अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आइटिएफ)को विश्व वरीयता जुनियर यु–१८ टेनिस प्रतियोगितामा महिलातर्फ नेपालकी प्रेरणा कोइरालाले उपाधि जितेकी छन्।
पोखरा रंगशालाको टेनिस कोर्टमा शनिबार भएको फाइनलमा प्रेरणाले कोइरालाले अर्का नेपाली खेलाडी अभिलाषा विष्टलाई ६–२, ६(४)–७, ६–१ को सेटमा पराजित गरिन्।
यो जितसँगै प्रेरणाले विश्व वरीयतामा ३० अंक जोडिन्। दोस्रो भएकी अभिलाशाले आप्mनो वरियतामा १८ अंक प्राप्त गरिन्। यद्यपी नेपाली वरियतामा प्रेरणाभन्दा दोस्रो भएकी अभिलाषा नै अगाडि छिन्।
विश्ववरीयतामा पनि अहिलेसम्म अभिलाषा नै प्रेरणाभन्दा अगाडि रहेको प्रतियोगिताका संयोजक सूर्य भुजेलले जानकारी दिए।
‘अभिलाषाको वरीयताक्रम धेरै अगाडि छ, भुजेलले सेतोपाटीलाई भने, प्रेरणाको यो जितले उनको वरीयताक्रम धेरै नै अगाडि आए पनि तत्काल अभिलाषालाई उछिन्दैनन्।’
प्रतियोगिताको यो अंकसँगै अन्तर्राष्ट्रिय टेनिस फेडेरेसनले नयाँ वरीयताक्रम जारी गर्ने संयोजक भुजेलले बताए।
गत शनिबारदेखि भएको प्रतियोगितामा पुरुषतर्फ भने भारतीय खेलाडी अमन दहियाले आफ्नै देशका जम्सिन सिधानालाई सोझो सेटमा पराजित गरे।
दहियाले ६–४ र ६–१ को सोझो सेटमा पराजित गर्दै सर्किट २ को उपाधि आफ्नो नाममा लेखाउँदै ३० अंक जोडे।
प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमा नेपाली १८ जना खेलाडीले भाग लिएका थिए।
प्रतियोगितामा विजेतालाई नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणा, उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिताका संयोजक एवं कास्की जिल्ला टेनिस संघका सल्लाहकार सूर्य भुजेल लगायतले पुरस्कार प्रदान गरे।
प्रतियोगितामा नेपाल, भारत, जर्मन अमेरिका, कोरिया, फ्रान्स, जापान, चीन, मलेसिया, केन्या, सिंगापुर, हङकङ लगायत देशका ८४ जना खेलाडी छनौटका लागि सहभागी भएका थिए। जसमा प्रतिस्पर्धाका लागि ६४ जना खेलाडी मात्र सिंगल र डबलतर्फको प्रतिस्पर्धामा छनोट भएका थिए।
प्रतियोगितामा विजयीले ३० अंक, दोस्रो हुनेले १८ अंक, सेमिफाइनलमा पुग्नेले ९ अंक र क्वाटरफाइनलमा पुग्ने खेलाडीले ५ अंक पाएका थिए। यस्तै, एक–एक खेल जित्ने खेलाडीले भने २/२ अंक पाएका छन् ।