नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल सम्बतको नयाँ पात्रो ११४६ आजबाट सुरू भएको छ।
राष्ट्रिय विभूति शंखधर साःख्वाले विक्रम सम्बत ९३७ (सन् ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्बतको सुरूआत गरेका थिए।
नेपाल सम्बतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्बतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरको भनाइ छ।
'लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरू भएको नेपाल सम्बत पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्बतका रुपमा चलेको थियो, लिच्छविकालअघि शक सम्बत प्रचलनमा थियो। नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्बत हो,' उनले भने।
२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि नै नेपाल सम्बतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो।
नेपाल सम्बतलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेष रूपमा मनाउने गर्छन्।
गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्बतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।
२०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्बतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।
कार्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरूआत गर्ने परम्परा समेत काठमाडौंमा अझै छ।
–––