प्याराग्लाइडिङ विश्वकप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ औं संस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ।
नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा सो प्रतियोगितामा हुने छ।
नेपालसहित, चीन, जापान, भारत, कोरिया, अमेरिका, बेलायत, स्वीटजरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, इरान, भियतनाम, चाइनिज ताइपेइ, इन्डोनेसियालगायतका ३० देशका १२५ चालक सहभागी हुनेछन्।
खेलाडी दर्ता गर्ने अन्तिम मितिसम्म ३० देशका १२५ पाइलट सहभागी हुने निश्चित भएको र आवश्यक तयारीलाई तीव्र बनाइएको प्रतियोगिता संयोजक एवं नेपाल हवाई खेलकूद संस्थाका निर्वतमान अध्यक्ष योगेश भट्टराईले बताए।
प्रतियोगितामा नेपालका १२ खेलाडी सहभागी हुँदैछन्। एशियन टुरबाट छनोट भएका खेलाडी ‘पोइन्ट’ र ‘र्याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङ वल्र्ड कपको सुपर फाइनलमा प्रवेश पाउने छन्।
एफएआइ(फेडेरेशन एरोनोटिक इन्टरनेशनल) बाट लाइसेन्स प्राप्त गरेको र वल्र्ड पाइलट र्याङकिङमा आबद्ध पाइलटले मात्र प्रतियोगितामा स्पर्धा गर्ने प्रतियोगिता व्यवस्थापक विमल अधिकारीले जानकारी दिए।