जापानको टोकियोमा आगामी ८ देखि २४ साउनसम्म आयोजना हुने ३२ औँ गृष्मकालिन ओलम्पिक प्रतियोगितामा सहभागी नेपाली सेनाका २ जना खेलाडी छनोट भएका छन्।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ओलम्पिक प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिपाही सरस्वती चौधरीले एक सय मिटर स्प्रिन्ट विधामा र क्लबकी सिपाही कल्पना परियारले १० मिटर एयर राइफल विधामा प्रतिस्पर्धा गर्ने छन् ।
‘प्रतिस्पर्धी खेलाडीहरु विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुँदै गृष्मकालिन ओलम्पिक प्रतियोगितामा छनौट हुन सफल भएका छन्’ निर्देशनालयद्धारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ । प्रधानसेनापति थापाले छनौट भएका दुई खेलाडीलाई जितका लागि अग्रिम शुभकामना दिएका छन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाका खेलाडीलाई जंगी अड्डामा बोलाएर शुभकामना दिएका छन्। ओलम्पिक प्रतियोगितामा नेपाली सेनाका हालसम्म २४ खेलाडीले कौशल प्रदर्शन गरिसकेका छन् ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले पनि खेलाडीहरुलाइ शुभकामना दिँदै ओलम्पिक जस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनु खेलाडी आफैंमा गौरवको विषय भएको बताए। उनले सेनाका खेलाडीहरुलाई उत्कृष्ट प्रदर्शनको लागि शुभकामना दिँदै नेपाली सेनाले खेलकुद जगतमा पुर्याएको योगदानको चर्चा गरे ।