नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टन वरियताको तेस्रो स्थानमा उक्लिएका छन्।
नेपाली युवा स्टार प्रिन्सले जुनियर तर्फको वरियतामा ८ स्थान सुधार गर्दै तेस्रो स्थानमा पुगेका हुन्।
तीन स्थान माथि उक्लदै डेनमार्कका मड्स जुएल मोलेर शीर्ष स्थानमा पुगेका छन्।
यस्तै, चार स्थान सुधारेका भारतका बरून कपुर दोस्रो स्थानमा पुगेका हुन्।
शीर्ष स्थानमा रहेका डेनिस खेलाडीको १३५५० अंक रहेको छ भने भारतीय खेलाडीको १३१५० अंक रहेको छ। यस्तै तेस्रो स्थानमा रहेका नेपाली खेलाडी प्रिन्सको १०४०० अंक रहेको छ।
गत डिसेम्बर १ मा ११ औं स्थानमा रहेका प्रिन्सले एकैपटक ८ स्थान सुधार गरेका हुन्। प्रिन्स यसअघि गत अगस्टमा ७ औं वरियतामा उक्लिएका थिए।
त्यसपछि वरियता खस्किए पनि उनले आफुलाई विश्व वरियतामा पुन: अब्बल बनाएका हुन्।
यस्तै महिला जुनियरतर्फ नेपालकी सीमा राजबंशी ३७ स्थान माथि उक्लदै ४२ औं स्थानमा आइपुगेकी छन्। उनले ४३२५ अंक पाएकी छन्।
यस्तै नेपालकी रसिला महर्जनले पनि आफूलाई उल्लेख्य सुधार गर्दै ६८ औं स्थानमा आएकी छन्। उनले ५६ स्थान सुधार गरेकी हुन्। उनले ३०३० अंक पाएकी छन्।
इन्डोनेशीयाकी स्टेफिन विडजाजा शीर्ष स्थानमा छिन्। उनले १३ हजार ६ सय ७० अंक पाएकी छन्।
दोस्रो स्थानमा भारतीय खेलाडी सामिया इमाद फारूकी छन्। उनले ११ हजार ३ सय ६० अंक पाएकी छन्।