रुपन्देहीमा एक लाख पुरस्कार राशीको खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ।
आगामी फागुन २२ गते रोटरी क्लब अफ भैरहवाको आयोजनामा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको हो।
रोटरी इन्टरनेसनल डे को अवसरमा इन्टरनेसनल हाफ म्याराथन प्रतियोगिता हुने शनिबार पत्रकार सम्मेलन गरी कार्यक्रम संयोजक राजकुमार गुप्ताले जानकारी गराए।
खेलका माध्यमबाट लुम्बिनी, भैरहवा, बुटवल लगायतका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले म्याराथन प्रतियोगिताको आयोजना गरिएको गुप्ताले बताए।
विभागीय खेलाडीसहित ३ सय बढी खेलाडीको सहभागिता हुने २१ किलोमिटरको म्याराथन लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर ढोकाबाट सुरू भई सिद्धार्थ राजमार्गको शंकरनगर, मणिग्राम, कोटिहवा, पडसरी, अञ्चलपुर, बुद्घचोक, बर्मेलीटोल, नारायणस्थान पथ हुँदै सानू डिपार्टमेन्टल स्टोर चोकमा समापन गरिने क्लबका अध्यक्ष शिवहरि शर्माले बताए।
प्रतियोगिता विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो स्थान हासिल गर्नेले नगद ५० हजार तथा सान्त्वना पुरस्कार दुई जनालाई नगद ५ हजार १ सय रुपैयाँबाट पुरस्कृत गरिने शर्माले बताए।
कार्यक्रममा प्रतियोगिताका लागि म्याराथन टिसर्ट सार्वजनिक गर्दै कीर्तिमानी म्याराथन धावक बैकुण्ठ मानन्धरले बुद्धजन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवालाई खेलकुदको हव बनाउन मिडियाको महत्वपूर्ण सहयोग रहनुपर्ने बताए।
प्रतियोगितामा रोटरी क्लब अफ बुटवल, रुपन्देही, सेन्ट्रल लुम्बिनी, बुटवल डाउनटाउन, बुटवल साउथ, सेन्ट्रल बुटवल, लुम्बिनी सिद्धार्थ, सेन्ट्रल रुपन्देही, पाल्पा लुम्बिनी लगायतका रोट्रयाक्ट क्लबहरुको सहकार्य रहेको आयोजकले जनाएको छ।
यसअघि दुईवर्ष पहिले विश्व पोलियो दिवसको अवसरमा ईन्डो पोलियो नारासहित १२ किलोमिटरको दौड गरिएको थियो।
क्लबले स्वास्थ्य, शिक्षा, खेलकुद लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।