राजमार्गमा सवारी कुदाएको जस्तो सजिलो छैन, फर्मुला रेस। सामान्य गाडीको भन्दा फर्मुला गाडीको स्टेरिङ कडा हुन्छ। चालकले दायाँबायाँ सोच्न समय नै पाउँदैनन्। हालै भारतको कोइम्बतोर पुगेर फर्मुला रेसको अभ्यास गरेर फर्किएका रोशन अधिकारी भन्छन्, ‘फर्मुला गाडीको इञ्जिन चालकको पछाडि जोडिएको हुन्छ। जसको तापक्रम र साँघुरो ककपिटले उकुसमुकुस बनाउँछ।’
चालकका लागि एउटामात्र सिट भएको फर्मुला गाडी कुदाउँदा जुनसुकै बेला दुर्घटना हुन सक्छ। दुर्घटनाबाट चालक जोगाउन बलियो हेल्मेट लगाउँछन्। सुरक्षाका लागि आगोले समेत नछुने सुट पहिरिन्छन्। फर्मुला रेसमा दुर्घटना हुन नपाओस् भनेर सडक ट्रयाकको दायाँबायाँ रबर वा टायरले घेरिएको हुन्छ। जहाँ गाडी गएर ठोक्किए पनि दुर्घटना हुँदैन।
मोटर रेसमा सानैदेखि लगाव रहेका २२ वर्षीय रोशन पोखरा-१९ पुरनचौरका हुन्। उनले अगस्ट ३ देखि ५ गतेसम्म कोइम्बतोर पुगेर यस्तो अभ्यास गरेर फर्किएका छन्। मोटर स्पोर्टसका लागि प्रख्यात कोम्बतोरको ‘कारी मोटर स्पोर्टस् ट्रयाक’ भारतीय फर्मुला रेसरका लागि पनि पहिलो रोजाइमा पर्छ। जहाँ भारतका अधिकांश फर्मुला रेस प्रतियोगिता र अभ्यास हुन्छ।
रोशनले तीन दिनको अभ्यासमा कोइम्बतोरको २.१ किलोमिटर लामो ट्रयाक कम्तिमा १ मिनेट २३ सेकेन्डमा पार गरे। बढीमा उनले १ मिनेट ४० सेकेन्ड लगाएका थिए। पहिलो पटक फर्मुला रेसको अभ्यासमा गएका रोशनले कयौं पटक प्रतियोगितामै भाग लिएकाहरूसँगै अभ्यास गर्न पाएका थिए। पटक-पटक प्रतियोगितामा भाग लिएका चालकले १ मिनेट २० सेकेन्डमा उक्त दूरी पार गरेका थिए।
रोशनले अभ्यासका क्रममा प्रत्येक दिन फर्मुला रेस ट्रयाकमा २५ देखि ३० ल्याप (राउन्ड) लगाएका थिए। पहिलो पटक फर्मुला रेसको अभ्यास गरेर फर्किएका रोशनले सोचेजस्तो सजिलो नभएको बताए।
‘भिडिओमा हेर्दा गेयर चेञ्ज गर्ने हो, घुम्ती मोड्ने हो, स्पिडमा गाडी कुदाउने होजस्तो लाग्थ्यो,’ उनले भने, ‘सोचेजस्तो सजिलो रहेनछ।’
फर्मुला गाडी चलाउन पनि उत्तिकै डर लागेको रोशनले बताए। अभ्यासका क्रममा प्रशिक्षकले डर हटाउन सहयोग पुर्याएका थिए। प्रशिक्षकले फर्मुला गाडी चलाउने तरिकादेखि सुरक्षाका उपाय अपनाउन सिकाएका थिए।
भारतको तमिलनाडुस्थित कोइम्बतोरसम्म पुगेर फर्मुला रेसको अभ्यास गर्न रोशनलाई सजिलो थिएन। उनले त्यहाँ चिनेका कोही थिएनन्। नेपालबाट कसैले सिफारिस गरेर पनि उनी त्यहाँ पुगेका होइनन्। सानैदेखि गाडी कुदाउने शोख राखेका रोशनले भारतका फर्मुला रेसका विजेता दिलजितको सम्पर्कमा पुगे। दिलजित कोइम्बतोरस्थित डिटिएस रेसिङ एकेडेमीका सञ्चालक हुन्।
फर्मुला रेस पछ्याइरहेका रोशनले भारतको मोटर स्पोर्ट्ससम्बन्धी वेबसाइटमा दिलजितको नम्बर फेला पारे। आफ्नो मोबाइलमा ‘सेभ’ गरे। दिलजितले फर्मुला रेस गरेको उनले हेरिराखेका थिए। एकदिन ह्वाट्स एपमा रोशनले दिलजितलाई म्यासेज गरे- म पनि फर्मुला रेस गर्न चाहन्छु, यसका लागि के गर्नुपर्छ?
दिलजितले जवाफमा भने, ‘रेसिङ लाइसेन्स छ कि छैन?’ रोशनले आफूसँग रेसिङ लाइसेन्स नभएको बताए। दिलजितले नै त्यसपछि रेसिङ तालिम लिन बोलाएको रोशनले बताए। तालिमपश्चात अब लाइसेन्स पाउनेमा रोशन ढुक्क छन्। लाइसेन्स पाए उनले अन्तर्राष्ट्रिय फर्मुला रेसिङ प्रतियोगितामा भाग लिन ढोका खुल्नेछ।
कोरोना नियन्त्रण गर्न जारी गरिएको लकडाउन नेपालमा मात्रै होइन, भारतमा पनि आंशिक रूपमा जारी छ। रोशन लकडाउनका बाबजुद् कोइम्बतोर पुगेर तालिम लिएरै छाडे। पोखराबाट भैरहवा हुँदै उनी गोरखपुर पुगे। गोरखपुरबाट जहाजमा कोइम्बतोर पुगे। कोइम्बतोर पुगेर तालिम लिएर फर्कँदा २ लाख बढी खर्च भएको रोशनले बताए।
दिलजितको डिटिएस रेसिङ एकेडेमीमा ३ दिने तालिम लिएर फर्केपछि रोशनले रेसिङ लाइसेन्सका लागि प्रक्रिया अघि बढाउँदैछन्। नेपालमा रेसिङ लाइसेन्स नेपाल अटोमोबिल स्पोर्टस् एसोसिएसन (नासा)ले प्रदान गर्दछ। उनले नासाका प्रतिनिधिसँग सम्पर्क गरेर लाइसेन्स पाउने प्रक्रिया बुझिसकेका छन्। नासाका प्रतिनिधिले पनि लाइसेन्स दिने प्रतिवद्धता जनाएको उनले बताए।
फर्मुला रेसिङमा भाग लिने रोशनको चाहना नेपालमै यस्तो प्रतियोगिता आयोजना हुने समाचारले पनि प्रेरित गरेको थियो। नेपाल पर्यटन बोर्डको संयोजन र सहकार्यमा मुस्ताङको लार्जुङमा फर्मुला-इ कार रेसिङ आयोजना गर्ने भनिएको थियो। त्यसका लागि तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराई, नेपाल पर्यटन बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, फर्मुला-इ च्याम्पियनसिपका संस्थापक तथा अध्यक्ष अलेजेन्ड्रो अगागसहितका प्रतिनिधि मुस्ताङ पुगेर ठाउँ हेरेका थिए।
त्यतिबेला उनीहरूले सन् २०२१ मेमा उक्त प्रतियोगिता आयोजना गर्ने भनिएको थियो। तर तोकिएको समयमा उक्त प्रतियोगिता हुन सकेन। प्रतियोगिता नभए पनि त्यसको तयारीमा रोशन जुटिसकेका छन्।
‘रेसिङ लाइसेन्स नै अहिलेका लागि मेरो आवश्यकता हो,’ उनले भने, ‘लाइसेन्स पाएँ भने संसारमा जहाँ भए पनि फर्मुला रेसिङ प्रतियोगितामा भाग लिन्छु र नेपाललाई चिनाउँछु।’
नेपाल अटोमोबिल स्पोर्टस् एसोसिएसन (नासा)का सचिव सुशिल तण्डुकारले रोशनलाई रेसिङ लाइसेन्स दिने बताए।
‘रेसिङ लाइसेन्स लिने प्रक्रिया हुन्छ, हामीले उहाँलाई जानकारी गराएका छौं,’ उनले भने, ‘प्रक्रिया पूरा भएपछि उहाँले लाइसेन्स पाउनुहुन्छ।’
१४ वर्षमै गाडी चलाउँथे रोशन
फर्मुला रेसिङ प्रतियोगितामा भाग लिन चाहेका रोशनले १४ वर्षकै उमेरमा गाडी लिएर हिँड्थे। सानैदेखि गाडीमा लगाव राखेका उनले घरमा आफन्त र अरु ठूलाबडाले गाडी लिएर आउँदा उनले चलाउन खोज्थे। गाडीमा धेरै सोख राखेको देखेपछि एक जना आफन्तले उनलाई काखमा राखेर गाडी चलाउने तरिका सिकाइदिए। विस्तारै चलाउन पनि सिकाए।
त्यतिबेला उनी १२/१३ वर्षका थिए। घर नजिकैका एकजना आफन्तले ट्याक्सी चलाएर गुजारा चलाउँथे। गाडीप्रति रोशनको लगाव देखेर उनले ट्याक्सी चलाउन सिकाए। डेढ वर्ष जति यसरी नै रोशनले घर वरपर गाडी चलाउन सिके। त्यसपछि उनले गाडी बजारमा निकाल्न थाले।
त्यतिबेला रोशनसँग लाइसेन्स थिएन। लाइसेन्स निकाल्ने उमेर पनि पुगेको थिएन। १६ वर्ष लागेपछि उनले मोटरसाइकलको लाइसेन्स निकाले। तर गाडी नै चलाउन चाहे। घरमा उनले रोशन एन्ड रक्षा एग्रोफर्म खोले। फर्ममार्फत् उनले गाई-भैंसीका लागि दाना र चोक्कर खरिद बिक्री थाले।
दाना र चोक्कर चितवनबाट ल्याउनु पर्थ्यो। त्यतिबेला उनको आफ्नो गाडी थिएन। चितवनबाट सामान ल्याउने र पोखरामा बेच्ने व्यापारीको सम्पर्कमा पुगे, रोशन। तिनै व्यापारीको ट्रक रोशनले खरिद गरे। त्यतिबेला ट्रक किन्न पुग्ने पैसा रोशनसँग थिएन। सुरूमा २ लाख दिएर उनले ट्रक लिएका थिए। बाँकी रकम ट्रक धितो राखेर दिने वचन दिए।
ट्रक खरिद त गरे तर रोशनसँग लाइसेन्स थिएन। चितवन जाँदा लाइसेन्स भएको साथी बोकेर जान्थे। सवारी चेकिङमा ट्रक चलाउन लाइसेन्सवाला साथीलाई दिन्थे। अन्यत्र आफैं चलाउँथे।
यसरी रोशनले चितवनबाट दाना चोक्कर ल्याएर गाउँ-गाउँका फार्मलाई बेच्दै हिँडे। ५-६ महिना गुजारेपछि उनले व्यवसाय घाटामा गएको थाहा पाए। ट्रक बेच्नुपर्ने भयो। उनले ट्रक किनेकै व्यक्तिलाई चलाउन नसकेको भनेर फिर्ता गरिदिए। चिनेजानेकै व्यक्ति भएकाले रोशनले खरिद गरेको ट्रक फिर्ता लन स्वीकार गरे। रोशनले व्यवसाय बन्द गरे।
त्यतिबेला पोखराकै पृथ्वीनारायण क्याम्पसमा स्नातक पहिलो वर्ष भर्ना भएका रोशन व्यवसायमा घाटा लागेपछि पढ्नकै लागि भनेर काठमाडौं गए। काठमाडौंमा उनले ड्राइभिङकै काम खोजे।
काठमाडौंका सेन्ट जेभियर्स स्कुल पछाडि एउटा क्याफे थियो। त्यहाँ निजी गाडी चलाउने ड्राइभरको खाँचो भएको रोशनले सुने। रोशनले त्यहाँ पुगेर आफू इच्छुक भएको बताए। उनले तलब र सेवा सुविधा जति दिए पनि हुने तर्क राखे।
त्यसपछि रोशन काठमाडौं गएर पनि ड्राइभिङ गर्न थाले। काठमाडौंमा ड्राइभिङ गर्दा गाडीप्रति उनको लगाव झनै बढ्न थाल्यो। तर लामो समय गाडी चलाउन पाएनन्। ४ महिनामै उनले ड्राइभिङको काम छाड्नु पर्ने भयो। परिवारले अध्ययनका लागि विदेश जान भने। रोशनले मानेनन्। अहिले रोशन पृथ्वीनारायण क्याम्पसममा जियोलोजी विषयमा स्नातक चौथो वर्ष अध्यनरत छन्।