चितवनको नारायणी नदी किनारमा भएको टप फाइभ मुवाँ थाई फाइटअन्तर्गतको ६० किलो तौल समूहमा नेपाल आर्मीका गुणराज रुचाल विजयी भएका छन्। उनले काठमाडौँका बरुण घलेलाई हराएका हुन्।
त्यस्तै, ५३ किलो तौल समूहमा काठमाडौंका लाक्पा तामाङ विजयी भएका छन्। उनका प्रतिस्पर्धी चितवनका कविन देशार दोस्रो राउण्डमा घाइते भएपछि तामाङलाई विजयी घोषण गरिएको थियो। त्यसैगरी, ५७ किलो तौल समूहमा चितवनका रोहित शाही विजयी भएका छन्। उनले काठमाडौँका दावा फुर्जे तामाङलाई पराजित गरेका हुन्।
५१ किलो तौल समूहमा काठमाडौंका सन्दिप तामाङ विजयी भए। उनले चितवनका सनिल चौधरीलाई पराजित गरे। प्रतियोगितामा ८० केजी तौल समूह (हेभी वेट) तर्फ सलम लेप्चा विजयी भए। उनले रसिक जारीलाई पराजित गरेका हुन्।
महिला फाइटतर्फ भने सुकेधारा मुवा थाई क्लबकी डेनिका राई विजयी भइन्। उनले चितवनकी नतिशा रानामगरलाई पराजित गरेकी थिइन्।
प्रतियोगितामा विजेता खेलाडीहरुलाई नगद १५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको चितवन मुवाँ थाई संघका अध्यक्ष उत्तम गुरुङले जानकारी दिए।
त्यसैगरी, प्रतियोगितामा सहभागी भएका खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिएको उनले बताए।
मसवाँ थाई थाइल्याण्डको परम्परागत खेल भए पनि अहिले यो खेल व्यवसायिक बन्दै गएको छ। यहाँ चितवन मुवाँ थाई संघले खेलको आयोजना गरेको थियो । खेल हेर्न नारायणी नदीको किनारमा दर्शको बाक्लो उपस्थिति देखिन्थ्यो।