जापानको राजधानी टोकियोमा जारी ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान र अमेरिकालाई पछा पार्दै चीन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
लगातार दुई दिन शीर्ष स्थानमा रहेको जापानलाई पछि पार्दै चीन पहिलो स्थानमा फर्किएको हो ।
बिहिबारसम्म कुल ११२ स्वर्ण, ११२ रजत र १३२ कास्य पदकको टुंगो लाग्दा चीनले १५ स्वर्ण, ७ रजत र ९ कास्यका साथ कुल ३१ पटक जितेर शीर्ष स्थानमा उक्लिएको छ ।
दोस्रो स्थानमा रहेको घरेलु टोली जापानको समान १५ स्वर्ण, ४ रजत र ६ कास्यसहित २५ पदक जितेको छ। तेस्रो स्थानमा रहेको अमेरिकाले १४ स्वर्ण, १४ रजत र १० कास्यका साथ ३८ पदक जितेको छ।
यस्तै ओलम्पिकको झण्डामुनी खेलिरहेको रसियन टिमले ८ स्वर्ण, ११ रजत र नौ काश्यसहित २८ पदक जितेर पदक तालिकाको चौथो स्थानमा छ।
यस्तै ८ स्वर्ण २ रजत र १० कास्यसहित २० पदक जितेको अष्ट्रेलिया पाँचौ स्थानमा छ।
छैठौं स्थानको बेलायतले ५ स्वर्ण, ७ रजत र ६ कास्यसहित कुल १८ पदक जित्दा सातौ स्थानको कोरियाले ४ स्वर्ण, ३ रजत र ५ कास्यसहित १२ पदक जितेको छ।
फ्रान्स र जर्मनीले समान ३-३ स्वर्ण पदक जित्दा इटाली, नेदरल्याण्ड, क्यानडा, हंगेरी, स्लोभेनिया, क्रोएशिया र कोशोभोले समान २-२ स्वर्ण जितेका छन्।
यस्तै ब्राजिल, स्विट्जरल्याण्ड, रोमानिया, चाइनीज ताइपेइ, चेक गणतन्त्र, न्यूजिल्याण्ड, जर्जिया, सर्विया, अष्ट्रिया, हङकङ, ट्युनिसिया, इस्टोनिया, आयरल्याण्ड, उज्वेकिस्तान, बर्मुडा, इक्वेडर, फिजी, इरान, लाटभिया, नर्वे, फिलिपिन्स, स्लोभाकिया र थाइल्याण्डले एक एक स्वर्ण जितेका छन्।
दक्षिण एसियाली मुलुक भारतसहित १४ देशले १६ रजत पदक जितेका छन्। थप १३ मुलुकले २१ कास्य पदक मात्र जितेका छन्।
टोकियो ओलम्पिकअन्तर्गत नेपाली खेलाडीको अन्तिम प्रतिस्पर्धा भोलि शुक्रबार बिहान हुँदैछ। महिला सय मिटर दौडमा नेपालकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछिन्।
नेपाली समयअनुसार विहान ५:५० मा हुने प्रतिस्पर्धामा सरस्वती दोस्रो हिटमा परेकी छिन्। यो हिटमा साउदी अरेबिया, इरान, ग्वाम, चाइनिज ताइपेई, मोनाको, मलेसिया र लाओसका खेलाडी छन्।
आफ्नो हिटमा भएका नौ खेलाडी मध्ये शीर्ष तीनमा पर्न सके सरस्वती दोस्रो चरणमा पुग्नेछिन्।
महिला सय मिटरमा तीन वटा हिटमा ९-९ खेलाडी गरी २७ खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।
सय मिटरमा सरस्वतीको उत्कृष्ट टाइमिङ १२.५५ सेकेन्ड हो। दोस्रो हिटमा रहेका सात धाविकाको उत्कृष्ट टाइमिङ सरस्वतीको भन्दा राम्रो छ। सरस्वतीको टाइमिङ साउदी अरेबियाकी खेलाडीको भन्दा मात्र राम्रो छ।
सय मिटर दौडमा नेपालको राष्ट्रिय रेकर्ड देवीमाया पनेरूको नाममा छ। उनले सन् १९९९ को साग गेम्समा १२.१९ मा सय मिटर दौड पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।
टोकियो ओलम्पिकमा नेपालका चार खेलाडीको भने चुनौती समाप्त भइसकेको छ। बुधबार पौडी खेलाडी गौरिका सिंह हिट चरणबाट बाहिरिएकी थिइन्।
यद्यपी गौरिकाले ५० मिटरको पौडी पोखरीमा (लङ कोर्स) मा राष्ट्रिय कीर्तिमान बनाउने क्रममा गौरिकाले १ मिनेट ००.११ सेकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन्।
टोकियो ओलम्पिकमा अर्का नेपाली पौडी खेलाडी एलेक्जान्डर ग्याडिगाड शाहले मंगलबार राष्ट्रिय कीर्तिमान बनाएका थिए।
सय मिटर फिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पौडिदै राष्ट्रिय कीर्तिमान बनाएका थिए। तर उनी दोस्रो चरणमा भने पुग्न सकेनन्।
जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित भएकी थिइन्।
गत शनिबार महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो। जसमा इरिनाले इप्पोनको आधारमा सोनियालाई पहिलो राउन्डमै पराजित गरेकी थिइन्।
शनिबार नै नेपालकी अर्की खेलाडी कल्पना परियारले सुटिङको महिला १० मिटर एयर छनोट चरणमा प्रतिस्पर्धा गरेकी थिइन्।
उनले राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा छनोट हुन सकिनन्।
कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।