नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व वरीयताको १०औँ स्थानमा उक्लिएका छन्।
विश्व ब्याडमिन्टन महासङ्घले मंगलबार सार्वजनिक गरेको विश्व जुनियर ब्याडमिन्टनतर्फको वरीयतामा प्रिन्स १०औँ स्थानमा पुग्न सफल भएका हुन्।
यसअघि महासङ्घले गत पुस अन्तिम साता निकालेको विश्व वरीयतामा उनी ११औँ स्थानमा, पुस दोस्रो साता १४औँ स्थानमा तथा मङ्सिरमा ३२औँ स्थानमा थिए। विश्व जुनियर ब्याडमिन्टनमा नेपालबाट विश्व वरियताको शीर्ष १० मा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी बनेका छन्।
उक्त वरियताको शीर्ष स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ छन्। दोस्रो स्थानमा भारतका मिइराव लुवाङ तथा तेस्रो स्थानमा पनि भारतकै बरुण कपुर रहेका छन्। विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता सिनियरतर्फ तथा यु–१९ जुनियर खेलाडीको वरियता निर्धारण गर्ने गर्छ। प्रिन्स ‘जर्मन जुनियर इन्टरनेशनल सिरिज’ खेल्ने क्रममा हाल जर्मनीमा रहेका छन्।