बिहीबार दिनभर आकाँशमा सूर्य झुल्केन।
शुक्रबार पनि केही बेरमा मात्रै दंगालीले सूर्य नारायणको दर्शन गर्न पाए। दाङको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ। तापक्रम दिनहुँ ओरालो लाग्ने क्रममा छ। यस्तोमा न्यानो कपडा नलगाई बस्न सकिदैन।
तर, शुक्रबार बेलुका साढे ७ बजे तुलसीपुर उपममहानगरपालिका वडा नं. ६ शिखर कोलनी पुग्दा त्यहाँ गेम चलिरहेको थियो। एउटा पातलो जर्सीमा फुटसल खेलिरहेका पसिनाले निथुक्क थिए। बत्तिको उज्यालोमा उनीहरू अनुहार र पसिनाका दाना चम्किएझैं लाग्थे।
त्यहाँ खेल्नेमध्ये कोही व्यापारी, कोही बैंकर्स, कोही स्वास्थ्यकर्मी थिए। दिनभरी बेफुर्सदी उनीहरू बेलुकीको सिफ्टमा शारीरिक स्फूर्ति, ताजगी र व्यायामका लागि फुटसल खेल्न आउँदारहेछन्।
एउटा टिमका लागि एक घन्टाको समय छुट्टाइएको थियो। सात बजेदेखि सुरू भएको गेम ८ बजे मात्रै सकिने। लगत्तै अर्को टोली खेल्नका लागि तयार थियो।
एक घन्टा फुटसल खेलेर खेलाडी बाहिरिए। पसिनाले निर्थुक्क भिजेका तुलसीपुर सिटी हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मी हेमराज बस्नेतले पसिना पुछ्दै भने, ‘केही नगरी बसे जाडो हुन्छ। हामी कुद्नेलाई के को जाडो।’
यो मैदान निर्माण भएदेखि उनी दैनिक खेल्दै आइरहेका छन्। त्यसअघि उनीहरू खुल्ला चउरमा फूटबल खेल्थे। त्यो चउर ढुंगा, गिट्टीयुक्त थियो। लड्दा चोटपटक लाग्थ्यो। त्यो व्यक्तिगत चउर भएकाले पछि खेल्न दिइएनन्।
मानिसका लागि स्वास्थ्य नै सबै भन्दा ठूलो धन हो। रोगी मानिसले चाहे अनुसार काम गर्न सक्दैन भन्दै स्वास्थ्यकर्मी बस्नेत आफू शारीरिक रूपमा फिट र स्वास्थ रहन फुटसल खेल्ने गरेको बताए।
‘दिनभरीको काम, तनाव र प्रेसर मेन्टेन गर्न म फुटसल खेल्न आउँछु,’ बस्नेतले सेतोपाटीसँग भने, ‘एक घन्टा खेलेपछि आनन्द फिल हुन्छ। रिफ्रेस भइन्छ।’
बेलुका गेम खेल्दा अर्को फाइदा पनि हुने बस्नेतले तर्क गरे।
‘युवाहरू भड्किने प्रायः बेलुका नै हो। बेलुका गेममा समय दिएपछि बाहिर जाने बानीमा पनि सुधार हुनेरहेछ,’ स्वास्थ्यकर्मी बस्नेतले भने, ‘त्यसले असन्तुलित खानपान बन्द हुन्छ र स्वास्थ्यलाई पनि फाइदा पुग्छ।’
यस्तै महालक्ष्मी विकास बैंक तुलसीपुर शाखाका म्यानेजर जनक साह फागुनमा सरूवा भएर यहाँ आएदेखि नै उनी नियमित फुटसल खेल्दै आएका छन्।
दिनभरको थकानबाट मुक्त हुन र शारीरिक फिटनेशका लागि आफूले फुटसल खेल्ने गरेको शाहले तर्क गरे। भलिवलका खेलाडीसमेत रहेका उनको खेलप्रतिको प्यासन सानैदेखिको हो।
उनी आफूजस्तै युवाहरूले कुनै पनि मनपर्ने गेम नियमित खेल्न आग्रह गर्छन्। ‘यतिखेर हामी जस्ता युवाहरु होटेल–होटेलमा भेटिन सक्छन्,’ उनले थपे, ‘नियमित गेम खेल्नेको बानी परिवर्तन हुन्छ। युवालाई दुर्व्यसनीबाट जोगाउन सकिन्छ।’
फुटसल खेल्न रोट्रयाक्ट र बैंकर्स मिलेर एउटा टिम बनाएका छन्। त्यो टिममा व्यवसायी सचिन पौडेल पनि छन्। त्यसैले उनी नियमित गेम खेल्छन्।
‘पहिला म बिहानदेखि बेलुकासम्म व्यापारका लागि कुर्चीमा बस्दा शरीर भद्दा भइसकेको थियो। भुँडी पनि लागेको थियो,’ व्यापारी पौडेलले भने, ‘आज त्यसमा उल्लेखनीय सुधार आएको छ। म निकै कम्फर्ट फिल गरिरहेको छु।’
उमेर बढ्दै जाँदा विभिन्न प्रकारका रोगले पनि च्याप्दै जान्छ। त्यस्तो समयमा नियमित अभ्यास आवश्यक पर्छ। साथीसँग टिममा नियमित खेल्दा रमाइलो अनुभूति हुनुका साथै शरीर र स्वास्थ्य पनि राम्रो हुने उनले बताए।
यहाँ गेम खेल्न मासिक शुल्क तिर्नुपर्छ। टिमले २० हजार र एक व्यक्तिले दुई हजार। पैंसा नै नलाग्ने सडक र खेल मैदानमा दौडिए हुँदैन? भन्ने प्रश्न गर्दा–पौडेलले तुलसीपुरमा राज्यले हालसम्म एउटा पनि राम्रो खेल मैदान नबनाएको र सडकमा दौडिनु जोखिमयुक्त रहेको तर्क गरे।
‘विकसित देशमा सार्वजनिक स्थलमै सर्वसाधारणका लागि खेल र अभ्यासका सामान सित्तैमा राखिएका हुन्छन्, तर, हामी कहाँ त्यो सुविधा छैन,’ पौडेलले थपे, ‘यहाँका सडकहरु साँघुरा, खाल्डाखुल्डी, धुलाम्मे छन्। कतिखेर दुर्घटनामा परिन्छ भन्ने ठेगान हुँदैन। त्यसैले पैंसा तिरेर फुटसल खेल्न आउनु बाध्यता हो।’ यहाँ खेल्न आउँदा घाम पानीको चिन्ता नहुने उनको बुझाई छ।
फुटसल र फुटबलका केही प्रमुख भिन्नता
फुटसल फुटबल जस्तै भए पनि थोरै खेलाडीबाट खेलिने खेल हो। यसका लागि खेलाडीसँगै मैदान पनि सानो हुन्छ। फुटबलमा २२ जना खेलाडीका बीचमा प्रतिपर्धा हुन्छ भने फुटसलमा १० जना मात्रै खेलाडी हुन्छन्।
फुटबलमा दौडिएर पेनान्टी हान्न पाइन्छ, तर, फुटसलमा वानसट किक हुन्छ। त्यसमा पनि एउटा खुट्टा नउठाइ हान्नु पर्छ। त्यस्तै फुटबलमा आउट भए लाईन थ्रो गर्दा हातले फाल्नु पर्छ र फुटसलमा खुट्टाले हान्नुपर्छ।
सानो मैदान र थोरै खेलाडी हुने हुँदा खेलाडीलाई अत्याधिक प्रेसर हुन्छ। दौडिरहनु पर्छ। जसले गर्दा राम्रो अभ्यास हुन्छ। तर, फुटसलको बल फुटबलको तुलनामा अलि गह्रौं हुन्छ।
आज पहिले जस्तै फुटबलमा लागि सार्वजनिक खेल मैदान पाउनै मुस्किल छ। शहर बजारमा झनै कठिन। त्यसैले पनि सानो क्षेत्रफलमा थोरै खेलाडीका बीचमा खेल्न सकिने फुटसलप्रतिको आकर्षण शहर बजारमा ह्वात्तै बढेको जानकारहरू बताउँछन्।
जग्गा भाडामा लिएर फुटसल ग्राउन्ड निर्माण
डिल्लीबहादुर केसी र भिष्म केसीको लगानीमा गत वर्ष मंसिर २३ गतेबाट सञ्चालनमा आएको फुटसल जिल्लाको मात्रै नभएर बुटवल पश्चिमकै नौलो छ।
करिब ४ कठ्ठा क्षेत्रफलमा बनेको फुटसल ग्राउन्डका लागि केसीद्धयले दश वर्षका लागि जग्गा भाडामा लिएका हुन्। लगानी झन्डै पौने करोड पुगेको डिल्लीबहादुरले सेतोपाटीलाई जानकारी दिए।
आफू काठमाडौंमा जाँदा त्यहाँका फुटसल ग्राउन्डमा गएर खेलेको भन्दै डिल्लीबहादुरले आफ्नै सहर तुलसीपुरमा पनि फुटसल बनाउने सोच तयार भएको अहिलेको यो मैदान तयार भएको बताए।
‘म काठमाडौं जाँदा फुटसल ग्राउन्डमा गएर खेल्थेँ,’ उनले भने ‘आफ्नै सहर तुलसीपुरमा यस्तै ग्राउन्ड बनाए राम्रै हुने ठानेर निर्माण गरेको हुँ।’
केसीका अनुसार यहाँ ५०/६० वर्षसम्मका मानिसहरु नियमित गेम खेल्न आउँछन्। जिल्लामै पहिलो आधुनिक फुटसल ग्राउन्ड तुलसीपुरमा खुल्दाको बखत राम्रै चर्चासमेत पाएको थियो। ‘सुरुका दिनमै ४/५ वटा टिमहरु नियमित खेल्न आइरहेका थिए। व्याक टू ब्याक टूनामेन्ट पनि हुने थालेका थिए’, उनले भने, ‘त्यहीँ बीचमा कोरोना भाइरसको त्रासदी सर्वत्र छायो। लिजेण्ड फुटसल पनि ५ महिना जति ठप्प हुन पुग्यो। फेरि यो खुलेसँगै चहल पहल सुरु भएको छ। हाल दैनिक ३ वटा टिमहरुले मासिक २० हजार तिरेर खेलिरहेका छन्।’
बिहान ५ बजेदेखि नै मानिसहरु यहाँ खेल्न आउँछन्। बिहान दुई टिम र बेलुका एक टिम नियमित खेल्छन्। त्यसबाहेक बीचमा पैंशा तिरेर खेल्न आउने पनि उत्तिकै हुन्छन्। एउटा लेडिज टिम पनि समय–समयमा खेल्न आइरहन्छ। प्ल टू र स्कूले किशोरीहरु खेल्न आउने उनले जानकारी दिए।
डिल्लीबहादुरका अनुसार विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म बुक गर्नेले ८ हजार तिर्नुपर्छ र त्यसको आधा समय खेल्दा ४ हजार पैंसा लाग्छ।
आज डिल्लीबहादुरलाई स्पोर्ट क्षेत्रमा लगानी गरेर एउटा नयाँ सम्भावनाको उजागर गरेको छु भन्ने लाग्छ। ‘सित्तैमा पाएको कुनै पनि चिजबस्तुको भ्यालु हुँदैन,’ डाँगीले भने ‘यहाँ खेल्न आउँदा थोरै भए पनि शूल्क लाग्छ र मानिस आफूले पैंसा तिरेपछि अलि मेहनत गरेर खेल्छन्। त्यसले उनीहरुको स्वास्थ्य राम्रो बनाउँछ नै उनीहरुलाई व्यवसायिक बन्न थप मद्दत गर्छ।’
पछिल्लो समय डिल्लीबहादुरलाई मानिसको खेलप्रति आकर्षण बढाउन सकेको गौरव लाग्छ। ‘मैले मानिसलाई बानी परिवर्तन गराउन मद्दत गरेको छु। उनीहरु निरोगी राख्ने काम गरे कि भन्ने लाग्छ,’ डिल्लीबहादुरले थपे ‘ यसले धेरै युवाहरुलाई दुव्र्यसनीबाट जोगाउने छ भन्ने विश्वास मलाई छ।’
त्यसै खाली रहेको जग्गालाई सदुपयोग गरेर आफू र जग्गा धनीलाई समेत फाइदा दिएँ भन्ने अनुभूति पनि उनले बाँड्न छोडेनन्।
फूटसल ग्राउन्डका लागि कार्पेट बेल्जियमबाट र गार्डनेस (रवरको धुलो) इण्डियावाट किनेर ल्याएको डिल्लीबहादुरले जानकारी दिए। यी दुई चिजबाहेक अन्य जम्मै सामान नेपालमै किनेको उनले बताए।
खेलाडीलाई खेल्न चाहिने बल सञ्चालकले यहीँ उपलब्ध हुने उनले बताए।