पोखरामा जारी १७औँ संस्करणको ‘पोखरा ओपन तथा भेट्रान्स’ राष्ट्रिय टेनिस प्रतियोगितामा महिला एकल खुलातर्फको उपाधि प्रेरणा कोइरालाले जितेकी छन्।
पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आइतबार भएको फाइनल खेलमा सलोनी तामाङलाई ७–५ र ६–१ को सोझो सेटले पराजित गर्दै उनले उपाधिसहित ५० हजार पुरस्कार जितिन्।
यसैगरी उपविजेता तामाङले २५ हजार तथा सेमिफाइनल पुगेका भगवती विक र गङ्गा विकले जनही १०-१० हजार पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको भेट्रान्सतर्फ ३५ वर्षमाथि डबल्सको उपाधि राजु श्रेष्ठ (काठमाडौं) र कमल भण्डारीको जोडीले जित्यो। सिमान्त गुरुङ र राजु श्रेष्ठ (गोरखा) जोडीलाई ६–१, ४–६ र सुपरटाइमा १०–६ को जित निकाल्दै राजु जोडीले उपाधि जितेको हो।
त्यसैगरी ४५ वर्ष माथिको डबल्समा गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेको जोडीले मनोज राणा र विमल गुरुङको जोडीमाथि ६–३ र ७–६ को नतिजामा पराजित गर्दै उपाधि जिते। संरक्षक भूषण बज्राचार्यले पुरुष व्यक्तिगत खुलातर्फको सेमिफाइनलको खेलमा नेपालका शीर्ष वरियताका प्रदीप खड्कालाई २–६, ७–६ र ६–१ सेटमा पराजित गरी फाइनलमा प्रवेश गरेका छन्।
प्रवण खनालले ६–० र ६–४ को सेटमा नवीन मगरलाई पराजित गरी प्रतियोगिताको फाइनलमा पुगेका छन्। पुरुष खुलातर्फको उपाधिका लागि सोमबार ब्रजाचार्य र खनालका बीचमा स्पर्धा हुनेछ।
कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस १० गतेबाट शुरु प्रतियोगिताको ३५ वर्षमाथिको स्पर्धामा कमल भण्डारीले श्रीमान् गुरुङलाई ७–६ र ६–१ को सेटमा पराजित गर्दै फाइनलमा पुगेका छन् भने राजु श्रेष्ठले छवाङ लामालाई ५–७, ६–४ र सुपरटाइमा १०–८ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् ।
पैंतालीस वर्षमाथिको उमेर समूहको उपाधिका लागि चन्द्र शाही र विमल गुरुङबीच प्रतिस्पर्धा हुनेछ। शाहीले अनु जोनलाई ६–१ र ६–० को सेटमा पराजित गरेका हुन् भने गुरुङले गोपीबहादुर भट्टराईलाई ६–३ को समान सेटमा पराजित गरे ।
पचपन्न वर्षमाथिको उमेर समूहमा कमल थापा फाइनलमा प्रवेश गरेका छन् । थापाले प्रदीप शाहलाई २–६, ६–४ र १०–८ ले पराजित गरे भने अनिल तुलाचनले मनोज राणालाई ६–२, ४–६ र १३–११ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरे।
पैंसठ्ठी वर्षमाथिको उमेर समूहको आइतबारको सेमिफाइनलमा ज्ञानेन्द्र ताम्राकारले विष्णुकुमार गुरुङलाई ४–१ र ४–० को सेटमा पराजित गरे भने दीपक श्रेष्ठले छेवान नोक्र्याललाई समान ४–० को सेटमा पराजित गरी फाइनलमा पुग्न सफल भएको जिल्ला टेनिस सङ्घका अध्यक्ष दोर्जे लामाले बताए।
पुरुष व्यक्तिगत-डबल्स, महिला व्यक्तिगत-डबल्स तथा ३५ वर्ष, ४५ वर्ष, ५५ वर्ष र ६५ वर्षमाथि पुरुष व्यक्तिगत-डबल्स गरी १२ इभेण्टमा भएको स्पर्धामा १२४ खेलाडी उपाधिका लागि स्पर्धामा उत्रिएका थिए। प्रतियोगिताका फाइनल खेलहरू आज हुनेछन्।