पोखरामा शनिबार भएको १४ औं संस्करणको सफल पोखरा म्याराथनमा जापानी धावक युशुकी नाकाशाकी पहिलो भएका छन्। ४२.१९५ किलोमिटर लामो दौड २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा पार गर्दै नाकाशाकी पहिलो भएका हुन्।
पोखरासँग भगिनी सम्बन्ध रहेको जापानको कोमागानेका धावक नाकाशाकी हालै कोमागाने सहरमा भएको हाफ म्याराथनका विजेता समेत हुन्।
यस्तै, नेपाली धावक किरणसिंह बोगटी दोस्रो भएका छन्।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक विजेता बोगटीले पोखरा म्याराथनमा २ घण्टा २७ मिनेट ८ सेकेण्डमा लक्षित दूरी पार गरेका थिए। उनले सागमा २ घण्टा २१ मिनेट १६ सेकेण्डमा लक्षित दूरी पार गरी स्वर्ण जितेका थिए।
प्रतियोगितामा नेपाली धावक अनिष थापा तेस्रो भएका छन्। उनले २ घण्टा २९ मिनेटमा लक्षित दूरी पार गरेका थिए। ४२.१९५ किलोमिटर पूर्ण म्याराथनमा विभिन्न ११ वटा देशका १२५ जना धावक सहभागी भएको आयोजक भूतपूर्व खेलाडी मञ्च पोखराका अध्यक्ष तेज गुरुङले जानकारी दिए।
पोखरा म्याराथन अन्तर्गत भएको विभिन्न इभेन्टमा २ हजार बढीले सहभागिता जनाएका थिए। जसमध्ये १० किलोमिटर पुरुष दौडमा पूर्णबहादुर कार्की पहिलो, याङदेव राई दोस्रो र आशिष कुँवर तेस्रो भएका छन्। महिलातर्फ इन्द्रकला नेम्वाङ पहिलो, अनिता राई दोस्रो र विदेशी धावक वाइन्ची तेस्रो भएकी छिन्।
यस दौडमा ३५० जनाले भाग लिएका थिए। यस्तै, छात्र–छात्रा ५ किलोमिटर दौडमा पुरुषतर्फ विनोद गुरुङ पहिलो, विनोद परियार दोस्रो र प्रदिप भुजेल तेस्रो भएका छन्।
छात्रातर्फ बिनु विक पहिलो, प्रतिक्षा सुवेदी दोस्रो र माधुरीदेवी कुर्मी तेस्रो भएकी छिन्। छात्रछात्रा दौडमा १ हजार ६ सय ५० जनाले भाग लिएका थिए।
सोही अवसरमा आयोजित दृष्टिविहीन दौडमा पुरुषतर्फ प्रमोद दाहाल पहिलो, आशिष खड्की दोस्रो र प्रेम क्षेत्री तेस्रो भएका छन्। महिलातर्फ विनित पुन पहिलो, सिर्जना परियार दोस्रो र सुकमाया विक तेस्रो भएका छन्।
प्रतियोगितामा ‘रन फर फन’का लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरका मेयर मानबहादुर जिसी लगायत हजारौं पोखरेली दौडिएका थिए।
प्रतियोगितामा धावकको स्वागत गर्न पोखराका टोल टोलमा विभिन्न संघ– संस्था र आमा समुहले बाजा गाजा र साँस्कृतिक झाँकी सहित स्वागत गरेका थिए।
प्रतियोगिताका विजेताले २ लाख, दोस्रो हुनेले १ लाख र तेस्रो हुने धावकलाई ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
महिला र पुरुष दुबैतर्फका १० किलोमिटर दौडका विजेतालाई १५ हजार, छात्र– छात्राको ५ किलोमिटर दौडका विजेतालाई १० हजार र दृष्टीविहिन पुरुष तथा महिला विजेतालाई ५ हजार रुपैयाँ प्रदान गरिएको छ।
आयोजकका अनुसार म्याराथनका सम्पूर्ण कार्यक्रम सम्पन्न गर्न ३५ लाख रुपैयाँ खर्च लागेको छ।
प्रतियोगिताको उद्घाटनका अवसरमा विश्व शान्तिका कामना गर्दै युनेस्कोका पूर्वअध्यक्ष डेभिडसन हेप्वर्नले ‘पिस टर्च’ बालेका थिए। म्याराथन अवधिमा पोखरामा सवारीसाधन आवतजातव ठप्प पारिएको थियो ।