युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले आज आफ्ना सेवा सुविधा निश्चित गर्नका लागि ज्ञापन पत्र बुझाएका छन्।
एनएनआइपिए अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा आज युवा तथा खेलकुद मन्त्रालयको कार्यालयमा पुगरे मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्।
एनएनआइपिएले राष्ट्रका लागि खेल खेलेका ओलम्पियन तथा पदाधिकारीलाई सरकारले दिँदै आएको सेवा सुविधालाई निरन्तरता दिन ज्ञापन पत्रबाट ध्यानाकर्षण गरेका हुन्।
ज्ञापन पत्र बुझाउने क्रममा ओलम्पियन दीपक विष्टले सम्मानित तरिकाले दिँदै आएको सेवालाई निरन्तरता दिन आग्रह गरे।
उनले मन्त्री र सदस्य सचिव फेरिए पनि खेलाडी र ओलम्पियनका लागि बनेको फाइल अन्तिम चरणमा पुगेको भन्दै समन्वय गरिदिन ओलम्पियन दीपक विष्टले मन्त्रीलाई आग्रह गरे।
संघले बुझाएको ज्ञापन पत्रमा विभिन्न ८ बुँदागत माग समेटिएको छ। ज्ञापन पत्रमा नवौं बृहत् राष्ट्रिय खेलकुद तत्काल गर्नका लागि पहलकदमी गर्नुपर्ने, कोभिड खोप लगाएर खेलाडीको प्रशिक्षण सुरू गर्नुपर्ने, खेलाडी र पूर्वखेलाडीलाई सरकारले सामाजिक सुरक्षा लगायतका विभिन्न माग राखिएको छ।
ज्ञापन पत्र बुझेपछि युवा तथा खेलकुद मन्त्री गहतराजले खेलमा जीवन बिताएकालाई प्रदान गर्दै आएको सेवा सुविधालाई निरन्तरता दिने आश्वासन दिए।
यस्तै मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषदमा रिक्त सदस्य सचिवको प्रक्रिया छिट्टै अगाडि बढाउने बताए।
संघले १३ औं सागमा स्वर्ण विजेता खेलाडीले आकर्षक पुरस्कार पाए पनि रजत र कास्य पदक जित्नेको कुनै सम्बोधन नभएको भन्दै मन्त्रीले सकारात्मक प्रक्रिया दिए।