चैत तेस्रो सातादेखि पोखरामा हुने तय तेस्रो माउन्ट एभरेस्ट तेक्वान्दो अन्तर्राष्ट्रिय च्याम्पियनसिप स्थगित गरिएको छ।
कोरोनाभाइरस संक्रमणको खतरालाई मध्यनजर गर्दै प्रतियोगिता स्थगित गरिएको नेपाल तेक्वान्दो संघले जनाएको छ। प्रतियोगिता चैत १९ देखि २३ गतेसम्म हुने तय थियो।
कोरोनाका कारण अन्य देशले प्रतियोगितामा भाग लिन अरूचि नदेखाएकाले प्रतियोगिता स्थगित गर्न परेको संघले जनाएको छ। प्रतियोगिताको अर्को मिति परिस्थिति अनुकुल भएपछिपछि तय गरिने तेक्वान्दो संघले जनाएको छ।
विश्व तेक्वान्दोले सम्पूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई स्थगन गर्न यसअघि नै आफ्ना सदस्य राष्ट्रलाई सुझाव दिएको थियो।
जसका कारण २०२० टोकियो ओलम्पिकका लागि हुने छनोट प्रतियोगिता पनि स्थगित गरिएको थियो। छनोट चीनमा हुने तय थियो। यस्तै लेवनानको बेरुतमा हुने एसियाली तेक्वान्दो र एसियाली पारा तेक्वान्दो पनि स्थगित भइसकेको छ।
विश्वभर तेक्वान्दो प्रतियोगिता स्थगित भइसकेको अवस्थामा नेपाल तेक्वान्दो संघले हाललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना नगरिने जनाएको छ।