पूर्वमा दोस्रोपटक साहसिक खेल ‘जिपलाइन’ सुरु हुने भएको छ।
१ नम्बर प्रदेशको भेडेटार-धरानमा यसअघि यो खेल सुरु भएको थियो।
शिवसताक्षीको वाटर किङडम पार्क एण्ड रिसोर्ट प्रालिले ‘जिपलाइन’ अर्थात् डोरी मा झुन्डिएर खेलिने खेल सञ्चालनको तयारी गरेको हो।
यो बन्जीजस्तै साहसिक खेल हो।
प्याराग्लाइडिङपछि यो साहसिक खेल मानिन्छ। झिलझिले बजारको नजिकै गरेको ‘जिपलाइन’को बुधरबार सफल परीक्षण गरिएको छ।
वाटर किङडम पार्कमा तीन प्रकारका साहसिक खेल ‘जिपलाइन’छन्।
कम्पनीका प्रमुख राजकुमार संग्रौलाका अनुसार एक जना मात्र खेल्न मिल्ने गरी क्लासिक ‘जिपलाइन’, दुई जना एकै पटक खेल्न मिल्ने कप्पल ‘जिपलाइन’ र सुतेर अनि हात फिँजाएर खेल्ने सुपरम्यान गरी तीन प्रकारको साहसिक खेल सञ्चालनमा ल्याउने तयारी छ।
आन्तरिक तथा बाह्य पर्यटकहरूको आफ्नै रोजाइ र इच्छाका आधारमा ‘जिपलाइन’को मज्जा लिन सकिने गरी निर्माण भएको सञ्चालक संग्रौलाले बताए।
पार्कमा १ सय ३५ मिटरको लामो जिपलाइनका लागि डोरी झुण्ड्याइएको छ। जमिनको सतहदेखि ५८ मिटरको उचाइबाट करिब ३८ सेकेण्डमा एउटा जिपलाइन टावरबाट फिनिसिङ्ग लाइनसम्म पुग्न सकिन्छ।
जिपलाइनका प्राविधिकका अनुसार झिलझिलेमा निर्माण भएको जिपलाइनले ८ हजार किलोग्रामसम्मको वजन सहजै थाप्न सक्छ। फ्रान्स र इटालीमा निर्माण भएका जिपलाइनका उपकरणहरू पार्कभित्र फिट गरिएको छ।
सञ्चालक संग्रौलाका अनुसार चिल्ड्रेन पार्क, वाटर पार्क, पार्टी प्यालेस, सबै उमेर समूहका लागि स्वीमिङ्ग पुल, डान्स वाटर पार्क, आकर्षक गुफा लगायतका संरचना पार्कमा निर्माण भएका छन्।
२३ करोडको लगानीमा निर्माण भएको पार्कमा पर्यटकको आवासका लागि ४४ वटा कोठाहरू छन्।
स्विमिङ्ग पुल, वेभ पुल, स्लाइडिङका ५ आइटम र सावर डान्स पनि पार्कभित्र छन्। पानीद्वारा सञ्चालन हुने संरचना भारतीय कम्पनीले निर्माण गरेको हो। वाटर पार्कभित्र भेज एण्ड नन भेज होटल सञ्चालन हुनेछ।
लकडाउनका कारण स्थगित गरिएको पार्कको उद्धघाटन तीहारको लक्ष्मी पुजाका दिन गरिने सञ्चालक संग्रौलाले बताए।