थाइल्याण्डकी पोर्नतिप बुरानाप्रसेर्तुक महिलातर्फ र भियतनामका काव सुओङ्ग फाम पुरुषतर्फ योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्ज २०१९ को उपाधि विजेता भएका छन्।
आइतबार सम्पन्न फाईनल खेलमा प्रतियोगितामा पहिलो स्थान प्राप्त पोर्नतिपले कोरियाकी गा युन पार्कलाई २१–१६, २१–१४ को जित निकाल्दै उपाधि जितेकी हुन्।
यस्तै पुरुष तर्फ प्रतियोगितामा छैटौं वरीयता पाएका भियतनामका फामले आठौं स्थान प्राप्त थाइल्याण्डका अदुलराच नामकुललाई २४–२२, ९–२१, २१–१९ ले पन्छाउँदै उपाधि उचालेका हुन्।
बिजयी पुरुष तथा महिला एकलतर्फ विजेताले नगद १८७५ युएस डलर र उपविजेताले ९५० डलर सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै तेश्रोले ३६२.५० डलर, प्रमाण पत्र र मेडल प्राप्त गरे।
महिला युगल तर्फ अष्ट्रेलियाका सेताना मापासा र ग्रोन्या सोमरभिल्ले उपाधि उचाले । प्रतियोगितामा पहिलो बरियता प्राप्त अष्ट्रेलियनजोडीले फाईनलमा चौथो स्थानका मनिषा के. र रुतापर्ना पान्डाको जोडीलाई २१–१०, १८–२१ र २१–११ ले पराजित गरे । यस्तै पुरुष युगल तर्फ आत्री मनु र रेड्डी बि. सुमिथको जोडीले भारतकै एम.आर. अर्जून र ध्रुव कपिलाको जोडीलाई २१–१९, २१–१५ ले पन्छाउँदै उपाधि उचाले।
मिश्रीत युगल तर्फ थाईल्याण्डका सुपार्क जोमखो र सुपिसारा पाउसाम्प्रानको जोडीले कोरियाका ना सुङ्ग सिउङ्ग र किम मिन जीको जोडीलाई पराजित गर्दै उपाधी हात पारे। थाईजोडीले कोरियन जोडीलाई २१–१८, २१–१६ ले पराजित गरेका हुन्।
विजयी पुरुष तथा महिला जोडी र मिश्रीत जोडीले नगद१ हजार ९ सय ७५ डलर, उपविजेताले ९ सय ५० डलर, तेश्रोले ३ सय ५० डलर प्राप्त गरे।
पाँच दिनसम्म चलेको प्रतियोगितामा २१ राष्ट्रका १४९ खेलाडीहरुको सहभागिता रहेको थियो । पहिलो पटक नेपालले आयोजना गरेको च्यालेञ्जको पुरस्कार रासी २५ हजार डलरको थियो।