ओलम्पिकको ज्याब्लिङ थ्रो स्पर्धामा भारतलाई ऐतिहासिक स्वर्ण पदक जिताउने निरज चोपडाले करोडौं राशीको पुरस्कार पाउने भएका छन्।
उनले ८७.५८ मिटर भाला फ्याकेँर भारतलाई ऐतिहासिक उपलब्धि दिलाएका थिए। निरज एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो भारतीय खेलाडीसमेत बनेका छन्। यस्तै व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उनी दोस्रो भारतीय हुन्। २३ वर्ष अगाडि अभिनव बिन्द्राले सुटिङमा भारतका लागि पहिलो ओलम्पिक स्वर्ण जितेका थिए।
यो सफलतासँगै चोपडामाथि पुरस्कार रकमको वर्षा भएको छ। हरियाणा सरकारदेखि बिसिसिआई तथा पञ्जाब सरकारलेसमेत उनीमाथि पुरस्कार दिने घोषणा गरेको छ।
हरियाणा सरकारले स्वर्ण विजेता चोपडालाई ६ करोड भारतीय रूपैयाँ दिन घोषणा गरेको छ। साथै उनलाई सरकारले ग्रेड ए को जागिरसमेत दिने भएको छ।
यस्तै पञ्चकूलामा जमिन खरिद गर्न उनलाई ५० प्रतिशत छुट दिने भएको छ। यसका साथै चोपडालाई पञ्चकुलामा बन्ने एथ्लेटिक्सको सेन्टर फर एक्सीलेन्सको प्रमुखसमेत बनाउने भएको छ।
यस्तै पञ्जाब सरकारले दुई करोड भारतीय रूपैयाँ दिने भएको छ। चोपडाले ओलम्पिक स्वर्ण जितेर मुलुकको नाम राखेको भन्दै पञ्जाब सरकारले उक्त रकम पुरस्कारका रूपमा दिन लागेको पञ्जाबका मुख्यमन्त्री अमरिन्द्र सिंहले बताए।
यस्तै भारतीय क्रिकेट बोर्ड र महेन्द्र सिंह धोनीको टिम चेन्नई सुपर किङ्सले स्वर्ण विजेता चोपडालाई समान १-१ करोड भारतीय रूपैयाँ दिने भएको छ।
व्यवसायी आनन्द महिन्द्राले स्वर्ण विजेता चोपडालाई भारत फर्कने बित्तिकै एसयूवी ७०० गाडी उपहार दिने भएका छन्। यस्तै भारतीय एयरलाइन्स कम्पनी एयर इन्डिगोले निरजलाई एक वर्षसम्म निःशुल्क यात्राको सुविधा दिने सिईओ रोनोजोय दत्तले जानकारी दिए।