नेपालका प्रिन्स दाहाल काठमाडौं जारी प्रेसिडेन्ट कप नेपाल इन्टरनेशनल सिरिज २०२० को दुई विधामा फाइनल प्रवेश गरेका छन्।
दाहाल पुरुष एकल र जोडी दुवैतर्फ फाइनलमा प्रवेश गरेका हुन्। प्रतियोगितामा दोश्रो वरियता प्राप्त तथा बिश्व जुनियर वरियतामा १४ औं स्थानमा रहेका दाहाल सेमिफाइनलमा भारतका अभिन बशिष्ठ माथि २१–१८, २०–२२, २१–१७ को जित निकाल्दै उपाधि नजिक पुगेका हुन्।
अब प्रिन्सले उपाधिका लागि यस प्रतियोगिताका पहिलो वरियता तथा विश्व जुनियर वरियतामा तेश्रो स्थानमा रहेका भारतका मिरबा लुवाङ्गसँग प्रतिस्पर्धा गर्ने छन्। लुवाङ्गले श्रीलङ्काका दुमिन्दु अब विक्रमालाई २१–१२, २१–८ ले पराजित गर्दै फाईनल प्रवेश गरेका थिए ।
दाहाल पुरुष युगलमा पनि फाइनल प्रवेश गर्न सफल भएका छन् । पेम्बा शेर्पासँग मिलेर दाहालले आफ्नै देशका अमृत चौधरी र जे.बी. साउदलाई २१–१०, २१–११ ले पराजित गर्दै फाईनल प्रवेश गरे।
अर्को प्रतिस्पर्धामा भारतका आर. बिकास प्रभु र अरुण कार्थिक के.को जोडीले श्रीलङ्काका दुमिन्दु अबेविक्रमा र दिगायु कहातापितियाको जोडीलाई २२–२०, २१–१५ ले पराजित गर्दै दाहाल र शेर्पाको जोडी संग उपाधीका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
महिला जोडी तर्फ नेपालका बिष्णा बिष्ट र प्रसुना खत्रीको जोडीले नेपालकै रोन पाण्डे र अलिना सुनारबाट वाक ओभर प्राप्त गरे । बिष्ट र खत्रीको जोडीले फाईनलमा भारतका ग्नन्दा के. र सानिया सिकन्दरको जोडीसंग प्रतिस्पर्धा गर्ने छन् । भारतीय जोडीले नेपालका निता लम्साल र सिमा राजबंशीको जोडीलाई २१–८, २१–१२ ले पराजित गरे ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकल तर्फ भारतकी तस्निमा मिरले नेपालकी निता लम्साललाई २१–९, २१–९ को समान अन्तरले पराजित गर्दै फाईनलमा मलेसियाकी करुपथेभन लेत्शाना संगको भेट पक्का गरिन् । लेत्शानाले भारतकी अनुपमा उपाध्यायलाई १७–२१, २१–१७, २१–८ले पराजित गरिन् ।
मिश्रीत जोडी तर्फ पनि मिर आयन रशिद संग मिलेर फाईनल प्रवेश गर्न सफल भईन् । उक्त जोडीले नेपालका गोकुल जोरा र निता लम्सालको जोडीलाई २१–१२, २१–११ ले पराजित गरे ।
अर्को प्रतिस्पर्धामा भारतकै मुरुगप्पा के.एस. र सानिया सिकन्दरको जोडीले नेपालका पेम्बा शेर्पा र सिमा राजबंशीको जोडीलाई २१–२, २१–११ ले पराजित गर्दै मिर र रशिदको जोडी संगको भेट पक्का गरेका हुन् ।