१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि सर्वाधिक ९ वटा पदक जितेकी गौरिका सिंहले ६२ लाख पुरस्कार पाउने भएकी छिन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधन स्वीकृत गरेसँगै सागमा पदक जित्ने खेलाडीले पाउने पुरस्कारको टुंगो लागेको हो।
बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन्।
नयाँ कार्यविधि अनुसार दुई वा दुईभन्दा बढी व्यक्तिगत स्वर्ण जित्नेलाई हरेक स्वर्णको ११ लाख दिइनेछ।
४ वटा व्यक्तिगत स्वर्ण जितेकी गौरिकाले स्वर्णबाटै ४४ लाख रूपैयाँ पाउने छिन्।
यस्तै, दुइटा व्यक्तिगत रजत जितेकी उनले ६ लाखको दरले १२ लाख रुपैयाँ पाउने छिन्।
उनले तीन वटा टिम कास्य पनि जितेकी छिन्। त्यसबाट पनि गौरिकाले २ लाखको दरले ६ लाख पाउँछिन्।
योसँगै कूल ९ पदक जितेकी गौरिकाको पुरस्कार रकम ६२ लाख पुग्छ।
घरेलु भूमिका सपन्न १३ औं सागमा गौरिकाले सय, २ सय, ४ सय मिटर फ्रिस्टाइल र २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन्।
उनले ५० र सय मिटर ब्याकस्ट्रोकमा भने रजत हात पारेकी थिइन्। गौरिकाले तीनटा कास्य भने टिम इभेन्टमा जितिन्।
यस्तै दुई स्वर्ण जितेका आयशा शाक्य, सुवास तामाङ र मण्डेकाजी श्रेष्ठले पनि १७/१७ लाख पुरस्कार पाउनेछन्।
उनीहरू तीनै जनाले एउटा व्यक्तिगत र एउटा टिम स्वर्ण जितेका हुन्। जस अन्तर्गत व्यक्तिगत स्वर्णको ११ लाख र टिम स्वर्णको ६ लाख पाउने छन्।