जुनियर ब्याडमिन्टनमा विश्व वरियतामा तेस्रो नम्बरका खेलाडी प्रिन्स दाहाल चितवनमा जारी प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगता २०७७ को सेमिफाइनलमा प्रवेश गरेका छन्।
दाहाल मेन्स सिंगलतर्फ सेमिफाइनलमा प्रवेश गरेका हुन्।
एपिएफ क्लबबाट खेलेका दाहालले शुक्रबार भएको प्रिक्वार्टर फाइनल खेलमा एपिएफकै प्रियंशु सिंह क्षेत्रीलाई २१–१० र २१–१० को सोझो सेटमा हराउँदै क्वार्टर फाइनल प्रवेश गरेका थिए।
त्यस्तै, प्रिन्सले क्वार्टर फाइनलमा त्रिभुवन आर्मी क्लबका हिमाल चन्दलाई २१–४ र २१–९ को सोझो सेटमा हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेका हुन्।
दाहालसँगै मेन्स सिङ्गलतर्फ भोजपुरका विकास श्रेष्ठ, त्रिभुवन आर्मीका नवीन श्रेष्ठ र एपिएफका दिपेश धामी सेमिफाइनल प्रवेश गरेका छन्।
प्रतियोगिताअन्तर्गत शुक्रबार विभिन्न ६४ वटा खेल भएका नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिए।
प्रतियोगितामा वुमन्स सिङ्गलतर्फ एपिएफकी जेसिका गुरूङ, त्रिभुवन आर्मीका अनुमाया राई, रसिला महर्जन र अमिता गिरि सेमिफाइनल प्रवेश गरेका छन्।
मेन्स सिङ्गल, ब्वाइज सिङ्गल अण्डर १७, भेटेरान्स डबल ४५ वर्षमाथि उमेर समूह, भेटेरान्स डबल ५५ वर्षमाथि उमेर समूह, मेन्स डबल, वुमन्स सिङ्गल, गर्ल्स सिङ्गल अण्डर १७ तथा मेन्स डबलमा र्याङकिङका लागि खेल भएका छन्।
देशकै सबभन्दा ठूलो धनराशिको प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता २०७७ को मेन्स सिङ्गल र वुमन्स सिङ्गलतर्फ पहिलो हुने खेलाडीले एक लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने चितवन जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष भरत मल्लले जानकारी दिए।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल शनिबार हुने उनले बताए।
त्यस्तै, मेन्स सिङ्गल र वुमन्स सिङ्गलमा दोस्रो हुने खेलाडीले समान ५५ हजार तथा तेस्रो हुने दुई/दुई जना खेलाडीले १५/१५ हजार रुपैयाँ पुरस्कार पाउने श्रेष्ठले बताए। मेन्स डबलतर्फ पहिलो हुनेले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुने दुई जनाले १०/१० हजार रुपैयाँ पाउनेछन्।
त्यसैगरी, मेन्स डबल टप २० र्याङ्किङमा पहिलो हुने खेलाडीले ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुने दुई जनाले सात/सात हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
ब्वाइज सिङ्गल अण्डर १७, गर्ल्स सिङ्गल अन्डर १७, भेटेरान्स डबल ४५ वर्षमाथि, ५५ वर्षमाथिका उमेर समूहमा पहिलो हुने खेलाडीहरूले समान ३० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने दुई/दुई जनाले पाँच/पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन्।
प्रतियोगितामा देशभरका ३०० बढी खेलाडीहरूको सहभागिता रहेको छ।
भरतपुर कभर्ड हलमा उक्त प्रतियोगिता सञ्चालन भइरहेको छ।