हुन्। उनले नगद ४० हजार मेडल र ट्रफी प्राप्त गरे।
दोस्रो स्थान हासिल गरेका विनेशले नगद २० हजार प्राप्त गरे। तेस्रो स्थानमा सेनाका दीप साउन र एपिएफका संयोग कपालीले नगद १०/१० हजार पुरस्कार पाए।
पुस १६ देखि १८ गतेसम्म सञ्चालित प्रतियोगितामा तीन विभागीयसहित २८ टिमको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा नेपाली कांग्रेसका खेलकुद विभाग प्रमुख, कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले राज्यले खेलकुदको विकासमा लगानीमा बढाउन नसकेको बताए।
‘खेलकुदको विकासमा राज्यको लगानी निकै कम छ,’ उनले भने,‘केही निजी क्षेत्रका कारण थोरै भए पनि खेलाडी र खेलकुदको विकास भएको छ।’
उनले विश्वभरि राष्ट्रको झण्डा फहराउने, देशको इज्जत राख्ने खेल क्षेत्रका गतिविधिहरू पलायन हुँदै जाँदा खेलाडीहरू खिया लागेको हतियारजस्तै भैसकेको बताए।
‘खेलकुदका माध्यमबाट खेलाडीले नेपाललाई विश्वमा चिनाएका छन्,’ उनले भने,‘तर खेलकुदमा राज्यले लगानी गर्न सकेको छैन।’
उनले कोरोना महामारीका कारण थला परेको खेलकुद क्षेत्रलाई ‘युथ क्लब’ले राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गरी खेलाडी र खेलप्रेमीलाई उत्साह थपेको बताए।
एक वर्षभित्रमा कांग्रेस खेलकुद विभाग, लोकतान्त्रिक खेलकुद संघले देशभरि खेलकुदका प्रतियोगिताहरू व्यापक रूपमा अघि बढाउने निर्णय गरेको हुँदा त्यसले खेलकुद क्षेत्रलाई चलायमान बनाउन सघाउने उनको भनाइ छ।
युथ अफ तुलसीपुरका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा समापन कार्यक्रम भएको हो।